|

पर्वत : म्याग्दीको बेनी नगरपालिकामा बस्दै आएकी २२ वर्षीया सुनिता परियार हरेक दिन सबेरै उठेर  भगवानको पूजाआजा गर्ने ठाउँमा राखिएका ओम्खरामा जल फेर्छिन्। भगवानको फोटो टाँसिएको ठाउँमा सुनिताका श्रीमान् २७ वर्षीय अजयको फोटो पनि सँगै राखिएको छ।

भगवानको पूजाआराधना गर्दा उनले एउटै कुरा माग्छिन–‘भगवान् मेरो श्रीमानलाई छिट्टै निको बनाइदिनुहोस्।’ ​अजयका दुवै मिर्गौलाले काम गर्न छाडेका छन्। उक्त कुरा करिब दुई महिना अगाडि मात्रै थाहा भएको थियो।

कम्जोर आर्थिक अवस्थाका कारण समयमै चाकजाँच गर्न नपाउँदा ढिला गरी मात्रै अजयका मिर्गौलाले काम गर्न छाडेको कुरा थाहा भयो। ‘पाँच महिना अगाडि खोक्ने समस्या देखिएको थियो। त्यो बेलामा छातीमा केही भएको होला भन्ने लागेको थियो’ सुनिताले भनिन्, ‘मिर्गौला फेल भएको कुरा त दुई महिना अगाडि मात्रै थाहा भएको हो। तर थाहा भएर पनि उपचार गराउन सकिएको छैन।’

म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको एक सहकारी संस्थामा काम गर्दैआएकी उनको तलबले मात्र अजयको उपचार सम्भवन छैन। मिर्गौलाले काम नगरेको कुरा पनि मामा र केही आफन्तले गरेको सहयोगको भरमा पोखरामा पत्तालागेको हो। त्यसयता सुनिताले श्रीमानलाई बचाउन आर्थिक सहयोगको याचना गर्दै  हात फैलाउँदै आएकी छिन्।

केहीले  गरेको सहयोगबाट मिर्गौलाको परीक्षण र केही औषधि किन्दैमा ६० हजार रुपैयाँ सकिएको उनले सुनाइन्। ‘डाक्टरले एक पटक मिर्गौलाको परीक्षण गरेर हेरौं सकेसम्म डायलिसिस गरेर होला, नभए मिर्गौला नै फेर्नुपर्छ भन्नुभएको छ’ सुनिताले प्रश्न गरिन्,‘बजारमा कोठाभाडा तिर्ने पैसासमेत नभएको मान्छे कसरी श्रीमानलाई बचाउँ ?’ अजयका बुबा–आमासमेत अर्कैको जग्गामा बस्दै आएका कारण घरबाट पैसा लगेर उपचार गर्न सक्ने अवस्था छैन।

आर्थिक सहयोगको लागि जिल्लाका विभिन्न वडा र पालिकामा गुहार मागेपनि अजयको उपचारको लागि सहगोग नजुटेको उनले सुनाइन्। बिरामी हुनुभन्दा पहिले अजयले बेनी बजारमै रहेको एक बङ्गुर फर्ममा बङ्गुरलाई दाना र खाना दिने काम गर्दै आएका थिए। बिरामी परेपछि उनी त्यही काममा पनि जान सकेका छैनन्।

पाँच वर्षको छोरासमेत रहेको उनीहरूको परिवार पालिन नै धौ–धौ परेको बेलामा ठूलो रकम खर्च गरेर उपचार गराउन सक्ने अवस्थामा सुनिता छैनन्। श्रीमानको उपचार गराउन नसकेपछि सुनिताले श्रीमानलाई निको गराउन एउटै भरोसाको रूपमा भगवानलाई मानेकी छिन्।

यही कारण सुनिताले आफूले दैनिक पूजागर्ने ठाउँमा भगवानको फोटोको साथमा श्रीमानको पनि फोटो राखेकी छिन्। ‘आफूसँग श्रीमानको उपचार गर्ने पैसा छैन के गर्ने ? उनले प्रश्न गरिन,‘अब आशा भरोसा भगवानकै छ त्यही भएर भगवानको फोटोसँगै श्रीमानको फोटो राखेर दिनरात प्राथना गरिरहेकी छु।’ श्रीमानको ज्यान जोगाउन भगवानसँग प्राथना गर्नुबाहेक आफूसँग अरू कुनै विकल्प नरहेको उनले सुनाइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.