|

इलाम : हिमालको दृश्य रहर पुग्नेगरी हेर्न आधार शिविर जानैपर्छ।

पहाड, पर्वत, हिमाल, सूर्योदय, सूर्यास्त, अन्तरराष्ट्रिय सिमाना र देश-विदेशका शहर दृश्यावलोकन गर्न चाहिँ पूर्वी नेपालको गुफापातल गए हुन्छ।​​​

पहाडकी रानीको उपमा पाएको इलामको सूर्योदय नगरपालिका–४ स्थित नेपाल-भारत सीमाक्षेत्र हो गुफापातल। आधुनिक नेपालको सीमा छुट्याउने मेची मुहानको शीरमै अवस्थित गुफापातलबाट पर्यटकले सूर्योदयदेखि सूर्यास्तसम्मको दृश्यावलोकन गरेर आनन्द लिने गरेका छन्।

समुन्द्र सतहदेखि २ हजार मिटरको उचाइमा अवस्थित गुफापातलबाट कुम्भकर्ण, कञ्चनजङ्घा लगायत हिमशृङखलाका दृश्य आँखैअघि देखिन्छ। विभिन्न आकृतिमा सजिएका प्राकृतिक चुचुराहरूमा कोणधारी धुपी र चियाका हरिया बगानहरूले यहाँ पुग्ने पर्यटकको मन फुरुङ्ग बनाउँछ।

गुफापातलको डाँडोबाट अन्तरराष्ट्रिय सिमाना, मेची नदीको मुहान, नेपाल तथा भारतका पर्यटकीय स्थल र शहरको दृश्यावलोकन गर्न पाउँदा निकै आल्हादित होइन्छ।

सूर्योदय र सूर्यास्तसँगै हिमालमा देखिने दृश्यका कारण गुफापातलको तुलना अन्य गन्तव्यसँग गर्नै नसकिने पर्यटकहरू बताउँछन्‌।

​इलाम सदरमुकाम इलामबजार, फिक्कल, पशुपतिनगर, पर्यटकीय स्थल कन्याम र तराई क्षेत्र प्रष्टसँग देखिने भएका कारण वर्षैपिच्छे गुफापातल आउने पर्यटकको संख्या बढिरहेको छ।

गुफापातलको महत्व यति मात्रैमा सीमित छैन। नेपाल र भारत छुट्याउन कोरिएको सीमा रेखामा पर्ने पर्यटकीयस्थल सन्दकपुर, छिन्टापु, सिमाना बजारका दृश्यले यहाँ पुग्ने जो-कसैलाई आनन्दित बनाउँछ।

भारतको दार्जिलिङका पर्यटकीय शहर मिरिक, कर्साङ, बागडुगरा, सुगौली सन्धी हुनुअघिको नागरी गढी, टिस्टा नदी, दार्जिलिङका थुम्कामा गरिएको चिया खेती मात्रै हैन, बंगालादेशसम्मको दृश्य एउटै डाँडाबाट देखिँदा गुफापातल पुग्ने जो-कोही रमाउँछन्‌ नै!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.