प्रतिशोधको राजनीति, हरेक स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम

|

धनकुटा : दुई पार्टीका टाउकोबाट एकीकरण सुरु भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोटो समयमै अनौपचारिक रूपमा फुटिसकेको छ। फुटको जस भने दुवै पक्षले औपचारिक रूपमा लिन आनाकानी गरिरहेका छन्। यद्यपि, पार्टी सग्लो नभएको नेताहरूले नै स्वीकार गरिरहेका छन्।

पार्टी एकीकरणका लागि नेतृत्व गर्ने दुवै अध्यक्ष यतिबेला आ–आफ्नै गुटको पनि नेतृत्व गरिरहेका छन्। यति मात्र नभई उनीहरू एकले अर्कालाई आरोप–प्रत्यारोप र वक्तव्यबाजी गर्न चुकेका छैनन्। अनि पार्टीको संगठन विस्तार गर्ने बहानामा तल्लो तहसम्म कार्यकर्ता आ-आफ्ना गुटमा तान्न मरिहत्ते गर्न थालिसकेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनले केन्द्रदेखि स्थानीय तहसम्म प्रभाव पारिरहेका बेला दुवै पक्ष वर्चस्व कायम गर्न सक्रिय छन्। जिल्लामा ओली र प्रचण्ड–नेपाल दुवै समूह आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न होडबाजी गरिरहेका छन्।

नेपाली कम्युनिष्ट आन्दोलनमा अग्रणी भूमिका खेलेको क्षेत्र पूर्वी नेपालमा विभाजनको तरंगबाट अलग हुन सकेको छैन। निर्वाचन परिणाममा सधैँजसो कम्युनिष्ट पार्टीको वर्चस्व रहने पूर्वी नेपालको धनकुटामा स्थानीय तहसम्म असर परेको छ। विभाजनको प्रभावमा जिल्लाका अधिकांश नेता कार्यकर्ता कुनै एक पक्षमा खुलेका छन्।

पूर्वी नेपालको वाम आन्दोलनमा धनकुटाको योगदान ०२८ सालको झापा विद्रोहदेखि ०३६ सालको छिन्ताङ काण्डदेखि माओवादीले गरेको १० वर्षे जनयुद्धसम्म उत्तिकै थियो। नेकपाको विभाजनसँगै त्यसको स्वामित्व कता जान्छ? भन्ने आशंका बढिरहेको स्वयं कम्युनिष्ट कार्यकर्ताहरू बताउँछन्।

दुई वर्ष ७ महिना पनि मिलेर काम नगरी आम जनता र कार्यकर्तालाई निराश तुल्याउँदै गुटगत संगठन विस्तारमा जुटेका नेतृत्व तहका नेताहरूको कारण जिल्ला–जिल्लामा पनि नेता कार्यकर्ता दुई फ्याकमा बाँडिन थालेका छन्।

जनप्रतिनिधि ओली समूहमा

जिल्लाको समग्र नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्मको विश्लेषण गर्दा ओली पक्षमा अधिकांश जनप्रतिनिधि लागेका छन्। धनकुटाबाट २०७४ सालको निर्वाचनमा प्रत्यक्ष निर्वाचित निवर्तमान सांसद तथा धनकुटा अध्यक्ष राजेन्द्रकुमार राई ओली समूहमा लागेका छन्।

यस्तै, प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद इन्द्रमणि पराजुली र निरन राई तथा समानुपातिक सांसद विनादेवि राई पनि ओली पक्षमा खुलेका छन्। यस्तै, जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुहानलगायत धनकुटाका सातै स्थानीय तहका प्रमुख उपप्रमुख ओली पक्षमा लागेका छन्। उनीहरू आफ्नो पक्ष बलियो बनाउन दौडधुपमा छन्। जिल्लामा ७ स्थानीय तहमा ७ वटैमा तत्कालीन एमालेका उम्मेद्ववार नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा निर्वाचित भएका थिए।

यता, ओली पक्षमा नेकपा विभाजन अघिका प्रदेश सदस्यहरू टीकाराम चेम्जोङ, गणेश राई, चन्द्र बस्नेत लागेका छन्। यस्तै, पार्टी एकताअघि पूर्व-माओवादीमा रहेका तथा पार्टी एकतापछि प्रदेश कमिटी सदस्य गणेश राईसहित जिल्ला कमिटीका सन्देश बिहानी, सुष्मा किराँती, रामकुमारी राई, भीमा खनाल, नेत्र भण्डारी, बलदीप राई ओली पक्षमा खुलेका छन्।

पार्टी कमिटीमा प्रचण्ड–नेपाल पक्ष बलियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटामा केही कमजोर देखिएको प्रचण्ड–नेपाल पक्षमा केन्द्रीय सदस्य तथा जिल्ला इन्जार्ज हेमराज भण्डारी, प्रदेश सदस्य तथा धनकुटा सचिव ऋषिराम ढुंगाना, प्रदेश कमिटी सदस्यहरू धर्मराज पौडेल, धनमाया विश्वकर्मा प्रचण्ड–नेपाल पक्षका जिल्लाकै खम्बाका रूपमा स्थापित छन्। यस्तै प्रदेश सांसद कुशुम कुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख बंगला राई प्रचण्ड–नेपाल पक्षमा लागेका छन्। 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीच पार्टी एकता हुँदा १ सय ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको थियो। जसमा एमालेका ९७ र माओवादीका ३८ नेता रहेका थिए। जसमा ७१ जना प्रचण्ड–नेपाल पक्षमा रहेको नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगाना बताउँछन्।

त्यस्तै, सातवटै स्थानीय तहमा प्रचण्ड–नेपाल पक्षमा बहुमत रहेको उनी दाबी गर्छन्। उनका अनुसार पार्टी एकता हुँदा बनेको ८१ सदस्यीय नगर कमिटीमा धनकुटामा ४१ जना, पाख्रिबासमा ४३ र महालक्ष्मीमा ४९ जना प्रचण्ड–नेपाल पक्षमा हस्ताक्षर गरेका छन्।

यस्तै, ७५ सदस्य गाउँ कमिटीमा छथरजोरपाटीमा ३८, शहीदभूमिमा ४१, साँगुरीगढीमा ३९ र चौविसेमा ५१ प्रचण्ड–नेपाल पक्षमा हस्ताक्षर गरेको ढुंगानाको भनाइ छ। उनका अनुसार हरेक स्थानीय तहमा विस्तारित बैठक गरिएकाले सहभागी भने वडा कमिटीका अध्यक्ष, सचिब र पार्टीका शुभेक्षुक पनि सहभागी रहेको थिए।  

अध्यक्ष र सचिवबीच अन्तरविरोध 

नेकपा जिल्ला कमिटी धनकुटा जिल्लाको तथा हरेक स्थानीय तहको पूर्णबैठक बारेमा अध्यक्ष र सचिवबीच अन्तरविरोध देखिएको छ। राष्ट्रिय राजनीतिमा नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओली समूहबीच फुटको संघारमा पुगेपछि बैठक बारेमा फरक फरक निर्णय बाहिरिएको हो।

जिल्लाको होस या स्थानीय तह हरेकमा अध्यक्षले बोलाएको बैठकमा सचिवले तथा सचिवले बोलाएको बैठक अध्यक्षले पार्टी हितविपरित भेला बैठकमा उपस्थित नहुन भन्दै सूचना जारी गर्ने गरेका छन्।

पार्टी फुटको दलदल तल्लो तहसम्म 

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी पार्टी २०७५ जेठ ३ गते एकीकरण भई बनेको नेकपाका वडा र गाउँसम्म नेता कार्यकर्तालाई विभाजन गराउन दुवै पक्ष लागिपरेका छन्। यसले पनि जिल्ला र स्थानीय तहमा हरेक दिनजसो नेकपाकै नाम रहेका ओली र प्रचण्ड–माधव गुटका अलग-अलग कार्यक्रम भइरहेका छन्। यो अर्थमा धनकुटा जिल्ला र जिल्लाका ७ वटै स्थानीय तहमा नेकपा फुटको दलदलमा फसिसकेको देखिन्छ। 

विद्यार्थीमा प्रचण्ड - माधव पक्ष बलियो

नेकपाको विभाजनसँगै त्यसको स्वामित्व कता जान्छ? भन्ने आशंका बढिरहेका बेला पछिल्लो घटनाक्रममा आइपुग्दा धनकुटामा नेरास्ववियूमा प्रचण्ड–माधव पक्षमा नेता कार्यकर्ताको पल्लाभारी देखिएको छ। जिल्लाको अनेरास्ववियूको समग्र नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्मको विश्लेषण गर्दा प्रचण्ड–माधव पक्षमा ८० र ओली पक्षमा २० को अवस्था देखिन आउने अनेरास्ववियू धनकुटाका संयोजक अंकित थापाले बताए।

प्रचण्ड–नेपाल पक्ष नेरास्ववियूमा जिल्ला संयोजक थापासहित सहसंयोजक पदम रखाल खुलेपछि ओली पक्षले जिल्ला सचिवालय सदस्य वसन्त राईको संयोजकत्वमा धनराज पोख्रेल सहसंयोजक रहेको कमिटी बनाएको छ।

प्रतिगमनमा लागेको भन्दै अर्को पक्षलाई कारबाही

फुटको आधिकारिता हुन मात्रै रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक पक्षले अर्को पक्षलाई प्रतिगमनमा लागेको भन्दै कारबाही सुरु गरेका छन्। जिल्ला कमिटीमा दुवै पक्षले कारबाही नगरेको भए पनि धनकुटा नगरपालिकामा ओली पक्षले नगर कमिटी सचिव खगेन्द्र विष्टलाई प्रतिगमनमा लागेको भन्दै कारबाही गरेर चन्द्रकृष्ण ठकुरीलाई चयन गरेको छ। यस्तै सो कमिटीले पार्टीको हितविपरीत प्रतिगमनमा लागेको भन्दै अन्य ८ जनालाई निष्कासन गरेको छ।

यता, पाख्रिबास नगरपालिकामा प्रचण्ड–माधव पक्षले प्रतिगमनमा लागेको भन्दै ओली पक्षमा लागेका शान्तिराम गौतमलाई कारबाही गरेको छ। प्रचण्ड–नेपाल पक्षले गौतमको ठाउँमा कसैलाई चयन नगरेको नगर कमिटीका सचिव मुक्ति बजगाईंले जानकारी दिए।

ओली पक्षले थप्यो जिल्ला कमिटी

जिल्लाका नेताहरू पार्टी एकता हुनुपर्नेमा एकढिक्का देखिए पनि ओली पक्षले नयाँ जिल्ला समिति नै घोषणा गरिसकेको छ। एकीकरणबाट आएका सबै जिल्ला सदस्यलाई यथावत राख्दै ओली पक्षले दुई सय ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ।

नेकपा पार्टी विधानको धारा २९ (ङ) को १ मा भने जिल्ला कमिटी बढीमा १ सय ३५ जना सम्मको हुने व्यवस्था छ। तर, ओली पक्षले पहिलो बैठकमै पार्टीको विधानविपरीत जिल्ला कमिटी निर्माण गरेर पार्टी दुईवटा भएको संकेत देखाएको छ।

प्रचण्ड–माधव पक्षले वडासम्म संघर्ष समिति बनाउँदै

सक्रिय कार्यकर्ताहरू पार्टी विभाजनपछि कुन समूह वैधानिक हुने हो भनी पर्ख र हेरको अवस्थामा छन। प्रचण्ड–नेपाल पक्षले भने गाउँ–गाउँमा नेकपा विभाजनको असर तथा प्रतिनिधि सभा विघटनबारे प्रशिक्षण चलाएको छ। वडा तहसम्मै प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन थालेको छ। दुवै पक्षबीच विभाजन वडा तहसम्म पुगेपछि नेकपा एकता चाहेका कार्यकर्ताहरू भने अन्योलमा परेका छन्।

एक पक्षले मात्रै गर्‍यो जनसभा 

गएको माघ ३ गते नेकपा ओली समूहले धनकुटामा बृहत कार्यकर्ता भेला गर्दा धनकुटामा कम्युनिष्ट कार्यकर्ता यो गुटमा नै बढी छन् कि भन्ने झल्को दिएका छ। तर, प्रचण्ड–नेपाल पक्षले पनि बृहत कार्यकर्ता भेलाको तयारी गरिरहेकाले ओली पक्षीय भेलालाई हेरेर मात्र समीक्षा गर्न नमिल्ने प्रचण्ड–नेपाल पक्षका नेताहरू बताउँछन्।

ओली पक्षले त्रिवेणी माविको प्रांगणमा गरेको बृहत कार्यकर्ता भेलामा गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.