भरतपुर महानगरले सहभागिता जनाएन

|

चितवन : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर सिटी हल र गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तारको शिलान्यास गरेका छन्।

संघीय सरकारको बजेटमा भरतपुर–१० स्थित जिल्ला समन्वय समिति चितवनको कार्यालय पछाडीको ४ बिघा ४ कठ्ठामा अन्तर्राष्ट्रिय स्तरको सिटी हल निर्माण र ६ लेनको सडक विस्तारको काम भइरहेको छ।

 शिलान्यास कार्यक्रममा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, र शहरी विकास मन्त्री प्रभु साह चितवन आएका छन्। शिलान्यासपछि केन्द्रिय बसपार्कमा आयोजित नेकपाको जनसभालाई ओलीले सम्बोधन गर्दै छन्। दुई आयोजनाको शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिकाले भने सहभागिता जनाएन।

नेकपाभित्रको आन्तरिक किचलोका कारण प्रचण्ड पुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरले सहभागिता नजनाएको हो। आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवन आउने तय भएपछि नेकपा प्रचण्ड–माधव समूहले केही दिनदेखि विरोध जनाएको थियो।

दुवै आयोजना निर्माणको ठेक्का इण्डो–सगुन–रौताहा जेभीले पाएको छ। प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सिटी हलको ०७७ मंसिर १८ गते सम्झौता भएर निर्माणको काम भइरहेको छ। २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो। सिटी हल निर्माण गर्न यस आर्थिक वर्ष ०७७-७८ को लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। सिटी हलको अहिले पीसीसी ढलान सकेर पिलर उठाउने काम भइरहेको छ।

सिटी हल निर्माण गर्न दैनिक एक सय बढी कामदार खटाइएको इण्डो–सगुन–रौताहा जेभीका इन्जिनियर प्रविन यादवले बताए। कामगर्ने क्रममा कुनै अवरोध नआए दुई वर्षभित्रै निर्माण कार्य सम्पन्न गरिने उनको भनाइ छ।

अन्तर्राष्ट्रियस्तरको बन्ने भनिएको आधुनिक सिटी हल २ हजार जना मानिस अट्न सक्ने क्षमताको हुने सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए।

त्यसको साथमा तीन सय क्षमताको सानो हल र किचन, भण्डारण लगायतका कक्षहरु हुने उनले बताए। सिटी हलमा पर्याप्त पार्किङको व्यवस्था हुने उनले बताए। सिटी हलमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ।

त्यस्तै, प्रधानमन्त्री ओलीले शिलान्यास गरेको ६.०८ किमी लामो गोन्द्राङ–नारायणगढ सडक २८ महिनाभित्र विस्तार गरिसक्नुपर्ने सम्झौता छ। सांघुरो सडकमा दुर्घटनाको दर बढ्न थालेपछि शहरी सौन्दर्यकरणलाई समेत ख्याल गर्दै सडक विस्तार गर्न लागिएको हो। सडक विस्तारको लागत एक अर्ब १२ करोड रुपैयाँ रहेको सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ।

 २०७७ असोज २६ गते ठेकेदारसँग भएको सम्झौता अनुसार ठेकेदार पक्षले २०७९ साल फागुन १० गते भित्र विस्तारको काम सक्नुपर्ने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर एवम् प्रवक्ता शिव खनालले जानकारी दिए। दुई लेन भएको स्थानमा ४ लेन र ४ लेन भएको स्थानमा २ लेन थपेर ६ लेनको सडक बनाइने उनले बताए।

सडक विस्तारको काममा दैनिक २ सय बढी कामदार खटाइएको छ। ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली अन्डर ग्राउन्ड गर्ने योजना छ।

सडकको दायाँबायाँ ११.५÷११.५ मिटरको पिच, बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर दुवैतर्फ ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन हुनेछ। त्यसभन्दा बाहिर ३ देखि ४ मिटरको फुटपाथ हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.