प्रहरीले पनि हत्या वा बलात्कारपछि हत्या भएको खुलाउन सकेन

|

बैतडी : दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले स्थानीय सोही गाउँका दिनेश भट्टलाई सार्वजनिक गरे पनि आफन्तले भागरथीको शव बुझ्न अस्वीकार गरेका छन्। 

प्रहरीले आज पत्रकार सम्मेलन गरी अन्दाजी १८ वर्षका भट्टलाई भागरथी हत्यामा संलग्न रहेको भनी सार्वजनिक गरेको हो। 

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुसन्धानबाट अभियुक्त समात्न सफल भएको बताए।

अनुसन्धान सुरु गरेदेखि नै ती व्यक्ति निगरानीमा थिए, सोधपुछ गर्दै जाँदा अन्तिममा उसले अपराध स्वीकार गरेको जनाइएको छ। आरोपितको बारम्बारको बयान बाझिएको र उसले गरेको गतिविधिले पुष्टि गरेको हो।

'शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा  आरोपितलाई समातेका हौं,' पत्रकार सम्मेलनमा डिआइजी सुवेदीले भने, ‘आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौं।’

भागरथीको पोष्टमार्टम रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि दिनेशले भने आफूले बलात्कार नगरेको बयानका क्रममा बताएका छन्। प्रहरीले पनि हत्या हो वा बलात्कारपछि हत्या भएको खुल्न नसकेको जनाएको छ।

'घटना अनुसन्धान क्रममै रहेकाले अहिले नै सबै कुरा सार्वजनिक गर्न मिल्दैन,' सुवदीले भने, ‘मृतकको स्वाब परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको र  रिपोर्ट आएपछि त्यो कुरा पुष्टि होला।’

भागरथीले नै अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जंगलमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको पत्रकार सम्मेलनमार्फत जनाइएको छ।  

भागरथीको हत्या गर्ने पूर्वयोजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट मृतकभन्दा अगाडि गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान दिएको सुवेदीले बताए।  पुरानो घरायसी रिसिइबीका कारण आफूले भागरथीको हत्या गरेको दिनेशले प्रहरीसमक्ष बताएका छन्।  

कर्तव्य ज्यान र बलात्कारसम्बन्धी जाहेरी दर्ता 

मृतक भागरथीका दाजु शंकर भट्टले आज  दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

दिनेशलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ। 

प्रहरीले दिनेशलाई नै अपराधि हो भनेर पक्राउ गरेपछि आफूले जाहेरी दिएको शंकरले बताए।  उनले भने‘दिनेश एक्लैले त्यतीसम्म गर्यौ होला भन्ने विश्वास  त छैन, प्रहरीले अपराधि त्यही हो भनेपछि हामीले जाहेरी दिएका हौं।’ 

घटना अनुसन्धानका लागि डिआइजी सुवेदीसँगै, एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलगायत टोली खटिएको थियो। 

आफन्तद्वारा अझै पनि शव बुझ्न अस्वीकार 

प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव नबुझ्ने बताएका छन्। शव बैतडी अस्पतालमै छ। अपराधी भनेर प्रहरीले सार्वजनिक गरिएका दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग छ।

'दिनेशले  हत्या मात्रै गरेको स्वीकारेको छ तर पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ,' भागरथीका काका शिवराजे भने, ‘पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारी पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौं।’

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जंगलमा निर्वस्त्र र बीभत्स अवस्थामा शव फेला गरेको थियो। 

यता भागरथीको शव भेट्टिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले  प्रहरीले चित्तबुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आपत्ती जनाएका छन्।  भागरथी भट्टको न्यायका लागि गठित संघर्ष समितिका संयोजक निशा भट्टले  दिनेश नै अपराधमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताइन्।  

यस्तै संघर्ष समितिका सदस्य भोजराज जोशीले हत्यारा पत्ता लागे पनि बलात्कारी पत्ता नलागेको बताए। उनले भने, ‘यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन, बलात्कारी पनि सार्वजनिक गर्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.