|

जाजरकोट : न गतिलो बासको व्यवस्था न त गतिलो पढाइ नै। भवन अभावमा खुला चौरको पडाइ। सौचालयको अभावमा दिसापिसाब गर्न पनि खुला ठाउँकै सहारा लिनुपर्ने। नाम बहुप्राविधिक शिक्षालय तर पढाइ कागजी मात्र।

यहाँ अध्ययनरत विद्यार्थी समस्या नै समस्याले जेलिएका छन्। हिउँदको थरथर कमाउने जाडोमा खुला चौरमा भुइँमा बसेर पढ्नुपर्ने बाध्यता उनीहरूको छ।

सदरमुकामबाट गएको प्रमुख जिल्ला अधिकारीसहितको सरकारी अधिकारीको टोलीलाई विद्यार्थीले आफूहरूले भोग्नुपरेका समस्याको पोको सुनाए। प्राविधिक शिक्षालयका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहितको टोलीलाई विद्यार्थीले खानेबस्ने, दिसापिसाब गर्ने, पढाइदेखि घरबेटीले गर्ने दुर्व्यवहारका समस्याबारे बेलिविस्तार सुनाए। 

‘सिडियो सा'प शौचालय छैन खुला चौरमा दिसापिसाब गर्न सारै गाह्रो भयो’, छात्रा संगीता थापाले गुनासो गरिन्, ‘बिहान र बेलुकी चिसोले बस्न नसकिने दिउँसो हावा चलेमा पढिरहेको ठाउँबाट उडाएर लैजालाझैं हुन्छ।’

स्थानीयले मदिरा सेवन गरेर होहल्ला तथा दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले गुनासो गरे। प्राविधिक शिक्षालय भए पनि अहिलेसम्म किताब रट्ने काम मात्र भएको तर प्रयोगात्मक कक्षा नहुँदा पढाइ प्रभावकारी नभएको विद्यार्थीको गुनासो छ। 

छात्र कमान थापाले नाम मात्रको पढाइ भइरहेको बताए। प्रयोगात्मक कक्षा नहुँदा नाममात्रको प्राविधिक शिक्षा भएको उनको गुनासो थियो। शिक्षालयका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी बरालले विद्यार्थीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाए। 

भेरी नगरपालिकाले छिट्टै भवन बनाएर विद्यार्थीलाई कक्षा कोठामा बस्ने व्यवस्था गरिदिने अधिकृत दलबहादुर घर्तीले बताए। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधु थापाले विद्यार्थीलाई सुरक्षाको प्रत्याभुति दिलाउने आस्वासन दिए।  

बहुप्राविधिक शिक्षालय निर्माणका लागि स्वीकृती दिई कक्षा सञ्चालन भए पनि भवन निर्माणको डिपिआरसमेत बनेको छैन। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.