भरतपुर सिटी हल ओलीले नै शिलान्यास गर्नु बिडम्बना

|

चितवन : ​पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा रहेका ९० प्रतिशत सांसद्‌हरू नै प्रतिनिधि सभा विघटनका विरुद्ध रहेको दाबी गरेका छन्‌। 

हाल चितवनमा रहेका प्रचण्डले आफूले नै कोठामा राखेर ओलीका पक्षका सांसदहरूलाई सोधेको र उनीहरूले गुटमा रहेकाले बोल्न गाह्रो भएको बताएको दाबी गरेका हुन्‌। 

‘केपीजीका पक्षमा भएका प्रतिनिधि सभाका  ९० प्रतिशत सांसदहरू संसद विघटनका विरुद्ध छन्’, दाहालले भने, ‘बिचरा! उहाँहरूलाई बोल्न गाह्रो भएको छ। गुटमा भइयो, गुट भन्ने चिज खतरनाक हो क्या !’

९० प्रतिशत सांसदले केपी ओलीले बर्बाद पारेको भन्ने पक्षमा रहेको उनको दाबी छ। ‘साँच्चै मन परेको छ त तपाईलाई भनेर मैले कोठामा राखेर उहाँहरूलाई सोधेँ’, उनले भने, ‘हुँदाखाँदाको दुई वर्षका सांसद पद गयो, अब जितिने सम्भावना पनि एकदमै कम छ, यो त घात भएको छ भन्ने सबैलाई नै लागेको छ।’

७० वर्ष लडेर आएको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई रक्षा गर्नु पहिलो प्राथमिकता भएको उनले बताए। गणतन्त्रको आन्दोलनलाई अस्वीकार गर्ने व्यक्तिको हातमा नै गणतन्त्रको व्यवस्था पुगेको भन्दै उनले निर्वाचनका बेला बनाइएको घोषणापत्र अनुसार काम गर्न नसकिएको बताए। 

‘संविधानको पक्षधर र राम्रो दिमाग भएका मान्छेहरू संसद विघटन गर्ने कामको विरोधमा छन्’, उनले भने, ‘केपीको समूह बाहेक सबै दलहरू पनि एकमत नै छन्।’

राजनीतिक स्थायित्वकै लागि भनेर तत्कालिन एमालेसँग पार्टी एकीकरणको प्रस्ताव आफूले लगेको उनले दाबी गरे।

भरतपुर सिटी हल ओलीले नै शिलान्यास गर्नु बिडम्बना

जिल्ला समन्वय समिति चितवनको कार्यालय पछाडिको ४ बिघा ४ कठ्ठा जग्गामा निर्माणाधीन सिटी हललाई नेकपाको दुई पक्षले प्रतिष्ठाको विषय बनाएका छन्।

संघीय सरकारको बजेट ८७ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माणाधीन सिटी हलको प्रधानमन्त्री ओलीले माघ १७ गते शिलान्यास गरेका थिए। 

ओलीले शिलान्यास गरेका सिटी हल निर्माण कार्यको आज प्रचण्डले निरीक्षण गरेका छन्। निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सिटी हल नबनाउने पक्षमा रहेका प्रधानमन्त्री केपी ओलीले नै शिलान्यास गर्नु ठूलो कुरा भएको बताए।  ‘विरोधी नै आएर शिलान्यास गर्नु भनेको ठूलो कुरा हो’, उनले भने। 

प्रधानमन्त्री ओलीले सिटी हलको शिलान्यास गर्नु चितवनका जिल्लाका जनताको जित भएको उनले बताए। ‘सिटी हल बनाउने र यसका लागि बजेट राख्ने कुरामा प्रधानमन्त्रीसँग धेरै ठूलो बहस र संघर्ष पर्‍यो’, उनले भने, ‘उहाँ त्यसको (सिटी हल बनाउने) पक्षमा हुनुहुन्थेन, तर अहिले बिडम्बना उहाँ नै आएर शिलान्यास गर्नुभयो। मलाई खुसी पनि छ, नबनाउने मान्छे आएर शिलान्यास गर्नुभयो।’

चितवनबाट नमुना विकासको सन्देश दिनुपर्छ भनेर आफूले निर्वाचन अगाडि नै भनेको उनले बताए। त्यसमा सिटी हल पनि रहेको भन्दै उनले यसको निर्माण प्रकृया अघि बढाउन दुई वर्ष निकै संघर्ष गर्नुपरेको बताए। गोन्द्राङ–पुलचोक ६ लेनको सडक निर्माणमा पनि आफ्नो धेरै नै मेहनत परेको दाहालले दाबी गरे। 

सिटी हलको प्रधानमन्त्री ओली र प्रचण्ड दुवैले शिलान्यास गर्ने योजना थियो। तर पछिल्लो केही महिनायता नेकपा भित्र आन्तरिक द्वन्द्व सिर्जना भएपछि ओली एक्लैले सिटी हलको शिलान्यास गरेका थिए। महानगरको लामो संघर्षपछि मात्रै सिटी हल निर्माण कामले गति लिएको भन्दै ओलीले शिलान्यास गर्ने कार्यक्रममा भरतपुर महानगरपालिकाले भने सहभागिता जनाएको थिएन। 

निर्माणाधीन सिटी हल निर्माण क्रममा अहिले वार फुटिङको काम भइरहेको छ। २७ महिनाभित्र निर्माण सक्ने योजना छ। सिसिटीभीमार्फत सिटी हल निर्माण कामको चौबिसै घण्टा निगरानी गरिएको छ। सिटी हलमा २ हजार र ३ सय क्षमताको २ वटा हल निर्माण हुनेछ। 

प्रचण्डले सोमबार पनि आफ्नो निर्वाचन क्षेत्रमा भएका निर्माण कार्यहरूको पनि निरीक्षण गरेका छन्। जिल्लालाई धुलोमुक्त बनाउने आफ्नो घोषणा अनुसार नै काम भएको भन्दै उनले यहाँको विकास निर्माणको काममा सन्तुष्ट रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.