स्थानीय तहका साना–साना काममा संघले सुँड नपसार्न सुझाव

|

पर्वत : गण्डकी प्रदेश सरकार स्थापना भएको सोमबार तीन वर्ष पूरा भएको छ। प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सव मनाएको छ। 

वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश र संघीय सरकारबीच तालमेल नमिल्दा सोचेअनुसार काम गर्न नसकिएको बताए। देश संघीय शासन प्रणालीमा चले पनि प्रदेश सरकारको स्वायत्ततालाई संघीय सरकारले बुझ्न नसकेका कारण बोलेका काम पूरा गर्न नसकिएको उनको भनाइ थियो। 

‘हामीले पाँच वर्षमा गर्छौँ भनेर बोलेका केही काम अझैं सुरु नै गरेका छैनौं। हामीले नगरेको होइन, नसकेको हो’ गुरुङले भने,‘प्रदेश र संघीय सरकारको स्पिड नै मिलेको छैन।’ सिंहदरबारमा बसेर प्रदेशको अधिकार तलमाथि गर्न खोज्नेहरूको कमी नभएको उनको भनाइ थियो।

केन्द्रबाट चल्ने राजनीति र स्थानीय तहको अभ्यास पहिले नै भएकोले अहिलेको नयाँ भनेको प्रदेश रहेको भन्दै उनले यो कुरा प्रधानमन्त्री, मन्त्री, सचिवलगायत योजनाकारले पनि नबुझेको बताए। गण्डकी प्रदेशले कर्मचारी, स्रोत र साधन चलाउन नसेकेको स्वीकार्दै गुरुङले सबैको साथ रहँदा पनि खासै काम गर्न नसकेको पनि बताए। ‘एक लाखमध्ये ५० हजार कर्मचारी सिंहदरबारमा राखेर हामीलाई काम गर्न किन नदिएको ? भनी उनले प्रश्न गरे।

मुख्यमन्त्री गुरुङले स्थानीय तहका साना–साना काममा संघले सुँड पसार्न नहुने उनको सुझाव छ।  ‘स्थानीय सरकारलाई पनि त माटोको माया छ। यो प्रदेश पनि त नेपालभित्र पर्छ। जे पर्छ सहमतिमा गर भनेको खै ? उनले प्रश्न गरे,‘ अहिले पनि केन्द्रीकृत शासन प्रणाली छ।’ प्रदेशलाई ७–८ प्रतिशत बजेट मात्रै दिएकोमा गुनासो गर्दै उनले बजेट पाए गण्डकी प्रदेशले एसियाकै नमुना गाउँ बनाएर देखाउने दाबी गरे। 

देखिने काम केही छैन : कांग्रेस

वार्षिकोत्सव कार्यक्रम बोल्दै नेपाली कांग्रेस, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले देखिने गरी काम गर्न नसकेको आरोप लगाए।विगतका वर्षमा गण्डकीमा भइरहेका कामहरूप्रति सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा धेरै कुरामा प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले सुझाव दिए। 

देशको केन्द्रीय राजनीतिका कारण प्रदेश सरकारले गर्ने काममा समेत चुनौती आउन सक्नेतर्फ संकेत गर्दै उनले माथिको राजनीति जे भए पनि त्यसको प्रभाव प्रदेशमा नपार्न सुझाए।

गण्डकी प्रदेशलाई देशकै धनी र उत्कृष्ट प्रदेश बनाउने भनिएको भए पनि त्यसअनुसार प्रगति नभएको नेता नेपालीले औंल्याए। तीन वर्षमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने भनिएको भए पनि त्यसले अहिलेसम्म कुनै आकार लिन नसकेको, एक स्थानीय तहमा एक औद्योगिक ग्राम बनाउने भनिएकोमा त्यसमा प्रगति नभएको, पोखरा उपत्यकामा प्रवेश गर्दासाथ प्रदेश सरकार देखिने प्रगति नभएको उनको भनाइ छ।

देश संघीयतामा जाँदासमेत मालपोत र नापी कार्यालयमा काम गर्ने पुरानै शैलीको भएको कारण जनताले संघीयताको महसुस गर्न नसकेको उनले भनाइ थियो। 
‘मालपोत र नापीमा हिजोकै जस्तै बेथिति छ। बिना पैसा काम फटाफट भएको कुरा सुन्न पाइएको छैन’ नेता नेपालीले भने, ‘मालपोत र नापीमा पैसा नतिरी फटाफट काम भएको सुन्न पाइयोस्।’

प्रदेश सरकारले यति जनालाई रोजगारी दियो भन्ने केही नभएकोप्रति पनि उनले चासो देखाए। त्यस्तै, प्राकृतिक दोहन नियन्त्रणमा कुनै प्रगतिको कुरा नदेखिनु, प्रदेशमा धेरै कानुन बनाए पनि कार्यान्वयनको पक्षमा ध्यान नहुनुलगायत पक्षमा पनि उनले मुख्य मन्त्रीको ध्यानाकर्षण गराए। प्रदेशलाई राम्रो र शक्तिशाली बनाउने हो भने कर्मचारीको नियुक्तिका लागि प्रदेश लोकसेवा आयोग बनाएर त्यसैमार्फत कर्मचारी भर्ना गरिनुपर्ने र प्रहरी संगठन राम्रो बनाउनुपर्ने उनको धारणा छ।

आफूहरू कतिपय कार्यक्रममा जाँदा प्रदेश किन चाहियो? भनेर आक्रोशित आवाज आउने गरेको बताउँदै संसदीय दलका नेता नेपालीले यस प्रश्नको जवाफ प्रदेशको सफलता वा असफलतामा नै भर पर्ने बताए। 

यस्तै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश सरकारले नागरिकले सोचेको जस्तो काम गर्न नसकेको स्वीकार गरे। प्राकृतिक दोहन रोक्न तथा प्रदेशमा रहेका कच्चा पदार्थको उत्खनन गरी प्रदेशलाई समृद्ध बनाउने विषयमा सोचे झैं काम नभएको उनको भनाइ छ।

‘युरेनियम, धातु, खनिजलगायतले हामी धनी छौं तर, यसमा खासै काम हुन सकेको छैन’ शेरचनले भने, ‘कानुन बनाएर लगानीकर्तालाई आकर्षित गर्न सक्नुपर्छ। अब आयातमा मात्रै भर पर्ने होइन की प्रदेशमा रहेका सम्भावनाको खोजी गरेर कच्चा पदार्थमा केन्द्रित उद्योगहरू पनि खोल्नुपर्छ।’

तेस्रो वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई विशेष प्रोत्साहन र प्रोत्साहन पुरस्कारबाट सम्मान गर्ने घोषणा गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.