७ सयभन्दा बढीको उद्दार
७ सयभन्दा बढीको उद्दार
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र उनका पत्नी राधिका शाक्यले गत पुष ७ गते बालुवाटारमा सहयोगापेक्षी सडकमानवहरूको राष्ट्रिय उद्धार कार्यक्रम (मेची-महाकाली यात्रा) उद्घाटन गरे। ओली दम्पतीले बिदाई गरेका ४० जना सामाजिक उद्धारकर्तामध्ये एक थिए-अर्जुन भुसाल।
सामाजिक अभियन्ता अर्जुनको अभियान पूर्वी नेपालको काँकडभिट्टाबाट शुरू भयो।
‘मेची पुल पुग्यौँ,’ शुक्रबार राजधानीमा भएको यात्रा समापन कार्यक्रममा उनले अनुभव सुनाए, ‘पहिलो दिन झापाको सुरुङ्गामा २ सय ५६ जना सडक मानव उद्धार गर्यौँ, धेरैको शरिरमा कपडा नै थिएन, अर्धनग्न अवस्थाबाट उद्धार गरेर विराटनगरको आश्रममा लगियो।’
उद्धार गरिएका ती व्यक्तिहरूलाई त्यहाँको आश्रममा राखेपछि उनी प्रदेश २ र ३ हुँदै महाकालीसम्म पुगे। महाकालीसम्म पुग्दै गर्दा करिब ७ सय जना सडक मानवको उद्धार गरेको उनले बताए। ‘धेरै जनाको त्यही पुनर्मिलन गरायौँ,’ भुसालले भने।
अनुभव सुनाउँदै उनले भने, ‘राजनीतिक भागवण्डा मिलाउन आन्दोलनले सडक तताउँछौँ, तर हामी कहिलै मानवताका लागि उठ्यौँ? सडकमा अलपत्र परेकाका लागि आन्दोलन गर्न सक्यौँ? सकेनौँ नी ! यो प्रश्न आफूले आफैलाई तेर्स्याउन जरूरी छ।’
महाकालीको यात्रा मात्रै होइन, उनले काठमाडौंको सडकमा पनि तीन दिन बिताए। राजधानी शहरमा अवस्था झनै नाजुक भएको उनले पाए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीका अगाडि उभिएका भुसालले भने, ‘कालीमाटीमा करिब ३०-४० हजार रुपैयाँ कमाउनेहरू सडक पेटीमा सुत्दा रहेछन्, सिडिओ साप! उहाँहरू ९-१० वर्षदेखि नै तरकारीको बोरा बोक्नुहुँदो रहेछ। तीन घण्टाको लागि पनि किन कोठा भाडा लिने भनेर बोरा ओढेर सडकमा सुत्नु हुँदो रहेछ। यस्तै कारणले काठमाडौँ कुरुप बनेको छ।’
काठमाडौंमै अरू पीडितलाई प्रयोग गरी पैसा ठग्ने गरेको पाएको उनी बताउँछन्।
उनी अहिले चितवनमा नै समाजसेवा विषय लिएर स्नातक तह, दोस्रो वर्षमा अध्ययनरत छन्। मानव उद्धारमा लागेका उनको अहिले सामाजिक सञ्जालहरूमा पनि प्रशंशा भइरहेको छ। उनको फेसबुक पेजमा मात्रै ३ लाख फलोअर्स छन्। उनले केही भिडियो लाइभ गर्दा १० लाखभन्दा धेरैले हेर्ने गरेका छन्।
सामाजिक सञ्जालमा फलोअप गर्नेहरूले मानव सेवा आश्रमका लागि भनेर रकम पनि उनलाई पठाए। त्यही एक लाख ५२ हजार ६ सय रुपैयाँ रकम उनले कार्यक्रमकै क्रममा आश्रमलाई बुझाए।
उद्धार यात्रामा लागेको बेला उनलाई लागेको थियो, ‘नेपालको सडकमा धेरै अलपत्र परेको व्यक्तिहरू नहोलान्।’ तर, जब उनी सडकमा निस्किए : त्यस्ता व्यक्ति धेरै भेटे। भन्छन्, ‘साँच्चै नै मानवतामा हाम्रो देश खोक्रो भइसकेको रहेछ भन्ने प्रमाणित भयो, म आफै छर्लङ्ग भएँ।’
करिब एक महिना उद्धारमा खटिँदा तीता-मीठा अनुभव पनि उनले सँगालेका छन्। ‘७०-८० वर्षीय बुबाआमा लत्ताकपडा बिनै सडकमा भौँतारिएको देख्दा मन अमिलो भयो। उद्धार कार्यमा खटिँदा युवतीहरूलाई यौन दुर्व्यवहार गरेर अलपत्र छोडेको दृश्य देख्दा, शिक्षित समाजले सडक बालबालिकाहरूलाई खाते भनेको सुन्दा साह्रै ननिको लाग्यो,’ थाहाखबरसँग कुराकानी क्रममा भुसालले भने।
उनले उद्धारक्रममा तीता अनुभव मात्रै गरेनन्, मीठा पलहरू पनि सङ्गाले। उनले भने, ‘उद्धार गरेर उनीहरूको पुनर्मिलन गराउँछौँ। अलपत्र मानिसहरूमाथि खाते या पागल भन्दै खनिनेलाई गतिलो झापड दियौँ, घिन मान्नेहरूलाई अंगालो मार्न मिल्ने बनायौँ, त्यो पलले निकै खुशी दियो।’
यसरी लागे सामाजिक काममा
स्कुलमा पढ्दादेखि नै बाल क्लब र रेडक्रसमा आवद्ध थिए उनी।
चितवनको खैरहनी माध्यमिक विद्यालय क्षेत्रलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियान चल्यो।
अबको बाँकी जिन्दगीमा पनि आश्रमसँगै सहकार्य गरेर सामाजिक सेवामा लाग्ने प्रण उनले गरेका छन्।
७ सय भन्दा बढीको उद्धार
आश्रमका संरक्षक डा. गोविन्द टण्डनले अहिलेसम्म खुल्ला आकाशमुनि रहेका ७ सय भन्दा बढी व्यक्तिहरूको उद्धार गरेको बताए।
उनले भने, ‘आश्रमले सडकमा अलपत्र परेका व्यक्तिहरूको उद्धारमा खटिरहेको छ, सातै प्रदेशमा आश्रम खोल्ने तयारीमा हामी लागेका छौँ।’
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कष्टकर जीवनयापन गर्नेलाई सहयोग गर्दै जाने बताए। ‘खोरमा थुनिएका,बाँधिएका, सडकमा अलपत्र परेका व्यक्तिलाई राख्ने आश्रम मानव आश्रम हो, सडकका बालबालिकालाई अब सरकारले सुख दिन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।