|

काठमाडौं : सरकारले पत्रकारहरूलाई पनि कोरोना विरुद्धको खोप लगाउने भएको छ।

माघ १४ गतेबाट शुरू भएको भएको खोप अभियानअन्तर्गत हिजोसम्म स्वास्थ्यकर्मीसहित कोरोना महामारी नियन्त्रण गर्न अग्रपङ्क्ति (फ्रन्टलाइन) मा खटिएका कर्मचारीलाई दिइएको थियो। युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको हो।

मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरिसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि (सोमबार) देखि पत्रकार तथा नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूलाई पहिलो चरणमै खोप उपलब्ध गराउने निर्णय लिएको हो।

मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले सोमबारदेखि कूटनीतिक नियोगका विदेशी कर्मचारी, उनीहरूका आफन्त र त्यहाँ कार्यरत नेपाली कर्मचारी र पत्रकारलाई दिने निर्णय गरिएको बताए।

मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीहरूले तोकिएको अस्पतालमा सोमबारदेखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन्।

उपत्यकामा सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा गएर पत्रकारहरूले खोप लगाउन सक्ने डा. अधिकारीले बताए।

मन्त्रालयले पत्रकारहरूका लागि सूचना विभागको प्रेस पास देखाउनुपर्ने बताएको छ। तर, विभागको प्रेस पास नलिएका पत्रकारहरूले सम्बन्धित मीडिया हाउसको प्रेसपास देखाएर खोप लगाउन सक्नेछन्‌। सम्बन्धित संस्थाले खोप शाखामा गएर आफ्नो मीडिया हाउसका पत्रकारहरूको विवरण भने पेश गर्नुपर्ने डा. अधिकारीले बताए।

उनले भने, ‘हामीले पत्रकारहरूलाई पनि पहिलो चरणकै खोप लगाउने निर्णय गरेका छौँ, त्यसको लागि पहिला सम्बन्धित मीडिया हाउसले आफ्नो हाउसमा कार्यरत पत्रकारहरूको विवरण हाम्रो खोप शाखामा भने दर्ता गर्नुपर्ने हुन्छ।‘

सरकारले भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोप लगाइरहेको छ। पहिलो चरणको कोभिड विरुद्धको खोपअन्तर्गत अन्तिम दिन शनिबारसम्म देशभर १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन्।

प्रदेश १ मा २४ हजार २ सय २४, प्रदेश २ मा २५ हजार ६ सय ३७, बागमतीमा ६३ हजार ३ सय ८, गण्डकीमा १८ हजार ४ सय ७२, लुम्बिनीमा २८ हजार ९ सय ४१,कर्णालीमा ९ हजार ४ सय २० र सुदूरपश्चिममा १४ हजार ८ सय ५५ व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने गरी सरकारले योजना अघि सारेको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ।

भारतको सिरम इन्स्टिच्युटमा निर्मित ‘कोभिसिल्ड’ खोप नेपालमा गत १४ गतेदेखि लगाउन थालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.