अनुकूल संरचना नबन्दा विकलाङ्गलाई सास्ती

|

काठमाडौं : माघ ११ गते राष्ट्रिय सभागृहमा अपांगता भएका व्यक्तिहरूको समस्या र सवालबारे प्रधानमन्त्री केपी ओलीसँगको साक्षात्कार कार्यक्रम भयो। साक्षात्कारमा राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले गुनासो पोखे, ‘अहिले बनेका सडक,आकाशेपुल लगायत संरचना हामी अनुकूल छैनन्‌, अपांगमैत्री बनाउनुपर्‍याे प्रधानमन्त्रीज्यू!’

अध्यक्ष शर्माले भनेजस्तै पछिल्लो समय उपत्यकामा बनाइएका अधिका‌श सडक अपांगमैत्री छैनन्। सडक विस्तार नै मापदण्ड विपरीत भएको छ।

मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ को निर्देशिकाको खण्ड ‘क’मा सबै सार्वजनिक सडक अपांगता भएका व्यक्तिको सहज र समान आवागमनको लागि पहुँचयुक्त बनाउनुपर्ने उल्लेख छ।

त्यस्तै, खण्ड ‘ख’ मा खण्ड ‘क’ को प्रयोजनको लागि नयाँ बन्ने सम्पूर्ण सडक ह्विलचियर प्रयोगकर्ता, वैशाखी प्रयोगकर्ता, कृत्रिम अंग प्रयोग गर्ने व्यक्ति, द‌ृष्टिविहीन, होचा–पुड्का लगायत अपांगता भएका व्यक्तिको आवागमनको लागि पूर्णतया पहुँचयुक्त बनाउनुपर्ने उल्लेख छ।  

‘पुराना सडकमा आवागमनमा अवरोध पुर्‍याउने सबै किसिमका अप्ठ्यारालाई हटाइनुपर्नेछ,’ निर्देशिकामा लेखिएको छ, ‘नयाँ बन्ने मुख्य ठूला सडकका सडक पेटी र सडक पार गर्ने ठाउँमा द‌ृष्टिविहीन व्यक्तिको स्वतन्त्र आवागमनको लागि गाइडिङ ब्लक बिछ्याउनुपर्ने, पूराना सडकको हकमा मर्मत सम्भार गर्दा गाइडिङ ब्लक राख्नुपर्ने छ। सार्वजनिक मुख्य सडकका सडक पेटीलाई सबै प्रकारका अपांगता भएका व्यक्तिको आवागमनको लागि पहुँचयुक्त बनाउनुपर्ने छ।’

तर, निर्देशिका अनुसार उपत्यका सडक निर्माण गरिएको छैन।

लामो समयदेखि सडक अलपत्र पर्दा हिलो र धुलोले सास्ती भएको भन्दै स्थानीयले पटक–पटक आन्दोलन गरेपछि बल्ल २०७६ फागुन महिनामा बौद्ध–जोरपाटी सडक कालोपत्रे भयो।

तर, द‌ृष्टिसम्बन्धी अपांगता व्यक्तिका लागि ट्रयाक टायल (द‌ृष्टिविहीन हिँड्ने बाटो) हालिएन। पैदलयात्रु हिँड्ने सडक पेटीको बीचमा नै बिजुलीका पोलहरू गाडिएका छन्। यसले झनै समस्या ल्याएको छ। गौशाला–चाबहिल सडक खण्डमा पहिला सडक कालोपत्रे हुँदा अपांगमैत्री सडक थियो। तर,पछि बिजुलीका तारहरू भूमिगत गर्ने नाममा सडकका पेटी नै भत्काइयो।

गत मंसिर अन्तिमतिर सडक कालोपत्रे भयो। तर, त्यहाँ पनि ट्रयाक टायल हालिएको छैन। जोरपाटी–साँखु सडक विस्तारमा पनि अपांगमैत्री सडक बनाइएको छैन।

सडक अपांगमैत्री नबनेको भन्दै २०७५ चैत १४ गते नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जोरपाटीका विकलाङ्गहरूले सडकमै आन्दोलन गर्दै बन्दै गरेको सडक पेटीका ब्लक औजार प्रयोग गरी फुटाइदिएका थिए।

त्यति गर्दा पनि अपांगमैत्री सडक बन्न सकेन। कतिपय ठाउँका सडक पेटीमा खाल्डा नै छोडिएको छ। तर, पनि कुनै निकायले मर्मतमा वास्ता गरेका छैनन्।

चक्रपथ र भित्री सडक मात्रै होइन, आवागमनयोग्य भएका भनिएका धोबीखोला र बागमती लगायत अन्य करिडोरका सडकलाई पनि अपांगमैत्री बनाइएको छैन।

‘बाहिर हिँड्डुल गर्न सकेनौं’

नेत्रहीन संघ नेपालका अध्यक्ष रमेश पोखरेल पछिल्लो समय बनेका सबै संरचना अपांगमैत्री नबन्दा बाहिर हिँड्डुल गर्न नसकेको बताउँछन।

उनले भने, ‘अहिले बनेका पुल र सडकलगायत अधिकांश सार्वजनिक संरचना अपांगमैत्री छैनन्। जताततै ढलका मंगाल ह्वाङ्ग छन। कतिबेला ढलमा पसेर ज्यान जान्छ, थाहा छैन। हामीले काठमाडौं महानगरपालिका,सडक विभाग,विद्युत प्राधिकरणमा ध्यानाकर्षण गराइसक्यौँ। तर, हाम्रो माग कसैले सुनेनन्।’

अब बन्ने सडक संरचना निर्माण अपांगमैत्री हुनुपर्ने उनको माग छ। उनका अनुसार देशभर चार हजार भन्दा बढी नेत्रहीन अपांगता व्यक्तिहरू छन्। 

सडक डिभिजन भन्छ : जग्गाको अभावले समस्या, क्रमश बनाउँदै जान्छौँ

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले नयाँ सडक संरचना अपांगमैत्री नै बनाउँदै आएको दाबी गर्छन।

​‘पुतलीसडक लगायत ठाउँमा अपांगमैत्री सडक बनाएका छौँ,’ उनले भने, ‘चाबहिल क्षेत्रमा ह्विलचियर गुडाउन मिल्नेगरी सडकपेटी बनाएका छौँ। केही ठाउँमा जग्गा नभएकाले समस्या भयो, क्रमश ट्रयाक टायलहरू हाल्दै जान्छौँ।’

सडक मर्मत कार्य नियमित गरिरहेको जानकारी दिँदै उनले बजेटले थेगेसम्म सडकलाई अपांगमैत्री बनाउँदै लगिने बताए।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरूप्रसाद अधिकारी पनि स्थानीयले जग्गा नदिएकै कारण अपांगमैत्री सडक बनाउन नसकेको बताउँछन्।

उनले भने, ‘अपांगमैत्री सडक बनाउनलाई पर्याप्त जग्गा उपलब्ध भएन, त्यसैले यही समस्याको विषय बनेको छ, क्रमश सुधार गर्दै जान्छौँ।’ उनले जग्गा उपलब्ध भएका ठाउँमा भने सडक अपांगमैत्री नै बनाएको दाबी गरे।

‘ सडकलाई अपांगमैत्री र चौडा बनाउन सबैको साथ चाहिन्छ, सडक बनाउन खोज्दा कसैले एक इन्च पनि जग्गा दिँदैनन्, अनि राम्रो सडक खोजेर हुन्छ?’ उनले उल्टै प्रतिप्रश्न गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.