६ लाख कमिसन नपाएकाले ताला लगाएको व्यवस्थापन समितिको आरोप

|

सुर्खेत : गत आइतबार विद्यालयमा पढाइ भइरहेको थियो। कालीकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम विद्यालय गए। शिक्षक तथा विद्यार्थीले अध्यक्ष बम विद्यालय निरीक्षणमा आए होलान् भन्ने सोचेका थिए। तर, त्यसो भएन्। 

विद्यार्थीहरु कक्षा कोठाभित्र थिए। उक्त भवनमा कक्षा ४ र ५ को पढाइ हुन्छ। अध्यक्षले विद्यार्थीलाई झोला ल्याएर बाहिर आउन निर्देशन दिए। विद्यार्थी बाहिर आए।पछि अध्यक्ष बमले कक्षाकोठामा ताला लगाए। दुईजना विद्यार्थीको झोला त भित्र नै रहेकाले सोमबार झ्यालबाट छिरेर झोला निकाले। अध्यक्षले ताला किन लगाए विद्यालय प्रशासनलाई केही जानकारी दिएनन्।

अध्यक्ष बलमे वडा नम्बर १ खाडास्थित गणेश आधारभूत विद्यालयको दुईवटा कक्षाकोठामा तालाबन्दी गरेका हुन्। बमले कक्षा ४ र ५ मा पढिरहेका बिद्यार्थीलाई कक्षा कोठाबाट बाहिर निकालेर आइतबार दिउँसो ३ बजे तालाबन्दी गरेका विद्यालयका प्रधानाध्यापक सर्पनन्द न्यौपानेले जानकारी दिए। ‘आइतबार गाउँपालिकाका अध्यक्षज्यू दिउँसो ३ बजेतिर विद्यालयमा आउनुभयो। कक्षाकोठामा बिद्यार्थीहरु पढिरहेका थिए। उनीहरुलाई झोला ल्याएर बाहिर आओ भन्नुभयो,’ उनले भने, ‘विद्याथीहरु झोला समातेर बाहिर आए। अनि कक्षाकोठामा ताला लगाउनुभयो। दुईजनाका झोला त त्यही भित्र रहे। किन ताला लगाएको भनेर सोध्दा बोल्नु भएन।’ 

विद्यालय व्यवस्थापन समितिका सदस्य मनप्रसाद न्यौपानेका अनुसार अध्यक्ष बमले दुई कोठे पक्की भवन निर्माण गर्दा ६ लाख रुपैयाँ लिन बाँकी रहेकाले तालाबन्दी गरेको जवाफ दिएका छन्। ‘६ लाख रुपैयाँ जनताबाट लिनुपर्ने हो कि विद्यालयबाट लिनुपर्ने हो। वा ठेकेदारबाट लिनुपर्ने हो त्यो स्पष्ट के हो थाहा छैन,’ उनले भने, ‘उहाँले विद्यालय र उपभोक्ता समिति मिलेर रकम अनियमितता गरेको भन्नुभयो रे। तर, त्यहाँ उपभोक्ता समिति नै गठन भएको थिएन। उहाँले नै छत्र बमलाई भवन निर्माण गर्न ठेक्कामा दिनुभएको थियो।’

विद्यालयमा ताला किन लगाएको भन्नेबारे अध्यक्ष बमलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन। तर, प्राविधिक स्टिमेडअनुसार काम नभएको, उपभोक्ता समिति र विद्यालयको मिलेमतोमा निर्माण भइनसकेको भवनमा विद्यार्थी राखेर पठनपाठन गरेपछि छानविन नहुँदासम्म ताला लगाएको अध्यक्ष बमले विभिन्न सञ्चार माध्यममा प्रतिक्रिया दिएका छन्। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र हमालले विद्यालयको भवन निर्माण गर्दा उपभोक्ता समिति नै गठन नगरेको बताए। ‘अध्यक्ष बमले नै वडा नम्बर ७ का छत्रबहादुर बमलाई ठेक्का दिएर भवन निर्माण गर्न लगाएका थिए,’ हमालले भने, ‘उपभोक्ता समिति नै गठन भएको थिएन अनि कसरी उपभोक्ता समिति र विद्यालयलाई उहाँले आरोप लगाउनुभयो? थाहा भएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.