हरेक २ दिनमा १ नारी बलात्कृत, अधिकारकर्मी भन्छन्‌ : पीडकलाई उन्मुक्ति दिने काम भयो

|

कैलाली : निर्मला पन्त र भागरथी भट्ट !

बलात्कार गरी विभत्स ढंगले मारिएका यी दुई किशोरीहरूको निधनमा सुदूरपश्चिमसँगै सिंगो देश रोयो। असुरक्षा र दण्डहीनताको कालो दाग चाहिँ सुदूरपश्चिम प्रदेशमै बढी दलिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा २०७५ साउन ११ गत फेला परेको थियो। निर्मलाको हत्यारालाई प्रहरीले अझैसम्म पक्राउ गरेको छैन। 

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट पनि बलात्कारपछि हत्या अवस्थामा माघ २२ गते लवलेक जंगलमा फेला परिन्‌। घटनाबारे अनुसन्धान भइरहेको बताएको प्रहरीले हत्यारा नजिक पुगेको दिनहुँ दोहोर्‍याइरहेको छ, तर पक्राउ गर्न सकेको छैन।

हरेक २ दिनमा १ नारी बलात्कृत

निर्मला र भागरथी मात्रै होइन, सुदूरपश्चिममा बलात्कार र हत्याका घटना दिनप्रतिदिन बढ्दै गएको छ। महिला हिंसाको प्रमुख कारण ठानिएको बहुविवाह र बालविवाहका घटना पनि वर्षेनी बढ्दो मात्रामा रहेको प्रहरी तथ्यांक छ ।

प्रहरीका अनुसार चालु आर्थिक वर्ष ०७७/७८ मा १२१ वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। प्रदेशभित्र हरेक दुई दिनमा औषत एउटा बलात्कारको घटना हुने गरेको छ। जबरजस्ती करणी प्रयासका घटना त गनिसाध्य छैन।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले सुदूरपश्चिममा बढ्दै गरेका बलात्कारका घटना न्यूनीकरण चुनौतीपूर्ण बनेको बताए। प्रदेशको कैलाली र कञ्चनपुरमा बलात्कारका घटना सबैभन्दा बढी भएको उनले बताए।

जनसंख्याको चाप बढी हुनुले तराईका यी दुई जिल्लामा बलात्कार, बलात्कार प्रयास र बहुविवाहका घटना बढी देखिएको प्रहरी प्रशासनको विश्लेषण छ। 

किन बढ्यो बलात्कार ?

दोषीलाई कानुनी दायराभित्र ल्याउन नसक्दा बलात्कारका घटनाले प्रश्रय पाएको महिला अधिकारकर्मीहरूको भनाइ छ। अधिकारकर्मी पुष्पा भट्टले दोषीलाई कारबाहीको दायरामा ल्याउन नसक्दा बलात्कारका घटना बढिरहेको बताइन्‌।

‘देशको कानुन पनि फितलो भयो, कतिपय ठाउँमा जनप्रतिनिधिले नै बलात्कारका घटना गाउँमै मिलाउने गरेको पाइएकाले संलग्नको आत्मबल बढेको छ,’ भट्टले भनिन्‌, ‘धेरैजसो घटनामा दोषीमाथि कारबाही नै हुँदैन, जनप्रतिनिधिले पनि बलात्कारका घटना गाउँमै मिलाउने गरेका समाचार सार्वजनिक हुँदै आएका छन्, बलात्कारी र मिलापत्र गराउनेलाई कारबाही गरेमात्र घटनामा कमी आउँछ।’

पहुँचवाला जोडिएको घटनामा त प्रहरी अनुसन्धान नै पीडकको पक्षमा देखिने गरेको उनी बताउँछिन्‌।

निर्मलाको हत्या : नओभाएको आँशु, नसुल्झिएको प्रकरण

सुदूरपश्चिमको कञ्चनपुरमा २०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।

उक्त घटनाले देश हल्लायो। अपराधीलाई कारबाही माग गर्दै लगातार प्रदर्शन भयो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो ।

अहिलेसम्म निर्मला प्रकरणलाई लिएर न्यायका लागि दबाब र आन्दोलनका कार्यक्रम भइरहेका छन्।

निर्मलाको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धानको नाममा दुई वर्ष कटायो, तर अपराधीलाई अझै हत्कडी लगाउन सकेको छैन। अपराधी अझै गुमराहमै छन्।

सम्झना बलात्कारपछि हत्याकाण्ड 

बझाङको मष्टाँ गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना विश्वकर्माको बलात्कार पछि हत्या गरियो। असोज ७ गते (बुधबार) दिउँसो ५ बजे भैंसीगोठ हिँडेकी सम्झनाको आधा बाटोमै बलात्कार पछि वीभत्स हत्या भयो।

घरबाट आधा घण्टाको दूरीमा रहेको भैंसीगोठ जाने क्रममा नजिकै रहेको (सिममाडौं) मन्दिरभित्र सम्झनाको बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। सम्झनाको हत्या प्रकरणमा संलग्न स्थानिय राजेन्द्र बोहराले हाल कारवाही भोगिहेका छन्।

भागरथी हत्याकाण्ड 

हालै बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते दिउँसो २ बजेसम्म साथीहरूसँगै रमाइलो गर्दै थिइन्।

२ बजेपछि भागरथी कता गइन्, कसैलाई पत्तो भएन। स्कुलका साथीहरूले घर गएको ठाने। घरमा आमा भने छोरी आउने बाटो कुरेर बसिरहिन्।

साँझ छिप्पिसक्दा पनि छोरी घर नआएपछि आमाको मन आत्तियो।

दोस्रो दिन गाउँभरि भागरथी हराएको हल्ला फैलियो। अनेक थरिका शंका उपशंका पैदा भए। उनलाई खोज्न गाउँलेहरू जुटे।

माघ २२ गते बिहीबार साँझ ५ बजे विद्यालयबाट घर फर्किने बाटोको जंगलमा भागरथीको शव भेटियो। शव विभत्स अवस्थामा थियो। 

अहिले उक्त घटनाको अनुसन्धान चलिरहेको छ। भागरथी भट्ट प्रकरणको अनुसन्धान निष्कर्ष केन्द्रित भएको प्रहरीको दाबी छ।

दर्जनभन्दा बढी व्यक्तिहरूमाथि सोधपुछ गरेको प्रहरीले पछिल्लो अनुसन्धान निष्कर्ष केन्द्रित भएकाले चाँडै टुङ्गोमा पुग्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.