|

भद्रपुर : भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको झापामा जिल्लामा दुईवटा मुख्य नाका छन्। काँकडभिट्टा र भद्रपुर। दुवै नाकामा मूल भन्सार रहेको छ।

जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालय छ। तर, काँकडभिट्टा नाकाबाहेक अन्य नाकाहरू लामो समयदेखि कोरोना भाइरसको महामारीका कारण सरकारले बन्द राखेको छ।

चैत ११ गतेदेखि आवागमन रोकिएका जिल्लाका अन्य नाकाहरू सरकारले अझै खुलाएको छैन। काँकडभिट्टा नाकाबाट मात्र तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न भारत जान दिइएको छ।

जिल्लाका दुई मुख्य नाकामध्ये काँकडभिट्टामात्र खुला राख्दा भद्रपुरलगायत दक्षिणी झापावासीले सास्ती झेल्नु परेको छ। भद्रपुर नाका पनि खुलाउनुपर्छ भनी मेची पुलमा यसअघि पटक पटक स्थानीयले धर्ना दिएका थिए।

तर, सरकारले भद्रपुर नाका पूर्ण रूपमा खुलाउन अहिलेसम्म कुनै निर्णय गरेको छैन। भारतबाट भित्र्याउने सरसामानका लागि मात्र नाका खुला गरिएको छ। सरकारले मुख्य नाकालाई प्राथमिकतामा राखेर खुलाउनुपर्नेमा गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा थप १६ वटा नाका खुलाउने भनी माघ ११ गते निर्णय गरेको थियो।

खुलाउने भनिएका थप नाकाहरूमा जिल्लाको दोस्रो मुख्य नाका भद्रपुर भने परेन। त्यसमा झापाको खजुरगाछी नाका राखियो। विहारको फत्तेपुर नाकासँग जोडिएको गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीमा मेची भन्सार कार्यालय अन्तर्गत आठ मौजा छोटी भन्सार रहेको छ।

सो नाका आइतबारदेखि सञ्चालनमा आएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्लिसिनाले बताए। 'माई पूर्व र माई पश्चिम झापावासीलाई लक्षित सरकारले दुइटा नाका खुलाएको छ। ती दुई नाकाबाट घरायसी सामान किनमेल, नातागोता भेटघाट, खेतीपाती गर्न जान पाइन्छ, अरू नाकाबाट जान पाइँदैन', उनले भने।

भद्रपुरवासी निराश

कोरोना भाइरस संक्रमण फैलिन नदिन बन्द राखिएको भद्रपुर नाका नखुलेपछि भद्रपुर लगायत दक्षिणी झापावासी निराश बनेका छन्। सरकारले काँकडभिट्टापछि खजुरगाछी नाका खुलाउने निर्णय गरेपछि यहाँका बासिन्दा झन् निराश बनेका हुन्।

घरायसी सामान तथा औषधि खरिद वा आफन्त भेट्न भारत जानुपरेमा घुमेर काँकडभिट्टा वा लुकेर चोर बाटो हुँदै भारत जानुपर्ने बाध्यताले थप सास्ती झेल्नु परेको स्थानीयवासी बताउँछन्।

करोडौँ रुपैयाँ लागतमा निर्माण गरिएको मेची पुल सदुपयोग गर्न नपाउँदा स्थानीयलाई समस्या भइरहेको युवा उद्योगी विनय गोयलले बताए। घुमेर काँकडभिट्टा नाका हुँदै भारत जानुपरेको बताउँदै उनले भने, ‘यहाँबाट जानै पाइँदैन, आँखा अगाडी मेची पुल भएको के काम? मेची पुलबाट मान्छे हिँड्न पो बन्देज लगाइएको छ, खोलाबाट सहज रूपमा मान्छे ओहोरदोहोर गरी नै रहेका छन्। कोरोना नियन्त्रणको नाममा सरकारले भद्रपुर नाका बन्द गरेर किन जनतालाई थप सास्ती दिइरहेको छ?' उनले भने।

नेपाल चिया उत्पादक संघका सल्लाहकार जेपी शर्माले पनि सरकारले भद्रपुरलाई जहिल्यै अपेक्षित गरेको बताए। ‘अहिले जिल्लामा दुईवटा मुख्य नाका छ, दुवै नाकामा मूल भन्सार छ, एउटा खोल्ने र अर्को बन्द राख्ने सरकारको निर्णय गलत हो,’ उनले भने, ‘प्रधानमन्त्री आफैँले उद्घाटन मेची पुल सञ्चालन ल्याउन जनस्तरबाटै सरकारलाई दबाब दिनुपर्छ।’ भद्रपुर नाका खुलाउने विषयमा यहाँका जनप्रतिनिधि र सांसदले चासो नदेखाउनु आश्चर्यजनक रहेको उनले बताए।     

भद्रपुरको मेची पुलबाहेक सबै नाका खुला

कोरोना भाइरस संक्रमण फैलिन नदिन बन्द राखिएको भद्रपुर नाका अझै खुलाउने केही पहल गरिएको छैन। भद्रपुरको मेची पुलबाहेक सबै नाकाहरूबाट सहजै रूपमा दुवै देशका नागरिक आवतजावत गरिरहेका छन्।

सरकारले नाका बन्द राख्ने कागजमा निर्णय गरे पनि त्यसको कार्यान्वयन व्यवहारमा लागु भएको नभएको झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले बताए। ‘अहिले मेची पुलबाहेक सबै नाका र ठाउँहरू खुला छ, दैनिक सयौँ मानिस आवतजावत गरिरहेका छन्, तर भद्रपुर नाका बन्द छ, यो कस्तो विडम्बना हो?' उनले गुनासो पोखे।

यस नाकालाई तत्काल खुलाउन पहल गरिदिन उनले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्लिसिना समक्ष अनुरोध समेत गरेका छन्।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टीकाराज ढकालले मुख्य भन्सार रहेको भद्रपुरलाई बन्द राख्ने निर्णय सही नभएको बताएका छन्। भन्सारमा सरसामान आउन दिने तर स्थानीयलाई घरायसी सामान खरिद, आफन्त भेटघाट गर्न जान नदिने निर्णय सरकारले तत्काल सच्याउनु पर्ने उनको भनाई छ।

मूल भन्सार भएको नाकालाई मूल नाकाकै रूपमा सरकारले दर्जा दिनुपर्ने उनको धारणा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.