|

इलाम : राष्ट्रिय महिला लिगमा उपाधिको दाबेदार एपिएफ क्लबले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।

मंगलबार भएको खेलमा चिरप्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–० हराउँदै एपिएफले उपाधिको दाबेदारी कायम राखेको हो। सातादोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले २७ औं मिनेटमा अग्रता लियो।

सावित्रा भण्डारीको क्रसमा अञ्जली योन्जनले डिबक्सभित्रबाट जाली चुमाउँदै अग्रता दिलाइन्। पहिलो हाफका इन्जुरी समयमा एपिएफले अग्रता दोब्बर बनायो। सावित्राकै पासमा सरु लिम्बुले एपिएफको लागि दोश्रो गोल गरिन्। त्यसपछिको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि एपिएफले महत्वपूर्ण ३ अंक बटुल्दै शीर्ष स्थान जोगाइ राख्न सफल रहयो। 

आर्मीले जारी प्रतियोगितामा पहिलो हार बेहोर्‍यो। यसअघिको एक खेलमा जित र एक बराबरी निकालेको आर्मी ४ अंकको साथ तेश्रो स्थानमा छ। खेलको प्लेयर अफ दी म्याच एपिएफकी अनिता केसी भइन्।

आजै भएको पहिलो खेलमा अर्को विभागीय टिम नेपाल पुलिसले वालिङ नगरपालिकासँग बराबरी खेलेको छ। पुलिसलाई वालिङले १–१ गोलको बराबरीमा रोक्यो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै टिमले दोश्रो हाफमा गोल गरे। ३ जना क्यामरुनी खेलाडीसहित मैदान उत्रिएको वालिङले पुलिसलाई कडा टक्कर दिँदै सुरुवाती अग्रता लियो। खेलको ५२ औं मिनेटमा मेथु एलडीयर रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाइन्। १–० ले पछि परेको पुलिसले ६५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो।

पुलिसका लागि रेखा पौडेलले डिबक्सभित्र पाएको बललाई उत्कृष्ट फिनिस गरिन्। अमृता जैसीको फ्रिकिकमा वालिङकस् गोलरक्षक सावित्री किसान अघि बढेको अवस्थामा रेखाले सहजै गोल गरिन्। खेलको प्लेयर अफ दि म्याच वालिङकी अमिशा कार्की घोषित भइन्। बराबरीसँगै पुलिस ५ अंकका साथ दोश्रो स्थानमा छ। वालिङ ३ खेलबाट २ अंकको साथ पाँचौ स्थानमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.