|

चितवन : भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य उधारोमा भइरहेको छ। 

सहयोग गर्छु भनेका व्यक्ति तथा संघ संस्थाहरुले नै कबोल गरेको रकम नदिएपछि रंगशालाको काम उधारोमा गर्नुपरेको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ। रंगशालामा अहिले दुई वटै पारापिटको गरी २८६ वटा पिलर (कोलम) उठाउने काम भइरहेको छ। मैदानको ८५ प्रतिशत काम सकिएको छ। रंगशाला निर्माणमा दैनिक दुई सय जना कामदार खटिएका छन्। घोषित रकम उठ्नै नसकेपछि कामदारहरुलाई समेत डेढ महिना देखि पुरै तलब दिन कठिन भइरहेको रंगशाला परियोजनाका व्यवस्थापक जनार्दन शर्मा देवकोटाले जानकारी दिए।

‘रड र कंक्रिट लगायतका निर्माण सामग्रीहरु उधारोमा ल्याएर काम गरिरहेका छौँ’, उनले भने, ‘बजारमा उधारो नौ करोड नाघिसकेको छ। काम गर्ने मेनपावरलाई पनि थोरै–थोरै मात्रै पैसा दिएर काममा खटाएका छौँ।’ रंगशाला निर्माण अभियानका लागि हालसम्म विभिन्न व्यक्ति, संघसंस्था, स्थानिय तह र प्रदेश सरकारबाट गरी ३१ करोड ४७ लाख ३० हजार ९७७ रुपैयाँ प्राप्त भएको उनले बताए । 

हालसम्म ४० करोड ७८ लाख ४९९ रुपैयाँ बराबर खर्च भएको शर्मा देवकोटाले बताए।  खर्च रकममध्ये ३९ करोड ३ लाख ४९९ रुपैयाँ खर्चको बिल भर्पाइ पेश भइसकेको छ भने, १ करोड ७५ लाख रुपैयाँ खर्चको बिल भर्पाइ पेश हुन बाँकी छ। हाल बजारमा ९ करोड ३३ लाख रुपैयाँ उधारो पुगेको उनले बताए। जनस्तरबाट निर्माण भईरहेको रंगशालाको लागि भरतपुर महानगरपालिकाले चालु आव ०७७-७८ मा दुई पटकमा गरी आठ करोड रुपैयाँ दिइसकेको छ। महानगरले आन्तरिक स्रोतबाट उठेको रकम अनुदान स्वरुप सहयोग गरेको हो। 

 

रंगशाला निर्माण अभियानको लागि घोषित रकम पूर्ण रुपमा नआएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए।  ‘हामी निकै अप्ठेरो अवस्थामा पुगेका छौं,’ उनले भने, ‘देशको गौरबको परियोजना बन्दैछ तर, हामीसँग यसका लागि आवश्यक स्रोतको अभाव दिन प्रतिदिन बढ्दै गएका कारण समस्या आइरहेको छ।’ अन्तिम चरणमा रहेको रंगशालाको निर्माण कामलाई सक्न सबैले आफ्नो बचन पुरा गर्ने उनले विश्वास व्यक्त गरे। 

रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले गत वर्ष माघ १९ देखि २७ गतेसम्म धनधान्याचल ज्ञान महायज्ञ गरिएको थियो। महायज्ञबाट नगद र जिन्सी तथा बोल कबोल गरी ६९ करोड रकम उठेको थियो। त्यसमध्ये हालसम्म जम्मा ८ करोड ८४ लाख ९८ हजार ४४७ रुपैयाँ मात्र प्राप्त भएको फाउन्डेसनले जानकारी दिएको छ।

महायज्ञमा कबोल गरेका सरकारका विभिन्न निकाय देखि जनप्रतिनिधिहरुले नै बचन पुरा नगरेको फाउन्डेसन स्रोतले बतायो। बोलकबोल बापतको रकम नउठेपछि समयमै रंगशाला निर्माण सम्पन्न हुनेमा आशंका बढेको छ। फाउन्डेसनले बाँकी रकम यथासक्य उपलब्ध हुन सकेमा परियोजना तोकिएकै समयमा सम्पन्न गर्न सकिने बताएको छ। तर कबोल गरिएको रकम उठ्न कठिन देखिएको छ।

कसले कति दिन बाँकी ? 

महायज्ञमा सहयोग गर्ने बचन दिएका व्यवसायीदेखि प्रदेश सरकारले समेत अझै रकम दिएका छैनन्। फाउन्डेसनका अनुसार बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १२ करोड ७५ लाख र जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँँ दिएका छैनन्।

त्यस्तै, जिल्लाको माडी नगरपालिकाले ३० लाख, कालिका नगरपालिकाले १५ लाख ५५ हजार ५५५, रत्ननगर नगरपालिकाले ७ लाख र राप्ती नगरपालिकाले ४ लाख रुपैयाँ दिन बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमल्सिनाले बताए। 

प्रदेश सभाका सांसद मिलनबाबु श्रेष्ठ, गीता वाग्ले, राष्ट्रियसभा सांसद कोमल ओली, सांसद बालराम पौडेल, सांसद उमेश श्रेष्ठ, सांसद अन्जनी श्रेष्ठ, र सांसद रिना गुरुङले समेत कबोल गरेको रकम अझै दिएका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.