|

काठमाडौं : कवि तथा समालोचक महेश कार्की क्षितिजको पहिलो कविता संग्रह 'एक्लो महारथी' सार्वजनिक भएको छ।

नेपाल प्रज्ञा-प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रममा कवि कार्कीका मातापिता लालबहादुर कार्की र चन्द्रमाया कार्की, कविहरू पुष्कर लोहनी र मोमिला तथा समीक्षकहरू राजकुमार बानियाँ र महेश पौड्यालले उक्त कृतिलाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै समीक्षक राजकुमार बानियाँले कवि कार्कीको कवितामा पाइने आख्यान एक उत्तराधिकारी शैली भएको बताए। उनले कवितामा पाइने ग्रामीण विम्ब र सूक्तिमय कथ्यहरू कवि कार्कीका कविताको शक्ति भएको जिकिर गरे।

समीक्षक महेश पौड्यालले कार्कीका कविता पूर्वीय मिथक र ग्रामीण अनुभवहरूमा उभिएकोले छुट्टै प्रकारको मौलिकता विद्यमान गरेको टिप्पणी गरे।

उनले भने, 'यी कवितामा पाइने आख्यानका माध्यमबाट कविले लेखकीय हस्तक्षेपलाई न्यूनीकरण गर्नुका साथै पात्रहरूलाई वाचाल बनाएका छन्।' कवि मोमिलाले कवि कार्कीको कवितामा विद्यमान दर्शन र सूक्तिमयतामाथि विशेष प्रकाश पारिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि कार्कीले आफू भोजपुरमा रहँदैदेखि कविता लेखनतिर प्रवृत्त भएको जिकिर गरे। उनले भने, 'उनको यो संग्रह आफू जन्मेको माटोले उनीबाट राखेको काव्यिक अपेक्षाको उत्तर हो।'

कार्यक्रमका सभापति कवि भूवनहरि सिग्देलले कवितामा दर्शनको जग हुनु र सूक्तिमयता हुनु कविताको सबल पक्ष भएको बताए। शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले उनको प्रकाशनले स्तरीय कविताको प्रकाशनलाई निरन्तरता दिँदै लाने बताए।

कार्यक्रममा कविहरू डा. नवराज लम्साल, ज्योति जङ्गल, मणि लोहनी र प्रज्ज्वल अधिकारीले संग्रहबाट एक एकवटा कविता वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.