विदेशमा ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति लिनै सास्ती

|

काठमाडौं : रौतहटको गढीमाई नगरपालिका-३ का लालबाबु पासवान एउटै कामका लागि चार पटकसम्म काठमाडौं आइसकेका छन्‌। तराईका मानिस विशेष काम पर्दा, वैदेशिक रोजगारका लागि या अदालतमा मुद्दाको तारिख दिन काठमाडौं आउने गर्छन्।

तर, पासवानले माथि उल्लेखित काम परेर काठमाडौं धाउनुपरेको होइन। रोजगारी खोज्दै विदेश जाँदा त्यहीँ ज्यान गुमाएका भाइकोल आर्थिक क्षतिपूर्ति पाउने आशामा वर्षमा एक पटक काठमाडौं आउने उनको अनिवार्य रूटिन जस्तै बनिसकेको छ। हरेक वर्ष नारायणहिटी राजदरबार (हाल संग्रहालय) को दक्षिणी भागमा अवस्थित कन्सुलर विभाग आउनु उनको बाध्यता हो।

उनी क्षतिपूर्तिरकम कहिले पाइन्छ भन्दै सोध्न आउँछन्। उनले विभागबाट सधैं एउटै जवाफ पाउँछन्‌, 'प्रकृया अघि बढाइएको छ।'

लालबाबुको माइलो भाइ लखिन्द्र पासवान ६ वर्ष पहिले कतार गएका थिए। त्यहाँ उनी लेबर काम गर्थे। उनको भाइको ड्युटी स्थलमै मृत्यु भएको थियो। कतार गएको करिब २ वर्षमै भाइको मृत्यु भएको पासवान बताउँछन्।

कम्पनीले अहिलेसम्म मजदुरले मृत्यु पश्चात पाउने क्षतिपूर्ति स्वरूप रकम उपलब्ध गराएको छैन। मृत्यु भएको एक वर्षपछि कतारको श्रम अदालतमा नेपाली दूतावासले पासवानको तर्फबाट कम्पनी विरुद्ध मुद्दा दर्ता गर्‍यो। अदालतले मृतक पासवानको पक्षमा निर्णय गरेको थियो।

अदालतले २ लाख कतारी रियल सहितको क्षतिपूर्ति दिनु भनी निर्णय गरेपनि हालसम्म उक्त रकम नपाएको उनले गुनासो गरे। उनी भन्छन्‌, ' कन्सुलर विभाग आउँदा क्षतिपूर्ति लिन दूतावासले पहल गरिरहेको छ भन्छन्। मुद्दा जितिसकेपछि पनि रकम नपाएपछि सरकारले पहल गरेको भन्ने कुरामा अचेल विश्वास लाग्दैन। दूतावासले पहल गरिरहेको मात्र आश्वासन पाइरहेको छु।'

उनले हालसम्म १० लाख रुपैयाँ पाएका छन्। बीमाको ७ लाख र वैदेशिक रोजगार बोर्डबाट ३ लाख रुपैयाँ पाएका थिए।

क्षतिपूर्ति प्राप्त गर्न काठमाडौं आउँदा हरेक पटक कम्तिमा ५ हजार रुपैयाँ खर्च हुने गरेको उनले बताए।

बलरामको काँधमा भाइका दुई छोरीसहित १५ जनाको लालनपालन गर्नुपर्ने जिम्मेवारी छ। विदेशमा भाइको मृत्यु भएपछि सिंगो परिवारकै जिम्मेवारी उनको काँधमा छ। 

दूतावासले वास्तै गरेन

बलरामको जस्तै समस्या लिएर काभ्रेका रेसमबहादुर लामा पनि कन्सुलर विभाग आइरहन्छन्।

युएई गएको पाँच महिनामै उनकी साली कृष्णमाया लामाको मृत्यु भएको थियो। आफन्तको क्षतिपूर्ति पाउने आसमा सात वर्षदेखि उनी काठमाडौंमा निरन्तर धाइरहेका छन्।

कृष्ण सन्‌ २०१३ मा गएकी युएई गएकी थिइन्। प्रोफेसनल सेक्युरिटी कम्पनीमा गार्डको रूपमा कार्यरत थिइन्। उनको पनि काम गरेकै ठाउँमा मृत्यु भयो।

युएईस्थित नेपाली दूतावासले कृष्ण मायाको पक्षमा मुद्दा लडेको थियो। अदालतले उनको पक्षमा निर्णय गरेपनि अहिलेसम्म क्षतिपूर्ति उपलब्ध नगराएको रेशमले जानकारी दिए।

'मृतकको पक्षमा निर्णय गरेपनि आवश्यक कागजात पुर्‍याउन नसक्दा हामीले राहत पाउन सकेका छैनौं,' उनी भन्छन्‌, ' दूतावासले हामीलाई नजिकको आफन्तको कागजात मागेको थियो र उपलब्ध गराउँदा पनि अहिलेसम्म पाउन सकेका छैनौं।'

युएईस्थित दूतावासमा सम्पर्क गर्दा पनि केही प्रतिक्रिया नजनाएको उनले गुनासो गरे। 'कन्सुलर विभागमा आएर भन्दा प्रकृया अगाडि बढिसकेको आश्वासनमात्र दिन्छन्,' लामाले भने।

विदेशमा ज्यान गुमाएका २०० कामदारले क्षतिपूर्ति पाएनन्‌

'विदेशबाट मृतकले क्षतिपूर्ति नपाउनुको मुख्य कारण कागजात नमिल्नु र रोजगारदाता कम्पनीले क्षतिपूर्ति दिनलाई आनाकानी गर्नु पनि हो,' परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर विभागका निर्देशक जंगबहादुर गुरुङ भन्छन्‌, 'कम्पनी बन्द गरेर सम्पर्कविहीन भएको अवस्थामा मृतकका आफन्तले क्षतिपूर्ति पाउन ढिलो भइरहेको छ।'

विभागले पीडितहरूको कागजात सम्बन्धित मुलुकको दूतावासमा पठाउने गर्छ। खाडी क्षेत्रका विभिन्न मुलुकमा ज्यान गुमाएका करिब २०० नेपाली कामदारको क्षतिपूर्ति पाउन नसकेको उनले जानकारी दिए।

सबैभन्दा बढी साउदी, कतार र युएईमा मृत्यु भएका मृतकले क्षतिपूर्ति पाउन बाँकी रहेको गुरुङको भनाइ छ। महिलाभन्दा पुरुषको मृत्यु बढी भएको र क्षतिपूर्ति पाउन बाँकी रहेको उनले जानकारी दिए।

मृतकका आफन्तले क्षतिपूर्ति बापत पाउने रकम लिनका लागि काठमाडौं आउन नपर्ने उनको दाबी छ। 'मृतकका आफन्तले जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिपूर्ति पाइरहेको छन्,' उनी अगाडि थप्छन्,' साउदीमा मृत्यु भएका कामदारका हकमा उताको बीमा कम्पनीले हुलाकमार्फत मृतकको ठेगानामा क्षतिपूर्ति पठाउने गरेका छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.