|

बैैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ। गत माघ २२ गते बीभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जंगलमा भागरथीको शव फेला परेको थियो।  

१० दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन्। अनुसन्धानकै क्रममा रहेको अझै पनि बताइरहेको छ। दोषी पत्ता लाग्छ भन्ने कुरा ढुक्क हुन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीको भनाइ छ तर कहिलेसम्म पत्ता लाग्ने भन्ने कुरा खुलाउन चाहेनन्। भने, ‘हिजोअस्तिको भन्दा अनुसन्धान साघुँरिँदै गएको छ,' छिट्टै दोषी पत्ता लाग्छ।’

'घटनाको बृहत र सूक्ष्म अनुसन्धानपछि अपराधी पत्ता लगाउने कुराको नजिक पुगेका छौं,' उनले थपे, ‘विभिन्न कोणबाट अध्ययन र अनुसन्धान गर्दा एकदमै नजिक पुगेका हौं।’

घटनास्थलमा भेटिएका विभिन्न प्रमाणका आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। भागरथीले प्रयोग गरेको मोबाइललगायत प्रमाणले अनुसन्धानमा सहज भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले भने, ‘अनुसन्धान साघुँरिँदै गएको छ, हामी छिट्टै अपराधीलाई सार्वजनिक गर्छौं।’

घटनाको १० दिन ‍भइसक्दा पनि अझै भागरथीको दाहसंस्कार हुन सकेको छैन्। आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन्। गत शनिबार  शव परीक्षण सम्पन्न भए पनि अझै जिल्ला अस्पतालमै छ।

आफन्तले शव बुझ्न नमान्दा अस्पतालमा शव सुरक्षित राख्न समस्या भएको छ। अस्पतालमा शव सुरक्षित राख्ने‘ कर्मचारी नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले बताए।

घटनास्थल तथा भागरथीको शवबाट अनुसन्धानका लागि चाहिने आवश्यक प्रमाण संकलन भइसकेकाले शव बुझ्न प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह  गरेका छन्।

घटना अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ। उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक छन्। 

दोषी पत्ता नलागेको भन्दै यता शान्तिपूर्ण रुपमा आन्दोलन पनि जारी छ। आज जिल्ला प्रशासन कार्यालय अगाडि घण्ट बजाएर प्रदर्शन गरिएको छ। अपराधीलाई यथाशीघ्र पत्ता लगाइ कानुनी कारबाही माग गर्दै शान्तिपूर्ण आन्दोलन कार्यक्रम भइरहेका भागरथी न्यायका लागी गठित संघर्ष समितिका सदस्य महेश दत्त भट्टले बताए।

यसअघि माघ २६ गते दीप प्रज्वलन, २७ गते सिठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, माघ ३० गते थाल ठटाइएको थियो। 

घटनाको दुई दिनसम्म चक्काजामलगायत विरोध प्रदर्शन गरिएको भए पनि प्रहरीले केही दिन आन्दोलन स्थगित गर्न आग्रह गरेअनुसार शान्तिपूर्ण रुपमा प्रदर्शन भइरहेका हुन्। अनुसन्धान गर्न समस्या हुने भन्दै प्रहरीले आन्दोलनमा कार्यक्रम नगर्न आग्रह गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.