|

काठमाडौं :  नेपालमा कोरोनाविरुद्धको खोप आजदेखि शुरु भएको छ। सातै प्रदेशका ६२ अस्पताल र १ सय २०  केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाउन थालिएको हो। 

पहिलो खोप शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डाक्टर  सागर राजभण्डारी र दोस्रो  डा अनुप बाँस्तोलाले लगाएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम शुरु गरिसकेका छन्।  काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र बनाइएको छ।  आज १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जनाएका छन्। 

काठमाडौंमा शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन्।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहनेछन्। भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा पनि केन्द्र बनाइएको छ। यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३ सय केन्द्रमार्फत करिब ४ लाख ३० हजार नागरिकलाई खोप लगाउने सरकारको तयारी छ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपको १० लाख डोज नेपाल आएको छ। खोप सबै प्रदेशमा पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.