गल्ती अमिनबाट भएको हो नापी कार्यालय दाबी

|

सिमरा : उद्योग मन्त्रालयमातहत रहेको विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण सिमराको ८ बिघा ८ कठ्ठा व्यक्तिको नाममा पुर्जा कायम भएर बेचबिखनसमेत भएको भेटिएको छ।

सेजको यो जग्गामध्ये ‘बि ब्लकको’८ बिघा ८ कठ्ठा जग्गामा व्यक्ति हाबी भएका हुन्। एउटै फिल्ड बकुको जग्गा दोहोरो नापी हुँदा तत्कालीन चिनी मिल र व्यक्तिको गरी २ वटा फरक कित्ता नम्बर कायम भएको छ।

एउटै जग्गा पिर्पासिमरा गाविस तर्फबाट नापी हुँदा कित्ता नं १२४ कायम भएको छ भने फत्तेपुर गाविस तर्फबाट नापी गर्दा २६० नं कित्ता कायम भएको छ। यी २ कित्तामध्ये पिर्पासिमरा तर्फको १२४ तत्कालीन चिनी मिलको नाममा छ भने कित्ता नं २६० व्यक्तिबाट कित्ताकाट भएर पाँचौ चरणमा बेचबिखनसमेत भएको हो।  

पछिल्लो समय त्यस जग्गा राजाराम साह र उनको परिवारको नामबाट नेपाल पेट्रोलियम ट्रेड लिङ्स प्रालिको नाममा बेचबिखन भएको छ। पेट्रोलियम ट्रेडलिंकले कित्ता नं १७२४,१७३६,१७३७,१७३८, १७३९ र १७४० को ६ बिघा १० कठ्ठा जग्गा सोलार कम्पनी सञ्चालन गर्न भौतिक संरचना बनाउने तयारी गरेको छ।

आफूहरुले खरिद गरेको जग्गा सेजले दाबी गरेपछि नेपाल पेट्रोलियम ट्रेड लिंक्स प्रालिका कर्मचारी मालपोत र नापी कार्यालय‍विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज पुगेका छन्।

‘यदि चिनी मिलको जग्गा हो भने कसरी व्यक्तिको नाममा आयो, आधार के हो मालपोत र नापी कसरी कित्ताकाट गरेर आजसम्म पुर्जा दियो त के आधारमा बेचबिखन भयो?'नेपाल पेट्रोलियम ट्रेड लिङ्गस प्रालिका सहायक इन्चार्ज प्रकाश उप्रेतीले भने, ‘हामीले त पाँचौं चरणमा खरिदमा गरेका हौं, सेजको जग्गा थियो भने यसअघि वडाले के आधारमा राजस्व लियो? नापी मालपोतले के आधारमा बेचबिखन गर्यो? अनुसन्धान हुनुपर्छ र गलत पुर्जा दिने कर्मचारीलाई कारबाही पनि हुनुपर्छ।’

गल्ती अमिनबाट भएको हो : नापी कार्यालय

फिल्डबुक एउटै भएको जग्गा २ वटा फरक कित्ता नम्बर कायम गरेर कसरी बेचबिखन भयो भन्ने विषयमा नापी कार्यालय सिमराले तत्कालीन समयमा अमिनबाट गल्ती भएको देखाएको छ। 

‘नापीबाट २०२२ सालमै गल्ती भयो, तत्कालीन अवस्थामा नापी गर्दा चार किल्लाको जग्गा भिडाएको भए एउटै कित्ता नं कायम हुन्थ्यो’, नापी कार्यालय सिमराका सूचना अधिकारी विनोदकुमार चौधरीले भने, ‘छिमेकीको कित्ता नभिडाउँदा एउटै जग्गामा दोहोरो नापी भएर २ वटा फरक कित्ता कायम भयो’, तत्कालीन पिर्पासिमरा गाविस–४ (ख)को कित्ता नं १२४ मा चिनी मिल भनी उल्लेख छ भने सोही जग्गा फत्तेपुर गाविस वडा नं ९ को  कित्ता नं २६० जग्गाधनीको नाम उल्लेख भएको छैन।

जग्गाधनीको ठाउँमा 'झगडा' भनी जनाइएको छ। साथै व्यक्तिको नाममा कायम भएको २६० नं कित्ताको कैफियतमा 'काठमाडौं ठमेल बस्ने त्रिपुरा नरसिंह रानाको नं जग्गा' भनी वडा सदस्यले हस्ताक्षरसमेत गरेको भेटिएको छ।

एउटै फिल्डबुक भएको २ वटा फरक कित्तामध्ये को वास्तविक जग्गाधनी को हो भन्ने विषयमा भने नापी कार्यालयले वास्तविक पुरानो नापीलाई भएकालाई आधिकारिकता मानेको छ। 

'२ वटा भिन्नभिन्न गाविसबाट नाप्दा जग्गाको मात्रामा समेत फरक आएको छ। हामीले हेर्दा २ वटा जग्गा एउटै प्रकृतिको देखियो’, चौधरीले भने।

पछिल्लो समय सेज र व्यक्तिले आफू जग्गाधनी भएको दाबी गरेपछि नापी र मालपोत कार्यालयले सो जग्गाको कित्ताकाट र बेचबिखन रोकेको छ। ‘सेजले त्यस जग्गा हाम्रो हो हामीले पाउनुपर्छ भनी दाबी गरेपछि हामीले जग्गाको कित्ताकाट रोकेका छौं,' उनले भने।

संरक्षणमा सेजको चरम लापरबाही 

विशेष आर्थिक क्षेत्र सिमरा सेजले आफ्नो नाममा रहेको जग्गा संरक्षणमा चासो नदेखाउँदा साढे ४ दशकपछि व्यक्तिको नाममा पुर्जा बनेको भेटियो। २ साताअघि नेपाल पेट्रोलियम ट्रेड लिङ्स प्रालिका कर्मचारीले जग्गामा तारबार गरेको सूचना पाएपछि स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन र सेजका कर्मचारीको टोली पुगेर त्यहाँको किलाकाँटी फालेको थियो।

सिमरा सेजका सहायक इन्जिनियर अजय चौधरीले व्यक्तिले दाबी गरेको जग्गा सेजको भएको बताए। ‘हामीले आफ्नो जग्गा सुरक्षित राखेका छौं, सेजको जग्गामा व्यक्तिले तारबार गरेको थाहा पाउनासाथ जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा व्यक्तिले गाडेको किला फ्याक्यौं’, सहायक इन्जिनियर चौधरीले भने।

सेजको ८ सय ३३ बिघामध्ये ‘ए ब्लक’ को करिब साढे ३ सय बिघाबाहेक अतिक्रमणमा परेका जग्गा पटकपटक बेचबिखन समेत भइसकेको छ। २०५९ सालमा चिनीमिल बन्द भएपछि उद्योग मन्त्रालयले मन्त्रिपरिषद् निर्णयबाट सो जग्गामा गार्मेन्ट उद्योग सञ्चालन गर्नेगरी २०७५ चैत १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्याससमेत भएको थियो।

तर शिलान्याश भएको ३ वर्षमा सेजले अतिक्रमणमा परेको आफ्नो जग्गा फिर्ता गर्न सकेको छैन। न त उद्योग नै सञ्चालन गर्न सकेको छ। उल्टै सरकारी जग्गामा व्यक्तिगत संरचना दिनप्रतिदिन थपिँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.