|

ओखलढुंगा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका कारण ओखलढुंगाका वडा तहसम्म असर पारेको छ। सक्रिय कार्यकर्ताहरू पार्टी विभाजनपछि कुन समूह वैधानिक हुने हो भनी पर्ख र हेरको अवस्थामा छन्।

पार्टी विभाजनको संघारमा यतिबेला नेताहरू जिल्ला दौडाहामा व्यस्त भएका छन्। जिल्लामा ओली र दाहाल–नेपाल दुवै समूह आफ्नो पक्षमा नेता-कार्यकर्ता तान्न होडबाजी गरिरहेका छन्‌।

​पार्टी दुई समूहमा विभाजन हुनासाथ ओली समूहले पार्टी कार्यालयमा ताला लगाएको थियो। त्यसपश्चात दुवै पक्षले विभिन्न नाममा आ–आफ्नै सम्पर्क कार्यालय खोलेका छन्। ओली समूहले प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिर गुरुङको सम्पर्क कार्यालय स्थापना गरेको छ भने प्रचण्ड–नेपाल समूहको नगर कमिटीले सम्पर्क कार्यालय खोलेका छन्। 

जिल्लाका नेताहरू पार्टी एकता हुनुपर्नेमा एकढिक्का देखिएपनि ओली पक्षले नयाँ जिल्ला समिति नै घोषणा गरिसकेको छ। ओली समूहले पार्टी एकीकरण हुँदा साविक नेकपा (माओवादी केन्द्र) बाट चयन भएका अध्यक्ष मोहनकुमार खड्कालाई हटाएर केदारबाबु बस्नेतलाई अध्यक्ष बनाएको छ। यस्तै, जिल्ला सचिव मोहनकुमार श्रेष्ठलाई केन्द्रीय सदस्य मनोनित गरेर सचिवमा तीर्थ सुवेदीलाई तोकेको छ।

एकीकरणबाट आएका सबै जिल्ला सदस्यलाई यथावत् राख्दै ओली समूहले दुई सय ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ। नेकपा पार्टी विधानको धारा २९ (ङ) को १ मा भने जिल्ला कमिटी बढीमा १ सय ३५ जनासम्मको हुने व्यवस्था छ। यो समूहले शुरूकै दिनमा पार्टी विधान विपरीत जिल्ला कमिटी निर्माण गरेर पार्टी दुईवटा भएको संकेत देखाएको छ।

त्यस्तै माधव–प्रचण्ड समूहले भने गाउँ–गाउँमा नेकपा विभाजनको असर तथा प्रतिनिधि सभा विघटनबारे प्रशिक्षण चलाएको छ। वडा तहसम्मै प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन थालेको छ। दुवै पक्षबीच विभाजन वडा तहसम्म पुगेपछि नेकपा एकता चाहेका कार्यकर्ताहरू भने अन्योलमा परेका छन्। 

को कुन पक्षमा ?

ओखलढुङ्गा प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने नेतामध्ये नानीबाबु बुढाथोकी, अम्बीरबाबु गुरुङ, संविधान सभा सदस्य शकुन्तला राजभण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरेपछि ओली समूहमा खुलेका छन्।

त्यस्तै गरी उज्जनकुमार श्रेष्ट हत्या आरोपमा १० वर्ष जेल सजाय भोगेका माओवादी नेता बालकृष्ण ढुङ्गेल पनि ओली समूहमा खुलेर लागेका छन्‌। ढुंगेल पनि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् भने जिल्ला सचिव रहेका मोहनकुमार श्रेष्ठ पनि केन्द्रीय सदस्य भएका छन्।

पार्टी एकतामा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगा जिल्ला कमिटीका शंकर कट्वाल, कमल न्यौपाने, अशोक थापा, कृष्ण कार्की, केदारबाबु बस्नेत र शेखर भट्टराई लगायतका नेता ओली समूहमा खुलेर लागेका छन्। 

त्यस्तै, माधव–प्रचण्ड समूहमा प्रतिनिधिसभा सदस्य समेत रहेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष मोहन कुमार खड्का, संविधान सभा सदस्य हर्कबोल राई, प्रदेश कमिटी सदस्य बाबुराम गौतम, खड्ग योगी, चम्पा कार्की, निशान्त शर्मा छन्। कार्यालय सदस्यहरू नेत्र भट्टराई, गुणकुमार राई र जिल्ला कमिटीका साविक १ सय ३५ मध्ये ९० जनाभन्दा बढी जिल्ला सदस्य प्रचण्ड–नेपाल समूहमा खुलेका छन्। 

जिल्लाका आठ पालिकामध्ये पाँच तहका कमिटीले प्रतिनिधि सभा विघटनको विरोधमा विज्ञप्ति निकाल्दै आन्दोलनमा जान आह्वान गरेका छन्। युवा सङ्घका इञ्चार्ज र अनेरास्ववियुका संयोजक ओली समूहमा लागेका छन् भने अन्य पदाधिकारी दाहाल–नेपाल समूहमा छन्। ओली पक्षले अनेरास्ववियुको जिल्ला कमिटी घोषणा गरिसकेको छ। साविक एमाले निकट विद्यार्थी नेताहरू यो समूहमा बढी देखिएका छन्। 

दुवै समूहले गएको पुस १४ र १९ गते जिल्ला सदरमुकाममा शक्ति प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा कमिटीमा संगठित धेरै समूह दाहाल–नेपाल समूहमा देखिएका छन्‌ भने असंगठित युवा तथा मतदाताहरूको साथ भने ओली पक्षमा देखिएको छ।

यो समूहले शक्ति प्रदर्शनकै लागि पुर्व एमालेको नाम लिदै जिल्ला सदरमुकाम नजिकका गाउँहरूबाट गाडीमा मान्छे ओसारेको थियो। यसपछि निरन्तर रूपमा दुबै समूह अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणमा जुटी रहेका छन्। कतिपय स्थानमा कार्यकर्ताहरू दुवै समूहमा जाने, तर आफूहरू मौन बस्ने गरेका छन्। 

जनप्रतिनिधि पनि विभाजित

ओखलढुंगामा जनप्रतिनिधिहरूमा पनि विभाजन देखिएको छ। नेकपाले जितेका चार स्थानीय तह मध्ये ओली समूहमा सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधि मात्रै खुलेका छन्।

अन्य दुई स्थानीय तहका जनप्रतिनिधि दाहाल–नेपाल पक्षमा खुलेका छन्। एक अध्यक्ष र उपाध्यक्ष भने अझै मौन रहेका छन्। प्रदेश सभाका सांसद तथा जिल्ला अध्यक्ष मोहन खड्का, विघटित सङ्घीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार दाहाल–नेपाल र प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री अम्बीर गुरुङ ओली पक्षमा देखिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.