|

काठमाडाैं : प्रेमिका जर्जिना रोड्रिग्वेजको जन्मदिन मनाउन युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस यात्रा मापदण्ड तोडेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार प्रेमिकाको जन्मदिन मनाउन रोनाल्डोले सिरिए क्लबको मुख्यालय टरिनभन्दा उत्तर पश्चिम क्रेमायरको रिर्सोट यात्रा गरेका थिए।

बुधबार २७ वर्ष लागेकी रोड्रिग्वेजले इन्स्टाग्राममा स्नोमोवाइल चढेको दुवै जनाको भिडियो इन्स्टाग्राममा पोष्ट गरेकी थिइन्। उनले पछि सो भिडियो हटाइन्।

यद्यपि धेरै इटालियन समाचार साइटहरुले सो भिडियो संग्रह गरिसकेका थिए। कोपा इटालियमा एसपिएएलविरुद्ध खेलअघि बिदा लिँदै रोनाल्डोले पीडमोन्ट र वेले डी ओस्टा बीचको सीमा पार गर्दै २ दिन बिताएका थिए।

डेले स्पोर्टका अनुसार रोनाल्डो र जर्जिना एक होटलमा बसे, जुन औपचारिक रुपमा बन्द गरिएको थियो। भोलिपल्ट टुरिन फर्किनुअघि दुवै जनाले हिउँमा मनोरञ्जन गरे। 

हाल इटालियन कोरोना प्रोटोकल नियमअनुसार यदि कोही उसको घरबाट अर्को ठाउँमा जान चाहन्छ भने खास घटनाबाहेक घुम्न जान प्रतिबन्ध लगाइएको छ। जस अनुसार रोनाल्डो जोडीले टुरिन सहर छाडेर जानु हुने थिएन।

नियम तोडेबापत प्रतिव्यक्ति ४ सय युरो जरिवाना तिर्नुपर्ने हुन्छ। ३५ वर्षीय फुटबलर यसअघि पनि कोरोना भाइरससम्बन्धी विवादमा तानिएका थिए। अक्टोबरमा पोर्चुगल यात्राका क्रममा उनको आलोचना भएको थियो। जुन समयमा युभेन्टसको टोलीका खेलाडीमा संक्रमणको घटनाका कारण आइसोलेसनमा थियो।

युभेन्टसका दुई जना खेलाडी संक्रमित हुँदा पूरै टोली आइसोलेसनमा बसेको थियो। युभेन्टसका अन्य खेलाडी आइसोलेसनमा रहँदा रोनाल्डो भने पोर्चुगल गएका थिए।

त्यसपछि रोनाल्डोमा समेत संक्रमण देखियो। केही हप्ता उनी घरमै आइसोलेसनमा बसेका थिए। त्यस समयमा इटालीका खेल मन्त्री भिन्सेन्जो स्पडाफोराले पोर्चुगिज स्टारलाई कोरोनाभाइरस प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाएका थिए।

भिन्सेन्जोले भनेका थिए– ‘मेरो विचारमा यहाँ सबैभन्दा ठूलो जिम्मेवारी लिनुपर्ने नै स्वास्थ्यको हो, केही स्टार खेलाडी आफ्नो स्वास्थ्यमाथि नै खेलबाड र गैरजिम्मेवार तरिकाले हिँडिरहेका छन्,’ रोनाल्डोमाथि इंगित गर्दै भिन्सेन्जोले भनेका थिए, ‘जोखिम हुँदाहुँदै रोनाल्डो पोर्चुगलबाट इटाली आइपुगेका छन्, यसै क्रममा उनी संक्रमित भएका हुन्।’ कोभिड– १९ संक्रमण फैलन थालेदेखि नै रोनाल्डोले सेल्फ आइसोलेसनमा रहँदै आएको दाबी गरिरहेका थिए।

यद्यपि, उनी पोर्चुगल र युभेन्टस आउने र जाने भने गरिरहेका थिए। उनलाई यही क्रममा संक्रमण भएको अनुमान गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.