कहिलेसम्म काम गर्छ भन्‍ने टुंगाे छैन

|

काठमाडौं : नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। पहिलो चरणको खोप विभिन्न अस्पतालका निर्देशकदेखि विभिन्न रोग विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मीले विभिन्न खोप केन्द्रबाट खोप लगाएका छन्।

नेपालमा आयात भएको भारतीय सिरम कम्पनीद्वारा उत्पादित 'कोभिशिल्ड' खोप लगाइएको हो। १० लाख डोज खोप भारत सरकारले नेपाल सरकारलाई अनुदान दिएको थियो । याे खोप दुई डाेजकाे दरले ४ लाख भन्दा बढीलाई लगाउने लक्ष्य राखिएको छ । 

पहिलो डोजको 'कोभिशिल्ड' खोप दुई पटक लगाउनु पर्छ। धेरै मानिस खोपको असरबारे सशंकित छन् । तर खोप लगाइसकेका चिकित्सक भने हज्जारौंले खोप लगाउँदा एक जनामा सामान्य असर देखिन सक्ने बताउँछन् ।

आज देशभरका स्वास्थ्यकर्मीले लगाएको खोप सुरक्षित रहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका प्रमुख झलक शर्मा बताउँछन्। उनका अनुसार आज लगाएको खोप २८ दिन बितेपछि पुनः दोस्रो डोज लगाउनुपर्छ। खोप लगाएको १० दिनमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने उनले बताए। उनले भने,' हजार जनामा लगाइएको खोपमध्ये एक जनामा सामान्य असर पर्नसक्छ त्यसलाई त्यत्रो ठूलो असर भएको मान्न हुदैन।'

यो खोपको बारेमा अहिले पनि अनुसन्धान भइरहेकोले यसले कति समयसम्म सुरक्षित राख्न सक्छ भन्ने कुरा जानकारीमा नआएको उनको भनाई छ। तत्काललाई भने यसले सुरक्षित राख्ने उनको दाबी छ।

शर्मा भन्छन,' खोप लगाएपछि फ्रन्टलाइनरहरु तत्कालका लागि सुरक्षित हुन्छन्। यसले मुख्यत: कोभिडको जटिलताबाट बचाउँछ।' उनी खोप लगाएपनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सुझाव दिन्छन्।

त्यसैगरी, मन्त्रालयकै परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोख्रेलका अनुसार अहिले लगाएको खोप ७० देखि ९० प्रतिशतसम्म सुरक्षित छ। ठूलो जनसंख्याको समूहमा परीक्षण गर्न बाँकी रहेकोले यसको प्रभावकारिताका बारेमा अध्ययन हुन बाँकी रहेको उनले बताए।

'५२ प्रतिशत खोप खरिद गरेर ल्याउने'

सरकारको लक्ष्य ७२ प्रतिशत जनतामा कोभिड विरुद्धको खोप लगाउने रहेको छ।  पहिलो चरणमा अनुदानवापत आएका खोप लगाउनेछ। अहिले लगाइँदै आएको खोप लगाइञ्जेल सम्ममा कोभ्याक्सबाट पनि खोप आउने पोख्रेलको विश्वास छ। कोभ्याक्सबाट आएको २० प्रतिशत खोप दोस्रो चरणमा लगाउने भएको हो।

५२ प्रतिशत खोप सरकारले खरिद गरेर ल्याउन रकम छुट्याइसकेको उनले जानकारी दिए। खोप खरिदको लागि ४८ अर्ब बजेट छुट्याइएको छ। कम्पनी अनुसारको खोपको मूल्य फरक–फरक रहेकोले त्यसलाई बुझ्ने काम भइरहेको उनले बताए।  अहिले लगाइएको खोप नेपालमा नि:शुल्क ल्याइएको हो। कुटनीतिक तवरबाट पनि खोप आयातको लागि पहल भइरहेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.