|

पर्सा : वीरगन्जमा रहेको सुक्खा बन्दरगाहमा कन्टेनर ओसारपसार गर्ने ‘रिचेस्टेकर’ प्रविधि अझै पर्याप्त हुन सकेको छैन। पर्याप्त रिचेस्टेकर अभाव हुँदा आयातकर्ता उद्योगी/व्यापारीहरुले विलम्ब शुल्क (डिटेन्सन चार्ज) तिर्न परिरहेको गुनासो गरेका छन्।

पछिल्लो समयमा सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का प्रिष्टिन भ्यालीले लिएको छ। उपलब्ध रिचेस्टेकरले मात्र प्रभावकारी काम नगरी ढिला हुँदा डिटेन्सन चार्ज तिर्नु परिरहेको आयातकर्ता सुरेश रुंगटाले बताए। पहिलेभन्दा केही सुधार भए पनि रिचेस्टेकर अझै चाहिने उनको सुझाव छ।

‘यहाँ विलम्ब भएर नै मैले माल मगाउँदा पार्टीसँग नै १४ दिनको अतिरिक्त समय माग्न थालेको छु,’ उनले भने, ‘सामान आएपछि १४ दिन नदिने पार्टीबाट सामान मगाउनै छोड्नु पर्ने बाध्यता छ।’

सिस्टमले भने जम्मा पाँच दिनको मात्र समय पाइन्छ। हरेक दिन बन्दरगाहमा आउने कार्गोको संख्या बढ्दै गइरहेको अवस्थामा रिचेस्टेकर संख्या बढाउनुको विकल्प नभएको रुङ्गटाको भनाइ छ। केही पार्टीको र केही भन्सार एजेन्टको कारणले पनि बिलम्व हुने गरेको त छ। तर, बढी विलम्ब रचेस्टेकरको कारणले नै हुने गरेको उनले बताए।

कन्टेनर लोड अनलोड रिचेस्टेकरबाट मात्र 

सञ्चालक कम्पनी प्रिष्टिन भ्यालीले रेल्वे र्‍याकमा आएको कन्टेनरलाई रिचस्टेकरको सहयोगले बन्दरगाहको खाली स्थानमा अनलोड गर्छ। त्यसपछि खाली कन्टेनरलाई रेलमा लोड गरिन्छ। अहिले बन्दरगाहमा कम्तीमा ६ वटा रिचेस्टेकरको आवश्यक छ। तर तीन चारवटा मात्रै रहेको छ। 

व्यापारीहरुको सामान पाँच दिनभन्दा बढी बन्दरगाहको गोदाम र यार्डमै राखे त्यसपछि डिटेन्टसन चार्ज तिर्नुपर्ने वीरगन्ज उद्योग वाणिज्य उद्योगी पूर्वअध्यक्ष समेत रहेका व्यापारी प्रदीप केडियाले बताए। 

बन्दरगाहमा कन्टेनर लोड अनलोड र ओसारपसार गर्न प्रिष्टिन भ्यालीले ल्याएको दुईवटा नयाँ रिचेस्टेकरसहित चारवटा प्रयोग भइरहेको प्रिष्टिन भ्यालीका एड्मिन मेजेजर सुभाशीष अधिकारीले बताए। अझै थप्ने तयारी भइरहेको उनको भनाइ छ। 

तेस्रो मुलुकबाट जहाजमार्फत आएको कन्टेनर भारतको कोलकत्ता पोर्ट हुँदै रेलबाट वीरगञ्जको सुक्खा बन्दरगाहसम्म आइपुग्छ। रेलको र्‍याक आएपछि आठ घण्टाभित्र खाली गरेर पुनः फर्काउनु पर्ने भएकाले प्रिष्टिन भ्यालीले पहिला रेलबाट अनलोड गर्नुपर्ने हुन्छ। यसले पनि गोदामका भएका व्यापारीहरुको कन्टेनर ट्रकमा लोड गर्न केही विलम्ब हुने गरेको व्यापारीहरुको तर्क छ।

चारवटाबाट काम हुँदै

सुख्खा बन्दरगाहमा अहिले पुराना चारवटा रिचेस्टेकर मर्मत भइरहेको नेपाल इन्टरमोडेल यातायात विकास समितिका अधिकृत तर्कराज जोशीले बताए। प्रिष्टिन भ्यालीसँग भएको भारतीय नम्बरको तीन र नेपाली नम्बरको एउटा रिचेस्टेकरले काम गरिरहेको छ। 

इन्टरमोडेलले पनि चारवटा रिचेस्टेकर दिने सम्झौता भएको जोशीले बताए। इन्टरमोडेलसँग भएको चारवटा रिचेस्टेकर बिग्रेकाले मर्मत भइरहेको छ। ती रिचेस्टेकर यसअघिको बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल कम्पनीले बनाएर दिनुपर्ने हुन्छ। 
 
यता, सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले पहिले अलि समस्या भए पनि अहिले भने रिचेस्टेकरकै कारण खासै समस्या नभएको बताउँछन्। रेलको र्‍याक आएकै समयमा अलि थोरै विलम्ब भए पनि त्यस यता खासै समस्यै भने नभएको उनको भनाइ छ।

रबर टायर क्रेन ल्याइने 

नेपाल इन्टरमोडेल यातायात विकास समितिका अधिकृत जोशीले कन्टेनर ओसारपसारका लागि रबर टायर क्रेन ल्याउन गृहकार्य भइरहेको बताए। ‘रिचेस्टेकरले एउटा एउटा कन्टेनर मात्रै ओसार पसार गर्छ। क्रेन आयो भने एकै पटकमा चारपाँचवटा लोड अनलोड गर्न सक्छ,’ उनले भने।

क्रेन ल्याउने कागजी प्रक्रिया पनि अन्तिम चरण पुगेको जोशीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.