हत्यारालाई कारबाही माग्दै खोचलेक बजारमा प्रदर्शन

|

बैतडी : हत्या गरिएको अवस्थामा फेला परेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको मोबाइल भेटिएको छ। मोबाइल घटनास्थल नजिकै भेटिएको हो।  

भागरथीको शव बिहीबार साँझ घरनजिकै रहेको लबलेक जंगलमा बीभत्स अवस्थामा भेटिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर धनगढीबाट मगाएको थियो।

तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेपछि आज दिउँसो किशोरीको मोबाइल भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए।

उनले भने, ‘मोबाइल भेटिएपछि थप अनुसन्धानका लागि सहज हुने भएको छ, कल डिटेललगायत आधारमा अपराधी पत्ता लाग्छ  होला,’ घटनाबारे थप अनसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

बुधबार विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ लबलेक जंगलमा मृत भेटिएकी थिइन्। मृतकका आफन्तले भने बलात्कारपछि हत्या गरिएको दाबी गर्दै आएका छन्। मृतकको शरीरमा घाउ, निलडाम, कपडा च्यातिएको अवस्थामा भएकोले बलात्कारपछि हत्या गरेको भागरथीका काका शिवराज भट्टले बताए। 

किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। ती किशोरी सनातन धर्म मावि श्रीकोटमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन्। 

हत्यारालाई कारबाही माग्दै प्रदर्शन

यसैबीच किशोरीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न प्रदर्शन भएको छ। विद्यार्थी र स्थानीय बासिन्दाले आज खोचलेक बजारमा प्रदर्शन गर्दै महाकाली राजमार्ग अवरुद्ध पारेका थिए।  भागरथीको  न्यायको माग गर्दै राजमार्ग बन्द गर्दै नाराबाजी सहित प्रदर्शन गरिएको स्थानीय भुवन कार्कीले बताए।   

यसका साथै किशोरीको मृत्यु भएको शोकमा दोगडाकेदार गाउँपालिका क्षेत्रभित्रका  शैक्षिक संस्था र कार्यालयहरु बन्द गरिएका थिए।  गाउँपालिकाले  शोकबिदा  गर्ने निर्णय गरेसँगै सबै शिक्षण संस्था र कार्यालयहरु बन्द गरिएका हुन्।  

किशोरीको हत्याको घटनाको राजनीतिक दल र तिनका भ्रातृ संगठनले निन्दा गरेका छन्। नेपाली कांग्रेस, नेकपा, विवेकशील साझा पार्टीले सत्यतथ्य छानबिन गर्दै दोषीमाथि काबाही माग गरेका हुन्। 

निस्पक्ष छानबिन नगरी अपराधीलाई उन्मुक्ति दिने कार्य भए जस्तोसुकै आन्दोलन गर्न पनि तयार  रहेको समेत चेतावनी दिइएको छ। 

अनुसन्धान लागि छुट्टै टोली पठाइयो   

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली  जिल्ला पुगेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेको हो।

अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई खटाइएको छ। जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको हो।  

यो पनि 

 

 


 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.