|

सल्यान : जिल्लाको दार्मा गाउँपालिका–३ फारुलाका मोहन देवकोटा क्रान्ति तथा आन्दोलनबाट समाज परिवर्तन गर्न सकिन्छ भनेर भूमिगत नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहमा लागे। उनी विप्लव नेतृत्वको सल्यानको जनसरकार प्रमुख पनि बने।

धेरै लामो भूमिगत जीवन र यसबाट समाज परिवर्तन गर्न सम्भव नभएको निष्कर्ष निकाल्दै उनी गाउँमा फर्किए। युद्धबाट समाज र देश परिवर्तन गर्न हिँडेका उनी अहिले कुखुरापालनमा लागेका छन्। हाल उनले कुखुराबाट मनग्य आम्दानी लिन थालेका छन्।

परिवर्तन आफैँबाट गर्नुपर्छ भन्ने मान्यताका साथ उनले झन्डै तीन महिनाअघि फारुला बजार नजिकै देवकोटा पशुपक्षी फर्म दर्ता गरेर अहिले व्यावसायिक कुखुरा पालनमा व्यस्त छन्। राजनीतिलाई पूर्णविराम दिएर व्यवसायमा जुटेका देवकोटाले अहिले मासिक ७० हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन्।

समाज र देश परिवर्तन गर्न युद्ध वा बन्दुक नै बोक्नुपर्छ भन्ने भन्दापनि आर्थिक क्रान्तिबाट पनि समाज र देश परिवर्तन गर्न सकिन्छ भन्ने देखाउन कुखुरापालन व्यावसायमा लागेको उनको भनाई छ। उनले भने, ‘हिजो युद्ध गर्नु समयको माग थियो, सोही मागले देश परिवर्तन पनि भयो अबको परिवर्तन भनेको युद्धको माध्यमबाट होइन आर्थिक क्रान्तिबाट नै हो।’

मासिक ७० हजार रुपैयाँसम्म आम्दानी 

२ लाख रुपैयाँ लगानीबाट कुखुरापालन शुरू गरेका देवकोटाले अहिले भने १० लाख रुपैयाा लगानी गरिसकेका छन् भने १२ सयभन्दा बढी लोकल र ह्याम्पसायर जातका कुखुरा पालिरहेका छन्।

महिनामा ७० हजार रुपैयाँ बराबरको कारोबार भइरहेको बताउँदै देवकोटाले सबै खर्च कटाएर ३५ देखि ४० हजार रुपैयाँसम्म खुद नाफा हुँदै आइरहेको बताए। पैसा कमाउनकै लागि विदेश पलायन हुनुभन्दा श्रम र लगानी गर्न सके स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ।

उनले भने, ‘लोकल कुखुरा र ह्याम्पसायर जातका कुखुराबाट मनग्य आम्दानी भइरहेको छ, दैनिक २० देखि २५ कुखुरा विक्री हुँदै आइरहेका छन्। जसबाट मासिक ७० हजार रुपैयाँसम्म आम्दानी हुने गर्दछ।’ 

चालु आर्थिक वर्षभित्र १० हजार कुखुरा पाल्ने योजना

१ हजार कुखुराबाट व्यावसाय शुरू गरेको देवकोटाले यसै वर्षभित्र १० हजार कुखुरा पालन गर्ने सोच भएको बताएका छन्‌। स्थानीय जातका कुखुरा भएकाले बजारमा सहजै बिक्री हुन थालेको उनको भनाई छ।

उनले भने, 'स्थानीय जातका कुखुराको माग धेरै छ, तर जोखिम पनि उत्तिकै छ।' 

उनले लोकल कुखुरासँगै कालो कुखुरा पनि पाल्दै आएका छन्। दीर्घ रोगीहरूलाई लक्षित गरी कालो कुखुरा पालन गरेको देवकोटाले बताए। कालो कुखुरा प्रतिकिलो १५ सय रुपैयाँका दरले बिक्री वितरण भइरहेको उनको भनाई छ।

उनले भने, 'दीर्घरोगीहरू जसलाई डा. रातो मासु राख रोक लगाएको छ। त्यस्ता बिरामीहरूलाई लक्षित गरी कालो कुखुरा पनि पाल्दै आइरहेका छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.