|

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ। प्रहरीका अनुसार बम आक्रमणबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ।

उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधन लक्षित थियो। प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो विस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिएका छन्।

अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उनले उल्लेख गरेका छन्।

तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिए। हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकील, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरु नियमितझैं हुने गरेका छन्।

तर यी आक्रमणको कसैले पनि जिम्मेवारी लिने गरेको पाइएको छैन। सरकारले यी आक्रमणहरु अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ।

यसैबीच अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज शहर नजिक सुरक्षाकर्मीसँगको भिडन्तमा चार सुरक्षाकर्मी र तीन जना विद्रोही लडाकूहरु मारिएका छन्। प्रान्तीय परिषदका प्रवक्ता फउजिया जवाद याफतालीले जाखिल खामदानमा रहेको सेनाको जाँच चौकीलाई लक्षित गरी तालिबान समूहले आक्रमण गर्दा दोहोरो भीडन्त भएको जानकारी दिए। उनले भिडन्तमा चार सैनिक र तीन विद्रोही लडाकूको ज्यान गएको पनि बताए। उक्त घटानामा दुई सैनिक र तीन जना विद्रोही घाइते भएका छन्।

अफगानिस्तानमा युद्धरत तालिवान र अफगान सरकारबीच कतारको दोहामा गत सेप्टेम्बरदेखि प्रत्यक्ष वार्ता जारी छ, तर प्रगति निकै सुस्त छ। अमेरिकामा गत जनवरी २० मा आएको राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले गत वर्ष तालिवानसँग अमेरिकाले गरेको शान्ति सम्झौताको समीक्षा गर्ने बताएको छ। अफगानिस्तानमा पछिल्लो समय जारी हिंसाप्रति अमेरिकी प्रशासनले निन्दा गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.