|

काठमाडौं : एशियाली मुलुकमा मध्यपूर्वपछि सबैभन्दा बढी चर्चामा रहेको राष्ट्र म्यानमार हो। त्यहाँको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेकाले पनि म्यानमार अर्थात बर्मा चर्चामा रही आएको थियो।

नजरबन्दबाट सुकी मुक्त भएपछि वर्षौंदेखिको सैनिक शासन अन्त्य भयो। दोस्रो पटक गत वर्ष नोभेम्बर ८ मा आम चुनाव भयो। सुकीको दलले निर्वाचनमा जीत हासिल गरेर सरकार चलाइरहेको थियो।

नेशनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) ले ८३ प्रतिशत सिट जितेको थियो। सेनाले आफू समर्थित दलको हार भएपछि निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको थियो।

त्यहाँ गत सातादेखि पुनः सैनिक शासन लागू भएको छ। आङ सान सुकीसहित राष्ट्रपति यू विन मिन्ट लगायत अन्य वरिष्ठ नेताहरूलाई पक्राउ गरेर सेनाले शासन सत्ता कब्जा गरेको हो। 

विश्वका विभिन्न मुलुकले सेनाले शासन सत्ता हातमा लिएपछि विरोध गरिरहेका छन्। त्यहाँ इन्टरनेट सबै बन्द गरिएको छ। आङ साङ सुकीको रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ।

बर्मामा भएको सत्तापलटदेखि सुकीको नजरबन्दसम्मका घटनाले नछुने म्यानम्यारकै नागरिक पनि छन्‌। जसमाथि त्यहाँको सेना र उनै मानवअधिकारवादी तथा प्रजातन्त्रवादी नेतृ सुकीको मिलेमतोमा नरसंहार गरियो र बँचेकाहरूलाई खेदियो। देशबाट खेदिएका ती रोहिंग्या शरणार्थीहरू अहिले बंगलादेशबाट भारत हुँदै नेपालसम्म पनि आइपुगेका छन्‌।

सुकीको दल सरकारमा आएपछि पनि रोहिंग्या मुसलमानहरूमा अत्याचार हुन छाडेन। २०१७ मा त्यहाँ करिब ७ हजार रोहिंग्या मुसलमानहरूको हत्या भयो। लाखौ रोहिंग्याहरू म्यानमार छाडेर भागेका थिए। अहिले उनीहरू विभिन्न देश बंगलादेश, भारत र नेपालमा शरणार्थीको रूपमा बसिरहेका छन्।

नेपालमा रोहिंग्या मुसलमानहरू शरणार्थीको काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको कपनमा बसिरहेका छन्। उनीहरू करिब ३ सयको हाराहारीमा छन्। आङ सुकीको दलले सरकार सञ्चालन गरेको समयमा ती रोहिंग्याहरू बर्माबाट खेदिएका थिए।

शरीरमा भएको एकसरो लुगा लगाएर स्वदेश छाडेका उनीहरू म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि जुनसुकै सरकार आएपनि आफूहरूको जीवन दुःखको सागर बनिसकेको बताउँछन्‌।

हतियारधारी शासक हुँदा स्वदेश फर्कने कल्पना मात्रै

सन्‌ २०१२ मा नेपाल प्रवेश गरेका मोहम्मद ऐयास यतिखेर कपनमा जग्गा भाडामा लिएर टहरा बनाइ बसेका छन्।

जीवनमा चार पटक मुलुक छोडेर भाग्नुपरेको दुखान्त उनले भोगेका छन्‌। शासकको हातबाट नमारिनकै लागि बाल्यकालदेखि वयस्क हुँदासम्म उनी आफ्नो मुलुक छोडेर भागिरहे।

जब आफ्नो समुदायमाथि सत्ताले नरसंहार मच्चायो : त्यसैबेला उनले अन्तिमपटक देश छाडे। अहिले नेपालसम्म आइपुगेर बसेका छन्‌। तर, उनीहरूले शरणार्थीको दर्जा पाउन सकेका छैनन्।

उनीहरूलाई म्यानमारमा सैनिकले सत्ता कब्जा गरेको बारे पूर्ण जानकारी छैन। 'सेनाले सरकार सञ्चालन गर्न थालेको सुनेको छौं, जसले सरकार कब्जा गरेपनि हामी स्वदेश फर्कन पाउँदैनौ, 'उनले भने, 'स्वदेश फर्कन पाउने कुरा सपना मात्र हो, हतियार भएकाहरूसँग सत्ता छ, त्यो त झन टाढाको कुरा हो।'

प्रजातान्त्रिक भनेको सरकारले र शान्तिमा विश्वास गर्ने व्यक्ति सुकीको दल सरकारमा हुँदा जान नपाएको अहिले सैनिकले सत्ता कब्जा गरेपछि मुलुक प्रवेश गर्न झन कठिन हुने उनी बताउँछन्। नेपालमा रहेका रोहिंग्यालाई स्वदेश फर्कने आश मरिसकेको छ।

सुकीलाई विश्वले सम्मान गरेको थियो। उनी प्रजातन्त्रको लागि लडेको थिइन्। धार्मिक रूपमा कम रहेका र अल्पसंख्यक मुस्लिम रोहिंग्या समुदाय पीडित भएका थिए।

उनीहरू दुई वर्षका लागि वार्षिक २ लाख रुपैयाँ तिरेर निजी जग्गा भाडामा लिई बसिरहेका छन्। जग्गाको सम्झौता ६ महिनापछि सकिँदैछ।

'जग्गाको सम्झौता नवीकरण नभए नेपालमा हामी खुला आकाशमुनि पुग्छौं, 'ऐयास भन्छन्‌, 'नेपाल सरकारले अहिले सम्म हामीलाई शरणार्थीको रूपमा मान्न सकेको छैन, बर्माको सरकार आफैंले खेदेको र एक-आपसमा द्वन्द्व गरेर बसेकाले हाम्रोबारे सोच्ने कुरै भएन।'

उनीहरूलाई संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगले दुई वर्षसम्म सहयोग गरेको थियो। नेपाल सरकारले शरणार्थीको मान्यता नदिदाँ शरणार्थीको रूपमा पाउनुपर्ने सहयोग उनीहरूले पाएका छैनन्।

रफिक आलम पनि २०१३ मा नेपाल आए।

सुकीको सरकारले रोहिंग्यालाई बारम्बार झुक्याउने गरेको उनी बताउँछन्। उनले भने, 'सेनाले सत्ता कब्जा गर्नुका पछाडि रोहिंग्या मामिला पनि जोडिएको छ, अल्पसंख्यक रोहिंग्यालाई देशमा पस्नै नदिन सैनिक र सुकीको सरकारबीच प्रतिष्पर्धा भएको हुनसक्छ।'

सुकीको सरकारले विभिन्न प्रलोभन देखाई रोहिंग्यालाई फिर्ता बोलाउने कुरा पनि सुनिएको उनले जानकारी दिए। सैनिकले सत्ता लिएपछि रोहिंग्या फिर्ता हुने कल्पना गर्न नसकिने उनी सुनाउँछन्।

अहिले म्यानमारमा ६ लाखको हाराहारीमा रोहिंग्या रहेको उनले जानकारी दिए। म्यानमारका रोहिंग्याको जीवन सुरक्षित रहनसक्नेमा शंका रहेको उनी बताउँछन्‌।​

रोहिंग्याका लागि नेपाल सुरक्षित स्थान रहेको उनले दाबी गरे। उनीहरू यहाँ आएको झन्डै एक दशक हुन लागेको छ। अहिलेसम्म कसैले केही नगरेकाले यहाँ रहँदा सुरक्षाको अनुभुति भइरहेको उनले बताए। 

२८ वर्षीय मोहम्मद ग्यासुदिन म्यानमारमा रोहिंग्याले मानव इतिहासकै त्रासदी भोगेको र सास्ती पाएको बताउँछन्। सेनाले सत्ता कब्जा गरेपनि अल्पसंख्यक समुदायको मानिसलाई केही राहत नहुने उनको भनाइ छ।

'शान्तिको लागि प्रसिद्ध र प्रजातन्त्र प्राप्तिको लागि लडेको व्यक्ति हुँदा स्वदेश फर्कन पाइएन,' उनले भने, 'हतियार भएका मानिसको हातमा सरकार छ। हाम्रो लागि जुनसुकै सरकार आएपनि हामी शरणार्थी भइसकेका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.