३ सयवटा यही वर्ष बन्ने, ६ अर्ब रुपैयाँ बजेट निकासा

|

काठमाडौं : सडक विभागले देशभरका १५ सय मोटरेबल पुलमध्ये ३ सय पुलको निर्माण यही वर्ष सक्ने लक्ष्य लिएको छ। उपत्यका लगायतका जिल्लामा अहिले धमाधम पुल निर्माण गरिरहेको विभागका प्रवक्ता शिव हरि सापकोटाले जानकारी दिएका छन्।

प्रवक्ता सापकोटाका अनुसार आवश्यक रहेका विभिन्न स्थानमा नयाँ पुल बनाइँदैछ। कतिपय स्थानमा पुरानो पुल विस्थापित गर्न सट्टा पुल तयार गरिँदैछ।

‘देशभर १५ सय मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन्‌,’ उनले भने, ‘यो वर्ष ३ सय पुल निर्माण सम्पन्न हुन्छ।’

उनका अनुसार उपत्यका बाहिर ओखलढुंगा जिल्लाको मूलघाट–खोटाङ–तलुवा जोड्ने दुधकोशी पुल, घोपाटार-खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदी पुल लगायत पुलहरू चालु आर्थिक वर्ष २०७७/७८ भित्र तयार गर्ने योजना छ।

नारायणघाट–मुग्लिङ सडकमा पर्ने कालीखोला, जुगेडी खोला र खहरेखोला लगायतमा यही वर्षभित्र पुल निर्माण गरिसक्ने विभागको लक्ष्य छ। त्यस्तै, तनहुँको दमौली–झापुटार सडकको मादी खोलामा पनि आगामी असारभित्र नयाँ पुल निर्माण गर्ने विभागको योजना छ। 

उपत्यकाभित्र ५७ वटा पुल निर्माण गरिँदै

विभागले उपत्यकामा ५७ वटा मोटरेबल पुल बनाउने योजना अघि सारेको छ। जस अन्तर्गत काठमाडौंमा ३०, ललितपुरमा १६ र भक्तपुरमा ११ वटा पुल बनाइनेछ।

काठमाडौंको जोरपाटी–साँखु सडकको बागमती नदी, मनमत्ता खोला, चावहिल– जोरपाटी–साँखु सडकको महादेव खोला, संगमचोक–नयाँबानेश्वर अन्तर्गतको धोबीखोला र मनहरा नदीमाथि काठमाडौं–भक्तपुर जोड्ने पुल निर्माण गर्ने विभागका अधिकारीहरूले जानकारी दिएका छन्‌।

त्यस्तै, देवी नगर र मैतीदेवी जोड्ने धोबीखोला पुल, अनामनगरको धोबीखोला पुल, कपन महाँकाल जोड्ने निखिलेश्वर पुल, शंखरापुरको मनमत्ता खोला पुल, कागेश्वरी मनोहराको महादेवखोला पुल, साँखुको घट्टखोला पुल, गोंगबु र टोखा जोड्ने विष्णुमति पुल,तीनठाना कीर्तिपुर जोड्ने बल्खुखोला पुल लगायत निर्माण गर्ने योजना विभागको छ।

यी लगायत दर्जनौं मोटरेबल पुन निर्माण गर्न ६ अर्ब रुपैयाँ बजेट समेत निकासा भैसकेको प्रवक्ता सापकोटाले जानकारी दिए। उनका अनुसार कतिपय पुलहरू टेण्डर लगाएर निर्माण शुरू भैसकेको छ भने अरू निर्माण प्रकृया चरणमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.