|

काठमाडौं : ‘नर्स’ भन्नासाथ हामी सेतो चिटिक्क परेको कपडा लगाएर अस्पतालमा सधैँ बिरामीको छेउमा रही सेवामा खटिने व्यक्ति भन्ने सम्झन्छौं।

​जब कोही बिरामी भई अस्पताल पुग्छन् : त्यसबेला उनीहरूको सबैभन्दा नजिकको सहारा नर्सहरू नै हुन्छन्‌। अस्पतालमा रहँदा हरपल बिरामीको सेवामा तल्लीन रहने नर्सहरूको सेवा पाएपछि बिरामीले पनि आधा रोग निको भएको महसुस गर्छन्।

मुस्कुराउँदै बिरामीको सेवामा खटिनु नर्सको धर्म हो। नेपालमा कोरोना संक्रमणका बेला संक्रमितहरूको उपचारमा नर्सहरूले खेलेको भूमिका महत्वपुर्ण रहँदै आएको छ। दैनिक १२ घन्टाभन्दा बढी समय नर्सहरूले संक्रमितको उपचारमै खर्चिरहेका छन्।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत नर्सिङ अधिकृत विन्दा शर्मा नेपालमा कोरोना संक्रमण देखिएपछि लामो समयसम्म अस्पतालमै खटिइन्‌। कोरोना संक्रमितको उपचारमा अहोरात्र खटिएकी शर्माको अनुभव यस्तो छ :

जब नेपालमा कोरोना संक्रमण बढ्दै गयो, अस्पतालमा हामीलाई संक्रमितको उपचारमा खटिन र आफूले सावधानी अपनाउन परामर्श दिइयो। शुरू-शुरूमा त हाम्रोमा संक्रमितको उपचार खासै भएन। तर, गम्भीर प्रकृतिका संक्रमित बढ्दै जाँदा दैनिक १२ घन्टासम्म व्यक्तिगत सुरक्षा कवच (पीपीई) लगाएर ड्युटी गर्नुपर्‍यो। लामो समयसम्म घर जान नै पाइएन।

शुरूको समयमा हामी संक्रमितको उपचारमा खटिँदा आवश्यक पर्ने पीपीई सहितका स्वास्थ्य सामग्रीहरू पनि उपलब्ध भएन। त्यस समय पीपीई सहितका स्वास्थ्य सामग्री आफैँले किनेर संक्रमितको उपचारमा खटिनुपर्‍यो।

​संक्रमणको डर भएपनि आफ्नो पेशाप्रतिको धर्मले गर्दा लामो समयसम्म घर नगइ दैनिक १२ घन्टासम्म ड्युटी गरिरहँदा गम्भीर अवस्थामा पुगेका संक्रमित सन्चो भएर घर फर्कँदा निकै खुशी मिल्थ्यो। बीचमा केही समय टिचिङमा धेरै संक्रमित थपिए। हाल संक्रमण घट्दै गएर पनि होला, खासै धेरै संक्रमित उपचारमा आएका छैनन्‌।

कोरोना जस्तो महामारीको समयमा मात्रै होइन, अन्य समयमा पनि म जस्ता नर्स पेशामा आबद्ध भएका साथीहरूले निरन्तर सेवा प्रवाह गर्नुभएको छ। तर हामीले जसरी सेवा दिन्छौँ : त्यस्तै सेवासुविधा हामीलाई राज्यले अझै दिन सकेको छैन। तोकिएको समयभन्दा धेरै समय ड्युटी गर्नुपर्दा धेरै साथीहरूले श्रम शोषण भोगिरहनुभएको छ।​

सामान्यतया: नर्सहरूका लागि ड्युटी समय ८ घण्टा छुट्याइएको हुन्छ। तर, नर्सहरूले कहिलेकाहीँ चौबीसै घण्टा ड्युटी गर्नुपर्छ। तोकिएको समयभन्दा बढी ड्युटी गरेबापत थप सुविधा दिने नगरेको जताततै सुनिन्छ।

‍एकजना नर्सले धेरैमा ६ देखि ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको छ। तर, नेपालमा एक नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.