|

बैतडी : बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ।

भागरथीको न्यायका लागि गठित संघर्ष समिति र स्थानीय बासिन्दाले बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो।

घटना भएको १ हप्ता भइसक्दा समेत हत्यारा सार्वजनिक नगरिनुले आशंका पैदा भएको र यथाशीघ्र हत्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरिएको छ।

स्थानीय भोजराज जोशीले भने, 'निर्मला पन्तको जस्तै अनुसन्धान फितलो  नहोस भनी समयमै प्रधानमन्त्रीलाई जानकारी गराएका छाैं।' 

दोषीलाई पत्ता लगाई यथाशीघ्र सार्वजनिक नगरिए आफूहरू जस्तोसुकै आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्। साथै उननीहरूले त्यसबाट निस्कने सबै परिणाम सबै जिल्ला सरकारले लिनुपर्नेसमेत चेतावनी दिए।

यसअघि शान्तिपूर्ण आन्दोलन गरिरहेका भए पनि अबका दिनमा थप सशक्त पारिने समेत जनाइएको छ। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले दोषी छिट्टै पत्ता लाग्ने बताएका छन्।

यता दोषी पत्ता नलाग्दा हदैसम्म्को कारबाही नहुँदासम्म शव नबुझ्ने अडानसमेत भागरथीका परिवारको राखेका छन्। ४ दिन अगाडि जिल्ला अस्पतालमा परीक्षण गरिएको शवलाई उनीहरूले अझै बुझेका छैनन्। 

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते घरनजिकैको जंगलमा बीभत्स र निर्वस्त्र रुपमा मृत फेला परेकी थिइन्।

माघ २६ गते सार्वजनिक पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरेको उल्लेख गरिएको छ।

सफलता नजिक पुगेका छौ : प्रहरी

निर्मलाको जस्तै भागरथीका हत्यारा पत्ता नलाग्ने हो कि भन्ने आशंका पैदा भइरहेको बेला प्रहरीले भने सफलता नजिक पुगको जनाएको छ। सूक्ष्म अनुसन्धान र अध्ययन भइरहेकोले सफलतानजिक पुगेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।  

उनले भने, ‘विभिन्न कोणबाट अध्ययन,अनुसन्धान गरिरहेका छौं, छिट्टै सफलता प्राप्त गर्छौं’, उनले थपे, ‘अनुसन्धान साँघुरिँदै गएको छ, हामी सफलताको एकदमै नजिक छौं,अहिले नै सबै कुरा भन्न मिल्दैन।’

घटनाको थप अनुसन्धानका लागि भागरथीको भजाइनल स्वाब र सबुत प्रमाण परीक्षणका लागि काठमाडौं पठाइएको छ। यसका साथै घटना भएको दिन उक्त बाटो भएर हिँडडुँल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने शंकास्पदमाथि सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ।

भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले घटना अनुसन्धान  गरिरहेको छ।

उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक छन्।

यो पनि  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.