|

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा खानेकुराको अभाव भएर कुपोषणको समस्या नआएको स्पष्टीकरण दिएका छन्। 

कर्णाली प्रदेशको योजना आयोगद्वारा बहुक्षेत्रीय पोषण योजनाअन्तगर्गत कर्णाली प्रदेश सरकार र सरोकारवाला निकायसँगको अन्तर्क्रियामा मुख्यमन्त्री शाहीले कर्णालीबासीले खाना खाने तरिका सिक्नुपर्नेमा जोड दिए। 

‘कर्णालीमा अहिले सबैभन्दा बढी पोषणको समस्या भएको भनिएको छ’, शाहीले भने, ‘यहाँ खाने कुराको कमी भएर कुपोषण हुनेभन्दा पनि खाने तरिका नजानेर कुपोषण हुने गरेको छ।’

‘कर्णालीबासी आफ्नो बारीमा उब्जनी भएको अर्गानिक मकै खच्चडलाई खुवाउँछन्, अनि बजारबाट पोलिस गरेको चामल खरिद गरेर खान्छन् अनि कसरी पोषण पुग्छ ?’, उनले भने।

उनले पोषणसम्बन्धी खाने तरिकाबारे जनचेतना जगाउनुपर्ने आवश्यकता पनि देखिएको बताए। 

‘भोक लागेपछि खानुपर्छ भन्ने मात्र थाहा हुने तर कति कसरी खाने भन्ने तरिका र ज्ञानको अभाव छ’, शाहीले भने, ‘गाँउबस्तीमा पोषणयुक्त खाना खाने तरिका पनि सिकाउनुपर्ने देखिन्छ।’

पोषणले मानिसको स्वास्थ्य राम्रो भएमा मात्र अन्य विकास हुने भएकाले पोषणसम्बन्धी गम्भीर भएर नीति तथा कार्यक्रमका साथै बजेट ल्याउने मुख्यमन्त्री शाहीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.