|

पर्सा : विदेशी मुद्रा अपचलन गर्ने पर्साका एक मनि चेञ्‍जर सञ्‍चालकलाई पर्सा प्रहरीले प्रमाणसहित पक्राउ गरेको छ।

पर्साको सदरमुकाम वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा मनोकामना मनी चेञ्‍जर संचालन गरी बसेका गोपालप्रसाद सोनारलाई पर्सा प्रहरीले मनि चेञ्‍जरमा नै छापा मारी दशीसहित पक्राउ गरेको हो। 

अभियुक्त सोनारले संचालन गरेको मनोकामना मनि चेञ्‍जरबाट प्रतिबन्धित भारतीय ५०० का नोट १ हजार १ सय १५ र २०० का ७० सहित अन्य नोट गरी कुल ५ लाख ८४ हजार १०० रुपैयाँ मुद्रा बरामद गरिएको छ। त्यसैगरी ३ लाख ९२ हजार ९० नेपाली रुपैयाँ पनि बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए। 

विशेष सूचनाका आधारमा छापा मारी पक्राउ गरिएका सोनारलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।  

प्रहरीलाई प्राप्त सूचना अनुसार सोनारले विदेशी मुद्रा अपचलन गर्दै राखिएका नोटहरू हुण्डी कारोबारका पैसा भएको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ।

अभियुक्तले लामो समयदेखि अवैध पैसाको कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको छ। साथै, वीरगन्जमा अरू पनि धेरै मनि चेञ्‍जरमा गलत कारोबार हुने गरेको सूचना प्राप्त गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.