|

पाल्पा : जागिरे अवधिपछि प्रायः मानिसहरू सुखपूर्ण जीवन खोजिरहेका हुन्छन्। दुःख नगर्ने र परिवारसँगै बसेर रमाइलो गरी दिनहरू बिताउने उनीहरूको चाहना हुन्छ।

लाहुरेको जीवनशैली अझै फरक हुनेगर्छ। गोलीसँग जुधेर फर्किएका उनीहरू सेवानिवृत्त जीवन सुखसँग बिताउन चाहन्छन्। बाँकी जिन्दगी मनोरञ्जनपूर्ण बनाउन चाहन्छन्‌। 

तर, तानसेन नगरपालिका-१२ बौघापोखराथोकस्थित डाँडाकटेरीका पूर्णबहादुर रानाको भने दैनिकी भने फरक छ। २८ वर्ष भारतीय सेनामा सेवा गरेका उनी ९ वर्षअघि सेवानिवृत्त भएर घर फर्किएका थिए। घर फर्किएलगत्तै उनी कुनै न कुनै काममा व्यस्त रहे।

गोठमा पशुपालनदेखि खेतबारीमा विभिन्न थरिका तरकारी उत्पादन गर्न थाले। रानाका दिनहरू अहिलेसम्म खेतीकिसानी गरेरै  बित्ने गरेको छ। निर्वाहमुखी कृषि गर्दै आएका उनले पछिल्लो पटक भने व्यवसायिक खेती गर्दै आएका छन्।

५३ वर्षीय रानाले अहिले व्यवसायिक टमाटर खेती गरेका छन्‌। ​उनी भन्छन्, 'प्रायः लाहुरेले महंगो रक्सी र माछामासु बढी खाने हुँदा अकालमा ज्यान गुमाउनु परेको छ। यसरी खेतबारीमा पुगेर काम गर्दा आयु समेत लामो हुन्छ।'  

२०६८ सालमा उनले सामान्य र परम्परागत ढंगले नै टमाटर खेती थालेका थिए। कृषिसम्बन्धी कुनै ज्ञान नभएका उनले झण्डै ६ वर्ष करेसाबारीमा निर्वाहमुखी खेती गरे। ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै व्यवसायिक बन्ने उनको चाहना अहिले भने पूरा भएको छ। छिमेकमा रहेका नाताले आफ्नै भिनाजु देवेन्द्रबहादुर रानाले गरेको खेती देखेका उनले त्यहीँबाट व्यवसायिक टमाटर खेती गर्न सिके।

अहिले घर अगाडिको बारीमा लटरम्म टमाटर फलेको छ। त्यो देखेर उनी आफै दंग परेका छन्। विगत तीन वर्षदेखि उनले व्यवस्थित तरिकाले व्यवसायिक टमाटर खेती गर्न थालेका हुन्। सुरूमा डडुवा रोगले टमाटरका बोट सखाप पार्‍यो। तर हरेस भने खाएनन्। अर्को वर्ष राम्रै उत्पादन भयो।

गत वर्ष करिब ३० क्वीन्टल बिक्री गर्न सफल भएको रानाले सुनाए। त्यसपछि उनी व्यवसायिक रूपमा खेती गर्न हौसिएका हुन्।

यो सिजनमा ७ लाखको टमाटर बिक्री हुने अनुमान

अहिले घर अगाडिको बारीमा १८ वटा टनेल छन्। ती टनेलभित्र २ हजार ३०४ वटा टमाटरका बोट छन्।

सबै बोटमा लटरम्म टमाटर फलेका छन्।

ती बिरुवा गत साउनमा रोपिएका हुन्। उत्पादन दिइसकेका छन्। गएको पुस महिनासम्म करिब ६० क्विन्टल टमाटर बिक्री भइसकेको रानाले बताए।

उनका अनुसार ४ लाख रुपैयाा बराबरको टमाटर बिक्री भइसकेको छ। बोटमा अझै पनि पाकिसकेका र हरिया टमाटर लटरम्म छन्। ३ लाख रुपैयाा बराबरको टमाटर बोटमै रहेको उनी बताउँछन्।

यो सिजनमा करिब ७ लाख बराबरको टमाटर बिक्री हुने रानाको अनुमान छ। यो वर्ष सोचेभन्दा बढी उत्पादन भएको छ। एउटा बोटमा २ किलोसम्म फलेको छ। खर्च भने ७० हजार रुपैयाँ मात्र भएको उनले बताए। 

होटल म्यानेजमेन्ट पढेका भाई पनि टमाटर खेतीमा

पूर्णबहादुरका माइला भाई सचिन होटल म्यानेजमेन्ट पढ्न साइप्रस पुगेका थिए।

पढाइ पूरा गरेर नेपाल फर्किएका उनी अहिले पढेको विषयभन्दा फरक काम गरिरहेका छन्। टमाटरका टनेलमा उनको दैनिकी बितिरहेको छ।

विहान उठेदेखि बेलुकीसम्म टमाटर खेतीमा नै रमाइरहेका हुन्छन् उनी। गोडमेल गर्छन्। पाकेका टमाटर टिप्छन्। र क्यारेटमा जम्मा गर्छन्। त्यही टमाटर खरिद गर्न व्यापारी बारीसम्म आइपुग्छन्।

‘पढे अनुसारको जागीर गरेको भए कमाई कम हुन्थ्यो, मालिकको मातहतमा बसेर काम गर्नुपर्ने बाध्यता पर्दथ्यो,’ उनले भने ‘आफ्नै बारीमा उत्पादन गरी लाखौं रुपैयाँ बराबरको टमाटर बिक्री गर्न पाउँदा खुसी लागेको छ।’ परिवारसँग सँगै बसेर लाखौं आम्दानी गरेको उनले बताए।

तन र मन लगाएर परिश्रम गर्न सके २/४ लाख कमाउन विदेशको खाडीमा जानुनपर्ने सचिनले बताए।  

मल अभाव हुँदा समस्या

समयमै मल युरिया र पोटासजस्ता मल नपाउँदा उत्पादनमा कमी आएको पूर्णबहादुरले गुनासो गरे।

सिंचाइ नहुँदासमेत व्यवसाय विस्तार गर्न कठिन भएको उनले बताए। ‘पोखरीमा जम्मा गरेको बर्खाको पानीले टमाटर खेती सिंचाइ गर्दै आएको छु,’ उनले भने ‘सिंचाइ सुविधा भए व्यवसाय विस्तार गर्न सहज हुने थियो।’

आवश्यक बीउबिजन, आधुनिक कृषि औजार र मल समयमै उपलब्ध गराइदिन सरकारसँग उनको आग्रह छ। टमाटरको मूल्य घट्दा भने उनलाई चिन्ता लागेको छ। शुरूमा प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको टमाटरको मूल्य अहिले घटेर २५ रुपैयाँमा झरेको छ। भारतमा भन्दा नेपालमै उत्पादित टमाटरलाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ।

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.