आयोजनाको काम सुचारु

|

संखुवासभा : संखुवासभाको मकालु –५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्ग बहादुर राईको शव ४ दिनपछि आफन्तले जिम्मा लिएका छन्।

पीडित पक्ष अरुण तेस्रो आयोजना, जयप्रकाश एसोसिएट कम्पनी(जेपी) र स्थानीय सरकारबीच सहमति जुटेपछि सोमबार राईको शव आफन्तले बुझेका हुन्। 

ठक्करबाट मृत्यु भएका राईको परिवारलाई ५२ लाख रुपैयाँ दिने सहमतिपछि शव उठाइएको मृतकका भाइ जितबहादुर राईले जानकारी दिए। टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेम कुमारीको सम्पूर्ण उपचार खर्चसमेत आयोजनाले बेहोर्ने भएको जितबहादुरले बताए।

त्यस्तै मृतक राईका छोराछोरीको पढाइ खर्चको व्यवस्था, परिवारका दुई जनालाई रोजगारी उपलब्ध गराउने, काज किरिया खर्च जयप्रकाश एसोसिएट कम्पनीले उपलब्ध गराउने सहमति भएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। 

वार्तामा गाउँपालिका र स्थानीयले उठाएका माग र आयोजना विकास सम्झौता (पिडिए)मा उल्लेख भएका विषयको कार्यान्वयनको अवस्थाबारे स्थानीय प्रशासन र पालिकामा १० भित्र विवरण बुझाउने सहमति पनि भएको छ। 

पिडिएमा सम्झौता भएअनुसार स्थानीयले पाउने रोजगारी, पूर्वाधार विकास, सामाजिक उत्तरदायित्व निर्वाह नगरेको भन्दै स्थानीय पटकपटक ध्यानाकर्षण गराउँदै आएका थिए।

मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल, एसएपिडिसि सिइओ अरुण धिमान, जेपी कम्पनीका जिएम, नेपाली कांग्रेसका स्थानीय नेता विमन पराजुली र पीडित पक्षबीच भएको वार्तामार्फत सहमति जुटेको हो।

पीडित पक्षसँगको सम्झौतापछि अरुण तेस्रो आयोजनाको काम सुचारु समेत भएको छ। टिपरको ठक्करबाट राईको मृत्यु भएपछि स्थानीयले आयोजना अवरुद्ध पारेका थिए।

टिपरको ठक्करबाट गम्भीर घाईते भएकी राईकी श्रीमती प्रेमकुमारीको काठमाडाैंको हेल्पिङ ह्यान्ड्समा उपचार भइरहेका छ। टिपर चालक काभ्रेको नमोबुद्धका ३० वर्षीय सुवास चौलागाई र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.