|

धनगढी : सुदूरपश्चिमको कञ्चनपुरमा २०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।

उक्त घटनाले देश हल्लायो। अपराधीलाई कारबाही माग गर्दै लगातार प्रदर्शन भयो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो । अहिले पनि निर्मला प्रकरणलाई लिएर न्यायका लागि दबाब र आन्दोलनका कार्यक्रमहरू भइरहेका छन्।

निर्मलाको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धानको नाममा दुई वर्ष कटायो, तर अपराधीलाई अझै हत्कडी लगाउन सकेको छैन।

अनेक नामका एनजीओ, पीत पत्रकारितामा पोख्त केही मीडियाकर्मीदेखि फेसबुकेहरूलाई निर्मलाको मृत्यु आफूतर्फ अरूको ध्यान खिच्न औजार मात्र भइरहेको छ। 

सुदूरपश्चिममा फेरि निर्मलाकै झैं फेरि अर्को वीभत्स हत्या भएको छ। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत बिहीबार साँझ मृत भेटिइन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भट्टको शव हेरिसक्नु अवस्थामा थिएन। स्थानीय लवलेक जङ्गलमा उनको शव विभत्स अवस्थामा फेला पर्‍यो। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेकी हुन्। 

बलात्कारपछि हत्या

भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ। भट्टको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रारम्भिक अनुसन्धान सन्तोषजनक रूपमा अघि बढेकाले छिट्टै सफलता प्राप्त हुने बताए।

‘घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा अहिलेसम्मको अनुसन्धान सन्तोषजनक रहेको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भने, अनुसन्धानको दायरा साघुरिदै गएकाले छिट्टै हामी परिणाम सार्वजनिक गर्छौं।’

साथीदेखि आफन्तसम्म निगरानीमा

बलात्कारपछि हत्या गरिएकी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले प्रहरीले हत्याको अनुसन्धानका लागि दुई दर्जन व्यक्तिलाई सोधपुछ गरेको बताए।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, नजिकका आफन्त, स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल नजिकबाट हिँडेका व्यक्ति, सवारीसाधन र त्यसनजिकै सम्पर्क भएका फोन र भागरथीको फोनलाई समेत अनुसन्धानको दायरामा ल्याएको जनाएको छ। 

अपराधी नजिक पुगेको प्रहरी दाबी

भट्टको हत्यामा संलग्न व्यक्ति चाँडै कानूनी दायरामा आउने प्रहरीले जनाएको छ।

भट्टको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान साँघुरिदै गएको बताएको प्रहरीले चाँडै सकारात्मक परिणाम आउने जनाएको हो।

निर्मला हत्या प्रकरणको पुनरावृत्ती नहोस भन्ने उद्देश्यले चनाखो भएर काम गरिरहेको र आवश्यक पर्ने सबै प्रमाण जुटाएर मात्र अपराधी सार्वजनिक गरिने प्रहरीको भनाई छ।

किशोरी खोचलेकस्थित सनातन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। उनको बलात्कारपछि हत्या भएको थियो।

उनको शव एकदिनपछि विद्यालय र घरको मध्यभाग पर्ने लवलेक जंगलमा फेला परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.