|

पर्सा : नेपालमाभन्दा भारतमा डिजेलको मूल्य महँगो भएपछि नेपालमा आइसकेको तेल चोरी गरी उतै लैजाने गिरोह सीमा क्षेत्रमा सक्रिय भएको पाइएको छ। यता, महँगो भए पेट्रोलियम पदार्थ सीमा पारिबाट ल्याउने र उता महँगो भए यताबाट उता लाने उनीहरुको चरित्र नै हो।

अहिले भने यता नेपालमा डिजेलको मूल्य सस्तो हुँदा यताबाट सीमापारि लाने क्रम चलिरहेको छ। सोही क्रममा आइतबार राति डिजेल तेल चोरी गरी भारततर्फ निकासी गरिरहेको समयमा पर्सा प्रहरीले एउटा ट्यांकरसहित तीन अभियुक्तलाई पक्राउ गरेको छ।

रातको समयमा डिजेल चोरी गरी भारततर्फ निकासी गरिरहेको अवस्थामा दशीप्रमाणसहित नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए।

अभियुक्तहरुले डिजेल चोरेर भराततर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो उनले भने। पक्राउ पर्नेहरू वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३४ वर्षीय शम्भुप्रसाद महतो र मकवानपुर जिल्ला रांक्सीरांग गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय अशोक पाख्रिन तथा मनहरी गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षीय रामकृष्ण उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अभियुक्तहरुले ना.७ ख.१५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट भारततर्फ १ हजार ३ सय ६० लिटर डिजेल लाँदै गरेका रहेछन् पर्साका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरिक्षक कुँवरले भने।

ट्यांकरसहित पक्राउ परेका अभियुक्तमध्ये उप्रेती सोही ट्यांकरका चालक, पाख्रिन सहचालक तथा महतो स्वेता आलय ट्रेडर्सको मुन्सी रहेको पनि पर्सा प्रहरीले जनाएको छ। उनीहरुलाई वीरगन्जमा रहेको नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी ) नजिकबाट रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.