पीडित विद्यार्थी भन्छन् : शिक्षक मोबाइल अफ गरेर फरार छन्
पीडित विद्यार्थी भन्छन् : शिक्षक मोबाइल अफ गरेर फरार छन्
काठमाडौं : बागबजारस्थित डिटिएच अनलाइन एजुकेशन सर्भिस प्राइभेट लिमिटेडले लोकसेवा आयोगको उपसचिव पदको कक्षा नसकीकन सम्पर्कविहीन भएको भन्दै विद्यार्थीले गुनासो गरेका छन्। डिटिएचले पैसा लिएर कोर्स पूरा नगरी बिना जानकारी सम्पर्कविहीन भएको हो।
थाहाखबरको सम्पर्कमा आएका एक पीडित विद्यार्थीका अनुसार कोभिड –१९ को लकडाउनबीचको दशैँपछि जुमएपबाट लोकसेवाको उपसचिव(प्रशासन) तहको तयारीका लागि पढाउने भनेपछि कोर्स अध्ययनका लागि विद्यार्थी सहभागी थिए। तर २० दिनसम्म पढाएपछि शिक्षक नै फोन अफ गरेर सम्पर्कविहीन भए।
‘इन्सिच्युटसँग ८० दिन पढ्ने सहमतिसँगै मैले १५ हजार पैसा पनि तिरिसकेको थिएँ,’ती पीडित विद्यार्थीले भने,‘२० दिनसम्म पढ्यौँ। त्यसपछि त शिक्षकले नम्बर अफ गरेर सम्पर्कमै आएनन्। भाइबरमा रहेको नम्बरमा फोन गर्दा अफ मात्रै भन्छ।’
अर्का पीडित विद्यार्थीले पनि सम्झौताअनुसार नपढाएर अहिलेसम्म डिटिएच सम्पर्कमा नआएको बताए। ‘म र मेरो साथी मिलेर दुई जनाको २४ हजार पैसा बुझाइसक्यौँ,’उनले भने,‘२० दिन सम्म मात्रै पढ्न पायौँ। १५ प्रतिशत मात्रै पढ्यो। सामान्य प्रशासनले सूचना जारी गरेपछि इन्सिच्युटले पढाएन। सम्झौताअनुसार पढ्न नपाएपछि पैसा फिर्ता गर्न माग गर्याैँ। तर, आनाकानी गर्दागर्दै अहिले डिटिएच सम्पर्कमै छैन।’
उनका अनुसार विद्यार्थीहरूले डिटिएचको पेजमा समेत गुनासो लेखेका छन्। तर, ती इन्सिच्युटले पढाइ रोकिएको तीन महिना पुग्न लाग्दा पनि अहिले केही जानकारी दिएको छैन।
उनले भने,‘पेजमा पनि लेखियो, फोन गर्दा फोन अफ छ। अब कानुनी बाटोमा लाग्ने कि भन्नेमा थियौँ, यो गुनासो तपाईंहरूकोमा आइपुगेछ। अब हामीलाई पहल गरिदिनुस्। पढ्नलाई दुःख गरेर कमाएको पैसा बुझायौँ। तर,पढ्न पाएनौँ।’
विज्ञापनमा झुट प्रचार गरेर विद्यार्थीलाई आकर्षित
ती पीडित विद्यार्थीका अनुसार कक्षा लिनुभन्दा अगाडि डिटिएचको विज्ञापनमा बहालवाला शिक्षकमा सरकारी तहको सचिव तथा सहसचिवहरुले पढाउने भनेर नाम राखिएको थियो। तर, उनीहरूले पढाएनन्।
‘हामीलाई बढी सुरेश अधिकारी, तारानाथ अधिकारीले मात्रै पढाउनुभयो। प्रकाश दाहालको नाम थियो। तर, उहाँले पढाउनुभएन। पूर्व-सचिव चूडामणि शर्मा सरले दुई दिन मात्रै पढाउनुभयो। गोपीनाथ मैनालीले एक-दुई दिन पढाएपछि आउनुभएन। एकजना सचिवको नाम विज्ञापनमा थियो। उहाँले पनि पढाउनुभएन। डिटिएचले धोका दियो।’ थाहाखबरसँग प्राप्त भएको लिष्ट अनुसार ४९ जना पीडित विद्यार्थी रहेका छन्।
के भन्छ डिटिएच?
डिटिएच अनलाइन एजुकेशन सर्भिसका शिक्षक दीपेन्द्र ढुंगानाले थाहाखबरले अर्को नम्बरबाट सम्पर्क गरेपछि अब फेरि कक्षा सञ्चालन गर्ने बताए। उनले भने,‘सामान्य प्रशासन मन्त्रालय निजामतीको लागि रोक्ने सूचना जारी गरेपछि हामीले कक्षा बन्द गरेका हौँ। अबको एक हप्ताभित्रमा फेरि पढाउँछौँ।’
उनका अनुसार कोर्सका लागि १५ हजारका दरले पढाउने सहमति भएको थियो। सबै विद्यार्थीले भने पैसा नदिएको उनको दाबी छ। विद्यार्थीलाई ठगेर किन फरार हुनुभयो? भन्ने हाम्रो प्रश्नमा उनले भने,,‘हामी फरार छैनौँ। जसरी भए पनि विद्यार्थीहरूलाई सम्पर्क गरेर कोर्स सकाउँछौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।