|

धादिङ : उनीहरू सधैँभरी मलिन अनुहार र मैलो देखिने एकसरो पातलो विद्यालय पोसाकमा हुन्छन्। साथीभाईसँग धेरै बोल्दैनन्, शिक्षक-शिक्षिकाले दिएको निर्देशन पालना गर्दै पढाईमा भने ध्यान दिने गर्छन्‌।

​माघको ठण्डीले कक्षा कोठामा चिसो महसुस गरिरहेका बालबालिका टिपिनको घण्टी बज्नासाथ कोठाबाट बाहिर निस्कन दौडधुप गर्दै थिए। सक्नेहरू दौडेर अरूलाई उछिन्दै आए, नसक्नेहरू बिस्तारै बाहिर निस्किए। 

चौरमा निस्किएपछि सबै विद्यार्थीहरू विद्यालय खाजा कार्यक्रममा सहभागी भए। लाइनमा पालो पर्खेर हातमा हलुवा राखेको प्लेट लिएर खाजा खाँदै थिए। यसरी खाजा खानेहरू कोही समूहमा थिए, कोही एक्लै एक्लै।

त्यही भीडमा दुईवटा समूह देखियो। पहिलो समूह ३ जनाको थियो, अलि पर दोश्रो समूह पाँच जनाको थियो। सोधि-खोजी गर्दै जाँदा थाहा भयो : ती दुवै समूहका बालबालिकाको वास्तविकता।

आमा गुमाएर बिचल्लीमा परेका ५ जना र बाबुआमा दुबै गुमाएर अभिभावक विहीन हुन पुगेका ३ जना । कुनै फिल्मीकथा जस्तो लाग्ने उनीहरूको व्यथा निकै पीडादायी र कारुणिक छ।

दक्षिणी धादिङमा पर्ने बेनिघाट रोराङ गाउँपालिका-३, खानीगाउँ वरडाँडामा रहेको तीनकन्या वागेश्वरी आधारभूत विद्यालयमा पढिरहेका बालबालिका हुन उनीहरू। राजमार्गको नजिकै रहेको यस विद्यालयमा गरिब, सीमान्तकृत बालबालिकाहरू पढ्दै आइरहेका छन्।

एकसरो पातलो लुगामात्र लगाएका सिर्जन प्रजा ४ वर्षका भए। उनी अहिले इसिडिमा पढ्दैछन्। उनको बाबुले २ वर्ष अघि घरमै झुन्डिएर आत्महत्या गरेका थिए। चितवनको लोथर मूलघर भएका चेपाङ थरका ती युवा ससुराली गाउँमै आएर घर बनाएर बसेका थिए। तरकारी खेती गरेर राम्रो कमाई गर्दै आइरहेका उनले कुनै दिन कोहीसँग झैझगडा गरेको, रिसिइबी लिएको समेत थाहा नपाएका गाउँले उनको आत्महत्याले स्तब्ध भए। 

उनको मृत्युपछि राष्ट्रिय पुन:निर्माण प्राधिकरणको सहयोगमा बनाउन थालेको नयाँ घर बनाउने काम रोकिन पुग्यो। केही महिना पछि गाउँपालिका माथिल्लो ओर्बाङका एक चेपाङ युवक घर बनाउने ज्यामी बनेर आएका थिए।


बाबुले आत्महत्या र आमाले अर्कैसँग घरजम गरेपछि बिच्चलीमा परेका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँका तीन बालबालिका । 

ती युवाले ३ सन्तानकी आमालाई फकाएर माया जालमा पार्न सफल भए। घर बनाउने काम नभ्याउँदै ज्यामीको श्रीमती बनेर बालबच्चालाई अलपत्र छाड्दै आमा हिँडेपछि तीन जना बालबालिकाको जीवनमा अँध्यारो छाएको हो। 

बाबुले अकालमा ज्यान फाले, आमाले अर्कैसँग घरजम गरिन त्यसपछि ४ वर्षीय सिर्जन प्रजा, ६ वर्षीया आक्रेसी र ११ वर्षीया ११ वर्षीया आक्रोशी प्रजाको सहारा मावली घरका हजुरबुबा र हजुरआमा भएका छन्। बाबुआमा नभएपछि मामाघरका वृद्ध अवस्था भइसकेका हजुरबुबा हजुरआमाको संरक्षणमा रहेका चेपाङ बालबालिकाको अवस्था निकै दयनीय छ।

घरमा हुँदा हजुरबा, हजुरआमाले रेखदेख गरेपनि विद्यालय आउँदा भाइबहिनीको अभिभावक ११ वर्षीया आक्रोशी हुन्‌। कक्षा कोठामा बसेर पढिरहँदा पनि भाइबहिनीले कोहीसँग झैझगडा गर्छन्‌ कि! कक्षाबाट बाहिर निस्कँदा लडिहाल्छन्‌ कि ! घाउचोट पो लाग्छ कि ! कसैले पिट्ने पो हो कि ! भन्ने चिन्ता मनमा लागिरहने गरेको संरक्षण दिइरहेका अभिभावकहरू बताउँछन्‌।

‘विद्यालयमा गरिब विद्यार्थीहरू धेरै जना भएपनि यि चेपाङ बालबालिकाको अवस्था भने निकै कष्टकर रहेको छ। बाबुआमा कोही नभएपनि उनीहरू पढाइमा अब्बल रहेको र विद्यालयका अनुशासित र उत्कृष्ठ विद्यार्थी भएको, तर सहयोग गर्न नसकिएको विद्यालयकी शिक्षिका दुर्गा कार्कीले बताइन। 


धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँमा रहेको तीनकन्या आधारभूत विद्यालय 

कलिला बालबालिकालाई अभिभावक नभएको महसुस हुन नदिन मामाघरका हजुरबा, हजुरआमा, मामा-माइजुले हरतरह कोशिस गरिरहेको भएपनि उनीहरूको पनि आफ्नै समस्या र बाध्यता भएकाले यी ३ जनालाई उचित शिक्षादिक्षा दिन कसैले सहयोग गरिदिन शिक्षिका कार्कीले आग्रह गरेकी छिन्‌।

सोही विद्यालयको इसिडिमा पढ्ने ४ वर्षीय सानुकान्छा, ३ वर्षीया गंगा र जमुना कक्षा २ मा अध्ययन गर्ने दावा र कक्षा ३ मा पढ्ने गीता मगरी आमाले पनि एक वर्षअघि झुण्डिएर आत्महत्या गरिन्‌। पाँच सन्तानकी आमाले झुण्डिएर आत्महत्या गरेपनि ती बालबालिकाको संरक्षण, पालन पोषण गर्ने अभिभारा उनीहरूको बाबुको काँधमा पर्‍यो।


आमाले आत्महत्या गरेपछि बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँका यी पाँच बालबालिकाका बिचल्लीमा परेका छन्‌।

​श्रीमतीको मृत्युपछि श्रीमान पियक्कड बन्न पुगे। ज्याला मजदुरी गरेर जिवन निर्वाह गरिरहेका ती युवाको पछिल्लो अवस्थाले ५ सन्तान सहाराविहीन जस्तै बन्न बाध्य भएका छन्‌। 

चरम गरिबी झेलिरहेका उनीहरूको बाबु ज्याला मजदुरी गर्छन्‌। कहिलेकाँही मात्र घरमा खानेकुरा लिएर आउँछन्‌। धेरै जसो घरमै आउँदैनन्। बुहारीले आत्महत्या गरेपछि छोरोपनि विक्षिप्त बनेर पियक्कड भएका र आफूहरूको पनि उमेर ढल्किसकेकाले  टुहुरा बालबालिकाको स्याहारसुसार तथा पालनपोषणको जिम्मेवारी  बहन गर्न निकै सकस परिरहेको हँजुरबुबा/हँजुरआमा बताउँछन्‌। ​आफैँ पनि काम गर्न नसक्ने भइसकेका बुढा बा आमालाई नाति-नातिना पनि हुर्काउन निकै समस्या भइरहेको देखिन्छ। 

घरमा खानेकुरा नभएका बेला उनीहरू धेरैजसो खाली पेट नै विद्यालय आउँछन्‌। भोकै आएको दिन विद्यालयले खाजा खुवाउने समय कुरिरहेका हुन्छन्। खाजा तयारी भएको थाहा पाउँदा उनीहरूको निन्याउरो अनुहारमा केही चमक देखिने विद्यालयका एक शिक्षक बताए।

विद्यालयले दिने खाजाकै लागि भएपनि यी विद्यार्थीहरू नियमित विद्यालय आउने र पढाइमा समेत अब्बल रहेकाले केही सहयोग गर्न सके उनीहरूले प्रगति गर्नसक्ने विद्यालयका प्रधानाध्यापक जंगबहादुर लोहनीले बताए। एउटै टोलका ८ बालबालिकाको यो कारुणिक दृष्यले निकै पीडा हुने गरेको उनी बताउँछन्‌। 

स्थानीय सरकार, शिक्षाका लागि काम गरिरहेका सहयोगीहरू र अन्य दाताहरूले उनीहरूको उद्धार गरी आवासीय पठन-पाठनमा सहयोग गरिदिए संरक्षक नै गुमाएका यी बालबालिकाले दुःख भोग्न नपर्ने उनको भनाइ छ। 

तीनकन्या वागेश्वरी आधारभूत विद्यालयमा ३० जना दलित, ७ जना चेपाङ, २९ जना जनजाति, अन्य समुदायका ३६ जना गरी १ सय २ जना बालबालिकाले अध्ययन गरिरहेको प्रधानाध्यापक लोहनीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.