निर्माण कम्पनीलाई कालोसूचीमा राख्‍ने प्रजिअको चेतावनी

|

झापा : निर्माण कम्पनीले नालासहित कालोपत्रे सडक विस्तारको काममा ढिलासुस्ती गरेको भन्दै धुलोपीडित स्थानीय आक्रोशित बनेका छन्। सरकारको सघन सहरी विकास कार्यक्रममाअन्तर्गत झापाको सदरमुकाम भद्रपुरको नालासहित सडक विस्तारका लागि दुई अर्ब लगानी गरेको छ। 

सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाले दुई वटा प्याकेजमा नालासहित सडकको ठेक्का लगाएको छ। लुम्बिनी, गजुरमुखी र एपेक्स काठमाडौँले भ्याटबाहेक ६६ करोड ८६ लाख २६ हजार ३ सय ८ रुपैयाँमा एउटा प्याकेजको ठेक्का लिएको छ भने श्रेष्ठ, रसुवा र एपेक्स जेभी काठमाडौँले भ्याटबाहेक ८३ करोड ८० लाख ९० हजार २३१ रुपैयाँमा अर्को प्याकेजको ठेक्का लिएको जनाइएको छ।

त्यसमध्ये श्रेष्ठ, रसुवा र एपेक्स जेभीअन्तर्गत नगरमा सञ्चालित अधिकांश सडकको काम ढिलासुस्ती भइरहेको पाइएको छ। त्यसको प्रत्यक्ष असर स्थानीयले भोगिरहेका छन्। 

घरअगाडि नाला बनाएर छाडेर निर्माण कम्पनीका ठेकेदार र प्रतिनिधि बेपत्ता भइदिँदा सडक धुलो कारण उनीहरू मारमा परेका हुन्। श्रेष्ठ, रसुवा र एपेक्स जेभीले भद्रपुरको जनता चोकदेखि घोडामारा हुँदै हिडिया पुलसम्मको ४ किलोमिटर कालोपत्रे सडक त्यत्तिकै छाडेका छन्।

निर्माण कम्पनीले २०७४ मङ्सिर १ गते ठेक्का सम्झौता गरेको सो सडक अहिलेसम्म बन्न सकेको छैन। तीन वर्षमा निर्माण कम्पनीले सडक नालाको काम पनि पूरा गरेको देखिँदैन। 

सडक आसपासका स्थानीयले धुलो र हिलो कारण पटक पटक सडक अवरोध गर्दै आए पनि कालोपत्रे सडक निर्माणले अझै गति लिन नसकेको स्थानीयले सागर घिमिरेले गुनासो पोखे।

सडक धुलोको कारण स्थानीय आक्रान्त बनिसकेको बताउँदै घिमिरेले भने, ‘सडक बनाउन दबाब दिन स्थानीयको डेलिकेसन पटक पटक सघन सहरी विकास तथा भवन निर्माण आयोजना र जिल्ला प्रशासन कार्यालय झापा पुगिसक्यो, तर पनि कामले गति लिएन।’ 

स्थानीयको डेलिकेशन पुगेपछि निर्माण कम्पनीले केही दिन काम गरे जस्तो गर्ने र फेरि अधुरो छाडेर बेपत्ता हुने स्थानीय सञ्जय ढकालले बताए। यो सडक खण्ड धुलाबारी–भद्रपुर जोडने मुख्य सडकमा पर्छ, उनले भने, ‘सम्बन्धित निकायकै बेबस्ता कारण निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेकोले स्थानीयले सास्ती झेल्नु परेको छ। निर्माण कम्पनीले राखेको इस्टिमेटसहितको बोर्ड पनि उखेलेर फालिदिएको छ, कहिले सडकको काम सक्नु पर्ने त्यो पनि कसैलाई थाहा छैन,’ उनले भने।’

निर्माण कम्पनीको लापरबाहीका कारण वडाबासी सास्ती झेल्नु परेको बताउँदै भद्रपुर नगरपालिका ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले भने, ‘यस विषयमा वडा कार्यालयले पनि सम्बन्धित निकायलाई मौखिक र लिखित रुपमा पटक पटक ध्यानाकर्षण गराइसकेको छ।’ ‘काम नगर्ने यस्ता निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही अघि बढाउनु पर्ने हो,’ उनले भने।

निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी   

श्रेष्ठ, रसुवा र एपेक्स जेभीले नगरमा सञ्चालित नालासहित सडक विस्तार कामको ६५ प्रतिशत मात्र सम्पन्न गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाका प्रमुख राजेन्द्र खतिवडाले बताए।

थप भएको म्याद अवधिमा पनि श्रेष्ठ, रसुवा र एपेक्स जेभी जेभीले काम सम्पन्न गराउन कुनै चासो नदेखाए कालो सूचीमा राख्ने चेतावनी दिइसकेको प्रमुख खतिवडाले बताए। २०७७ माघ १० गते आयोजनाले पत्रिकामै सूचना निकालेर यस्तो चेतावनी दिइसकेको उनको भनाइ छ।

सूचनामा भनिएको छ, निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरी अलपत्र छोडिराख्दा स्थानीयवासीले व्यहोर्नु पर्ने कठिनाइ, धुवाँ, धुलो साथै सरकारी पक्षलाई समेत आर्थिक व्ययभार बढ्दै जाने देखिएकोले ठेक्का सम्झौता अन्त्य गरी वैकल्पिक व्यवस्था मार्फत कार्य सम्पन्न गराउनुपर्ने स्थिति उत्पन्न हुँदै गएकोले सम्झौताअनुसार आवश्यक कारबाही प्रक्रियामा किन अघि नबढाउनुपर्ने हो कुनै कारण भए कारण र कार्य सम्पन्न गर्ने स्पष्ट कार्य योजनासहित जेभी फर्मका प्रत्येक व्यक्ति आफ्नो प्रोजेक्ट मेनेजर लिई सात दिन भित्र यस आयोजनामा सम्पर्क राख्नु होला अन्यथा सार्वजनिक खरिद ऐनको दफा ५९ को उप दफा ७ र ८ र ठेक्का सम्झौताको बुँदा ५७ अनुसार ठेक्का सम्झौता अन्त्य गरी निर्माण व्यवसायीलाई कालोसूची राख्न लेखि पठाइने र थप आवश्यक कारबाही अघि बढाइने जानकारी गराइन्छ। 

६ महिनाभित्र काम सक्ने सहमति 

आयोजनाले कालोसूचीमा राख्ने सूचना जारी गरेसँगै श्रेष्ठ, रसुवा र एपेक्स जेभी र आयोजनाबीच सहमति भएको छ।

थप ६ महिनाको समय अवधिभित्र प्याकेजमा परेका सबै काम सम्पन्न गर्ने सहमति भएको आयोजना प्रमुख खतिवडाले जानकारी दिए।

एक वर्ष थप भएको म्यादमा समेत निर्माण कार्य सम्पन्न नभएको, कार्य सम्पन्न गर्ने गरी निर्माण सामग्री, मेसिनरी उपकरण आदि उपलब्ध गराई निर्माण कार्य सम्पन्न गर्नेतर्फ पहल गरेको देखिएको र योजना सञ्चालन भएको क्षेत्रको लाभग्राहीहरू, योजना सञ्चालन रहेको भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरूबाट निर्माण कार्य सम्बन्धमा बारम्बार गुनासो प्राप्त भएको बैठकमा छलफल भएको छ। 

अन्तिम पटक २०७७ मङ्सिर १० गते सम्म म्याद थप भएको मिति समेत समाप्त भएको हुँदा छिटो कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले मङ्सिर १८ गतेदेखि योजना स्थलमा आवश्यक पर्ने जनशक्ति, निर्माण सामग्री र मेसिनरी उपकरणको  व्यवस्थापन गरी बाँकी कार्य सम्पन्न गर्ने स्पष्ट कार्य योजना पेस गरी तत्कालै बाँकी कार्य सम्पन्न गर्नुपर्ने अन्यथा यसै माइन्युटलाई आधार मानी ठेक्का सम्झौताअनुसार आवश्यक प्रक्रिया बढाउन सहमतिसहित निर्णय भएको आयोजना प्रमुख खतिवडाले बताए।

बैठकमा आयोजना प्रमुख खतिवडा, लेखा अधिकृत दयाराम काफले, इन्जिनियर अर्जुन महतो कशवाह, श्रेष्ठ, रसुवा र एपेक्स जेभीका अध्यक्ष सुवास श्रेष्ठ, निर्माण व्यवसायी सङ्घ झापाका अध्यक्ष मिलन बस्नेत, नायव सुब्बा प्रदीप दाहाल, प्रोजेक्ट मेनेजर विवेक कार्की, निर्माण कम्पनीका इन्जिनियर विवेक दाहालले सो निर्णयमा हस्ताक्षर गरेका छन्।

अहिले निर्माण कम्पनीले भ्याट बाहेक ७४ करोड ८७ लाख ९० हजार रुपैयाँ लगिसकेको छ। कोभिडका कारण थप गरिएको ६ महिनाको समय अवधिमा निर्माण कम्पनीले सबै काम सक्नु पर्ने आयोजना प्रमुख खतिवडाको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.