|

काठमाडौं : कोरोना खोपप्रति पूर्ण विश्वास पैदा हुन नसकिरहँदा नेपालमा कोरोना विरुद्धको दोस्रो खोप लगाएका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोलाले आफूमा कोरोना खोपले काम गरेका देखिएको बताएका छन्। 

खोप लगाएको २ हप्तामा आइजीएम एन्टीबडी बलियो हिसाबले पोजिटिभ आएको र अहिले जुन हिसाबले आइजीएम बनेको छ-दोश्रो खोपपछिको केही हप्तामा आइजीजी बलियो हिसाबले बन्ने पक्का भएकाले खोपले राम्रो काम गरेको उनले बताए।

उनले भनेका छन्, ‘एक बर्षमा धेरैपल्ट पीसीआर गरियो, नेगेटिभ नै आयो, एन्टीबडी बन्यो कि भनेर आरडीटी पनि प्रत्येक २ हप्ता जतिमा लगातार गरियो, हरकेपटक नेगेटिभ नै रह्यो, खोप लगाएको दुई हप्तामा आइजीएम एन्टीबडी बलियो हिसाबले पोजिटिभ आयो, जुन हिसाब ले आइजीएम बनेको छ-दोश्रो खोप पछिको केहि हप्तामा आइजीजी बलियो बन्ने पक्का छ। आइजीजी बनेपछि विश्वव्यापी रूपमा फैलिएको कोरोना र अन्य केही भेरियन्टसँग जोगिने पक्का छ, खोपले काम गर्छ, उत्साहित बनौँ।'

नेपालमा सोमबारदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान शुरू भएको छ। कोरोना खोप अभियानको दोस्रो चरणअन्तर्गत पहिलो दिन २ सय २६ पत्रकारले खोप लगाएका छन्।

आज (मंगलबार) पाटन अस्पतालमा संयुक्त राष्ट्रसंघीय निकायमा कार्यरत कर्मचारीहरूलाई खोप दिइँदैछ। त्रिवि शिक्षण अस्पताल तथा शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा राजदूतावास तथा कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूलाई खोप लगाउन थालिएको हो। यो खोप अभियान आगामी शुक्रबारसम्म चल्ने मन्त्रालयले जनाएको छ।​

आइजीएम र आइजीजी एन्टीबडी के हो ?

अहिले धेरै जनाले डराएर खोप नलगाएपनि यो खोपले राम्रो काम गरेको हुँदा ढुक्क भएर खोप लगाउन डा. बाँस्तोलाले अनुरोध समेत गरेका छन्।

उनका अनुसार कोरोना खोपमार्फत हालिएको स्पाइक प्रोटिनका कारण शरीरमा एन्टीबडी बनेको, अब केही हप्तापछि आइजीजी एन्टीबडी बन्ने र खोपको अर्को डोज दिएपछि एन्टीबडी निर्माण क्रम बढ्ने निश्चित देखिइसकेको छ।

इमिनोग्लोबलिन ‘एम' भनेको शरीरमा प्रारम्भिक अवस्थामा निर्माण हुने रोग प्रतिरोधात्मक शक्ति अर्थात एन्टिबडी हो। भाइरस शरीरमा छिरेको खण्डमा शुरूवाती अवस्थामा यो निर्माण हुन्छ। यो केही समय वा महिनासम्म शरीरमा रहन्छ। 

शरीरमा आइजीएम एन्टीबडी निर्माण भएको ६ वा ८ हप्तापछि अर्कै खालको एन्टीबडी बन्न शुरू हुने र जुन लामो समयसम्म शरीरमा रहन्छ। यसलाई इमिनोग्लोबलिन ‘जी’ आइजीजी भनिने र यो आइजीजी एन्टिबडी शरीरमा महिनौं, वर्षौं वा जीवनभर पनि बन्नसक्छ।

यो एन्टिबडी रहेसम्म भाइरसले बिरामी पार्न नसक्ने उनले बताए। 

खोप लगाइसकेपछि ज्वरो आउने र हल्का टाउको दुखेपनि यो सामान्य लक्षण भएकाले डराउनुनपर्ने डा. बाँस्तोलाले बताए।

उनले भने, ‘संक्रमणमुक्त भएकाहरूले पनि खोप लगाउँ, यसले प्रतिरोध प्रणाली बढाउन मद्दत गर्छ, खोप लगाएपछि शरीरमा बन्ने आइजीजी एन्टीबडी लामो समयसम्म बस्ने भएकाले भाइरससँग लड्न मद्दत गर्छ, नभएकाहरूले पनि लगाऔँ।'

अपेक्षा गरेभन्दा कमले लगाए

भारतले १० लाख डोज खोप उपलब्ध गराएपछि सरकारले माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान थालेको थियो। पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी र संक्रमण जोखिममा रहेका १ लाख ८४ हजार ८ सय ५७ जना फ्रन्टलाइनरलाई खोप लगाएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ।

बेलायतको अक्फोर्ड विश्वविद्यालय र भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले संयुक्त रुपमा बनाएको कोभिशिल्ड खोप गत माघ ९ गते भारतले नेपाललाई अनुदान स्वरूप दिएको थियो।

कोभिशिल्डको प्रभावकारिता ७० प्रतिशत रहेको उत्पादक कम्पनीको दाबी गरेपनि धेरैले खोपको विश्वसनियतामाथि प्रश्न उठाइरहेका छन्।

खोप लगाएपछि निम्तिने साइटइफेक्ट धेरै भएको भन्दै धेरैले खोप अभियानमा सहभागिता जनाउन मानेका छैनन्‌। नेपालमा पनि पहिलो चरणमा सरकारले सोधेभन्दा कमले मात्रै खोप लगाएको मन्त्रालयले तयार पारेको विवरणमा उल्लेख छ। 

पहिलो चरणमा कोरोना महामारी नियन्त्रण गर्न फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गरिरहेका सहित ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य राखिएपनि जम्मा १ लाख ८४ हजार ८ सय ५७ जनाले मात्रै लगाएका मन्त्रालयको विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.