|
फाइल फोटो

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकामा अवस्थित मनुषा टीकासिंह थापा बहुमुखी क्याम्पसमा अध्ययनरत आशा चौधरी अहिले बीबीएस तेस्रो वर्षको परीक्षा तयारीमा जुट्नुपर्ने हो। तर, अहिलेसम्म बीबीएस दोस्रो वर्षकै परीक्षा कहिले हुने निश्चित नहुँदा उनी अन्योलमा छिन्।

२०७५ मा प्लस २ सकेपछि बीबीएस प्रथम वर्षमा व्यवस्थापन संकायतर्फ ४ वर्षे कोर्षका लागि उनले अध्ययन थालिन्‌। तर, कोरोना महामारी फैलिएपछि पढाईमा १ वर्ष नराम्ररी असर परेको उनले बताइन्।

'अहिले तेस्रो वर्षको परीक्षा तयारी गर्नुपर्ने बेला हो,' उनले भनिन्, 'तर अझै दोस्रो वर्षको परीक्षा कहिले हुने हो-निश्चित छैन।' एक वर्ष खेर गएपछि सारै चिन्ता लागेको उनले बताइन्।  

अर्का विद्यार्थी राजु थारूलाई पनि उस्तै चिन्ता छ। तेस्रो वर्षको परीक्षा दिनुपर्ने समयमा अहिले दोस्रो वर्षकै परीक्षाको समय निश्चित नहुँदा आफूलाई चिन्ता लागेको उनी बताउँछन्‌। 

गत वर्ष मंसिरमा प्लस २ सकेर बीबीएस प्रथम वर्षमा भर्ना भएकी राधिका आचार्य पनि अहिले बीबीएस दोस्रो वर्षको परीक्षाको तयारीमा जुट्नुपर्ने हो। तर, अहिलेसम्म पहिलो वर्षकै परीक्षा कहिले हुने हो, निश्चित छैन। 'परीक्षा फारम समेत कहिले खुल्ने हो थाहा छैन, आफूभन्दा १ वर्ष अगाडी परीक्षा दिएकाले पनि भर्खरै दोस्रो वर्षको परीक्षा फर्म भरेका छन्,' उनले भनिन्।  

कोरोना महामारी नभएको भए गएको साउन भदौमै उनको परीक्षा भइसक्थ्यो। २/२ वर्ष एकै कक्षामा पढ्दा क्याम्पस जान पनि मन नलागेको उनले बताइन्‌। भनिन्‌, 'यसअघि पढेको सबै बिर्सिसकेँ, परीक्षा कहिले हुने हो थाहा छैन, चिन्ता लागिरहेको छ।'

सरकारले विद्यालय स्तरका शैक्षिकसत्र खेर जान नदिनका लागि तयारी गरिरहँदा क्याम्पस तहमा भने त्यस्तो कुनै योजना नबनाई बेवास्ता गरिएको उनले गुनासो गरिन्।

नेपालमा कोरोना महामारी ​फैलिएपछि अन्य विभिन्न क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि यसले नराम्ररी असर पारेको चुरे क्याम्पसका क्याम्पसका प्रमुख कृष्णप्रसाद पौड्याल बताउँछन्‌। 'विद्यालय स्तरमा त शैक्षिक सत्र खेर जान नदिन विभिन्न प्रयासहरू भए,' उनले भने, 'तर  यस विषयमा त विश्वविद्यालयले सोच्यो, न त अरू कसैले। क्याम्पसमा अध्ययनरत विद्यार्थीको १ शैक्षिकसत्र खेर गएको छ।'

सामान्यतया: त्रिभुवन विश्वविद्यालयले भर्ना भएको १० महिनामा परीक्षा लिने गरेको थियो। अहिले भने कोरोना महामारीका कारण २ वर्ष नाघ्दासम्म पनि परीक्षा कहिले हुने निश्चित भएको छैन। 

कक्षा १२ को परीक्षा जसोतसो लिएपनि अझैसम्म नतिजा प्रकाशन हुन सकेको छैन। उता, कक्षा ११ को साउनमै खुल्नुपर्ने रजिष्ट्रेसन फर्म पनि अहिलेसम्म खुलेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.