|

काठमाडाैं : संसद विघटन भएसँगै प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिसमेत स्वतः विघटित भए पनि पूर्वसभापतिहरुले अझै सुविधाको सवारीसाधन फिर्ता गरेका छैनन्।

संसद विघटनसँगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिको सुविधा पनि खोसिएको छ। तर, सचिवालयले उपलब्ध गराएको सवारीसाधन भने सभापतिहरुले अझै फिर्ता गरेका छैनन्। सरकारले प्रतिनिधिसभा विघटन गरेको ४२ दिन पुगेको छ।

प्रतिनिधिसभा विघटनसँगै प्रतिनिधिसभाका सांसदहरुको सांसदका हैसियतले सरकारले उपलब्ध गराउँदै आएका सेवा सुविधा खोसिएका छन्। तर, प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापतिमध्ये ९ जना सभापतिले अझै पनि सभापति भएबापत सरकारले उपलब्ध गराएको सवारीसाधन प्रयोग गरिरहेका छन्।

विघटित प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापतिहरुमा उद्योग समितिको सभापति राष्ट्रिय जनता पार्टीले, लेखा समितिको सभापति नेपाली कांग्रेसले पाएको थियो।

बाँकी आठ वटा समितिका सभापति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले लिएको थियो। पार्टीभित्रको आन्तरिक किचलोमा दुई समूहमा विभाजित भएका सत्तारुढ दलका कसैले पनि गाडी फिर्ता गरेका छैनन्।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ९ समितिका सभापतिहरुले अझै पनि गाडी सुविधा प्रयोग गरिरहेको जानकारी दिए। महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले भने पुस १० गते नै गाडी फिर्ता गरेको सचिवालयका प्रवक्ता पाण्डेले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.