|

धनगढी : बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ। 

बैतडीलगायत सुदूरपश्चिमका सबै जिल्लामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ। सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा मुख्यमन्त्री ज्यू ‘वि वान्ट जस्टिस’ को नारा चर्को बन्दै गएको छ।

दैनिकजसो भइरहेका विरोध र प्रदर्शनले प्रदेश मुख्यमन्त्री कार्यालय घेरिन थालेको छ। किशोरीको हत्या प्रकरणका दोषीलाई तत्काल पत्ता लगाएर कारबाही गर्नुपर्ने भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रेका हुन्। घटनालाई तोडमोड, ढाकछोप गरेर दोषीलाई उन्मुक्ति दिन नहुने विद्याथीहरूको भनाइ छ।

मंगलबार धनगढीमा हत्यारालाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन माग गर्दै सुदूरपश्चिमाञ्चल क्याम्पसका विद्यार्थीले मुख्यमन्त्री कार्यालय घेराउ नै गरे। बुधबार त्रिनगर माविको कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले पनि भट्टको हत्यारालाई तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरे।

बिहीबार एश्वर्या विद्या निकेतनका विधार्थीले आँखामा कालो पट्टी बाधेर र्‍यालीसहित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शनमा उत्रिए। यस्तै नगर बाल सञ्जाल धनगढीले पनि दैनिकजसो प्रदर्शन गरिरहेको छ।

सुदूरका अन्य जिल्लामा पनि बालिका र किशोरीमाथि बढिरहेको बलात्कारका घटनामाथि सरकारको ध्यानाकर्षण गर्न नाराबाजी भइरहेका छन्। घटना भएको आठ दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गर्न सकिएको छैन।

यद्यपि सरकार र प्रशासनलाई दोषी पक्राउ गर्न दबाब भने विद्यार्थीहरूले दिइरहेका छन्। प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनाका दोषी पक्राउ नपर्दासम्म मृतकका परिवारले शव नबुझने अडान लिएका छन्।

दोगडाकेदारको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथीको २१ माघमा बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.