|

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको डाइभर्सन टनेल निर्माण सम्पन्न भएको छ।

परियोजनाले नदीको पानी डाइभर्सन गर्ने ४२९ मिटरको सरुङमार्ग समेत निर्माण सम्पन्न गरिसकेको छ। अरुण तेस्रो आयोजनाले सोमबार (आज) टनेलतर्फ फर्काउने सबै तयारी पूरा भएको सतलजका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए। 

यससँगै अरुण तेस्रोको ४० प्रतिशत भौतिक निर्माण सम्पन्न भएको भारतीय कम्पनीले जानकारी दिएको छ। अरुण नदीको पानी थुनेर सोमबार दिउँसो टनेलतर्फ फर्काइने छ।

२०७४ वैशाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा अरुण तेस्रो परियोजना शिलान्यास गरेका थिए।

ड्यामस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युतगृह स्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम २४ सै घन्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ।

ड्याम स्थलमा जयप्रकाश एसोसियटस निर्माण कम्पनीले काम गरिरहेको छ भने पावरहाउस स्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सलटेन्टले ठेक्का लिएर काम गरिरहेको छ। अरुण तेस्रो आयोजनामा अहिले भारतीय र नेपाली सहित ३ हजार कामदार रहेका छन्।

परियोजनाको ड्याम स्थल फ्याक्सिन्दादेखि विद्युत् गृहस्थल पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमि रहेको छ। परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ।

मेसिन राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ। पाइलट होल ९० मिटर मिटर खनिएको छ। एक खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क प्राप्त हुन र विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब रूपियाँ आर्थिक लाभ पुग्ने दावी गरिएको छ।

आयोजनाबाट प्रभावित स्थानीयले एक अर्ब ६० करोड रुपियाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन्। आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी तीन खर्ब ४८ अर्ब रुपियाँ प्राप्त गर्ने भनिएको छ।

निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख गरिएको छ। आयोजना विकास सम्झौता (पीडीए) अनुसार सन् २०२२ को सेप्टेम्बरभित्र आयोजना निर्माण सम्पन्न  गर्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.