|

बर्दिया : आर्थिक अभावका कारण मुक्तकमैया बस्तीका हरिराम थारूलाई टाउकोको प्लास्टिक सर्जरी गर्न समस्या भएको छ। टाउकोमा रहेको प्लास्टिक सर्जरी फुटेको महिना दिन नाघिसक्दा पनि उनले उपचार पाउन नसकेका हुन्‌।​

हरिरामको घर लुम्बिनी प्रदेश सांसद लौटी थारू, वडाध्यक्ष गंगाराम जैसी र कार्यपालिका सदस्य सीताराम लोहारको घर नजिकै छ। शक्ति र स्रोतको नजिक रहेका व्यक्तिहरूको गाउँमै भएर पनि आफूले उपचार पाउन नसक्दा निकै पीडा महसुस भएको उनले बताए। आफूले जनप्रतिनिधिबाट उपचारमा सहयोग हुने अपेक्षा राखेपनि त्यसो हुन नसकेको थारूले गुनासो गरेका छन्‌।

सांसद, वडाध्यक्ष, कार्यपालिका सदस्यको बसोबास रहेको गाउँकै विपन्न समुदायका मुक्त कमैया हरिराम आर्थिक अभावका कारण उपचार नपाएकै कारण प्राण जान्छ कि भनी निकै चिन्तित देखिन्छन्‌।

​ठाकुरबाबा नगरपालिका-५, शाहीपुर मुक्त कमैया बस्तीका ४६ वर्षीय हरिरामलाई भारतमा काम गर्न गएका बेला २०६३ सालमा करेन्ट लागेको थियो। पछि आईएनएफ नामक संस्थाले काठमाण्डौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उनको उपचार गरिदिएको थियो।

अहिले प्लास्टिक सर्जरी फुटेपछि उपचार गर्ने रकम नहुँदा उनको टाउकोको घाउ बढिरहेको छ। टाउकोमा करेन्ट लागेका कारण उनका दुई खुट्टा चल्दैनन्‌। उनी अहिले ह्वील चेयरमा हिँडडुल गर्दै आएका छन्।

वडाध्यक्ष गंगाराम जैशीले उनको अवस्थाबारे जानकार रहेको बताउँदै वडा कार्यालयमा आएर सहयोग मागेको खण्डमा सक्दो सहयोग गर्ने बताएका छन्।

जतिसक्दो चाँडो उपचार नपाए उनको ज्यान जाने खतरा रहेकाले तुरुन्तै उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.