|

जुम्ला : जुम्ला जिल्लाको मुटु भनेर चिनिने चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बाइखेत नामको आयोजनाको रकमले आफ्नै भाइ वीरेन्द्र मल्लको खेतमा घेरबार गरेको पाइएको छ।

नगरसभाले पारित गरेको ५ लाख रुपैयाँ बजेट खर्च गरी मेयर सेजुवालले आफ्ना माइती पर्ने मल्ल परिवारको व्यक्तिगत जग्गामा घेरबार गरेकी हुन्‌। सभामा मेयर उपमेरले बजेट प्रस्ताव पारित गरी आफू मातहत आयोजना विकास निर्माणका लागि दिने गरको जुम्लाका नागरिकले बताएका छन्‌।

नगरपालिकाको ५ लाख बजेटले घेरबार गरेको खेत वीरेन्द्र मल्ल परिवारकै भएको ४ वडाका स्थानीय बजिर सार्कीले बताए। ‘त्यो ठाउँमा थोरै जग्गा नगरपालिकाको पनि छ, तर नगरपालिको जग्गामा नभएर मल्ल परिवारको जग्गामा ग्याभिन हालिएको छ। यो सरकारी बजेटको सरासर दुरूपयोग हो,' उनले भने, २०४३ सालमा तीर्थराज भारती गाविसमा हुँदा त्यहाँको केही जग्गा गाविसको नाममा नापिएको थियो, त्यस जग्गामा सिंचाई कार्यालयले पानी ट्यांकी बनाएको छ।’

अहिले त्यो ट्यांकीको नाममा नगरपालिकाले बजेट दुरुपयोग गर्ने ठाउँ पाएको हो। ट्यांकीमा पानी भने छैन। सरकारी बजेट खर्च गरी जमिन त तारबार गरिएको छ, तर पानी ट्यांकी भने तारबारभन्दा बाहिर नै पारिएको छ।

मल्ल परिवारको जग्गा घेरबार गर्नका लागि मेयर सेजुवालेले नियतवश बजेट विनियोजन गरेको आयोजना भएको चारवडाका स्थानीय बताउँछन्‌। मेयरजस्तो जिम्मेवारी व्यक्तिले सरकारी बजेट दुरुपयोग गरेको भन्दै त्यहाँका स्थानीय आक्रोशित भएका छन्‌। 

अर्का एक स्थानीयले जानकारी दिएअनुसार मेयर सेजुवालले आफन्त नै पर्ने मीनबहादुर थापाको जग्गा घेरबार गर्न पनि ग्याभिन जाली दिएको छिन्‌। नगरको विकास निम्ति विनियोजन गरिएको बजेट यसरी व्यक्तिको नाममा मेयरले सक्ने काम गरेको उनीहरूको आरोप छ।

चन्दननाथ नगरपालिका-४ का वडाअध्यक्ष जगदीश चौलागाईंले पनि व्यक्तिको जग्गामा घरबार भएको स्वीकारेका छन्‌। उनले भने, 'वडाको बजेट होइन, नगरपालिकाको बजेटको आयोजना हो, अध्यक्ष चौलागाईंले भने आफूले अनुगमन गर्न गएकै छैन।'

मेयर सेजुवालले भने नगरपालिकाको बजेटले नगरपालिकाकै जग्गामा घरबार गरेको बताइन्‌। उनले त्यो जग्गा कुनै व्यक्तिको नभएर नगरपालिकाकै जग्गा भएको दाबी पनि गरिन्‌। उनले भनिन्‌, ’नगरको जग्गामा भएको सिंचाई ट्यांकी संरक्षण गर्न ५ लाख रुपैयाँ बजेट पारित गरिएको बताइन्‌। उनले ५ लाख रुपैयाँभन्दा तलका आयोजनाको अनुगमन गर्ने अधिकार वडा अध्यक्षलाई नै भएकाले रकम अनुसारको काम भए नभएको बारेमा थाहा नभएको बताइन्‌।

​चन्दननाथ नगरपालिकाको-५, लाख रुपैयाँको बजेटले व्यक्तिको खेतमा शुरू गरिएको बाइखेत नामको आयोजनाको काम १ लाख बराबर पनि भएको देखिँदैन। त्यही खेतको एक साइटतर्फको भागमा घेरबार गरिएको छ। तर, नगरपालिकाले ५ लाख रुपैयाँको आयोजनाको सम्पन्न भएको भनी भुक्तानी दिएको चन्दननाथ नगरपालिकाका कार्यकारी अधिकृत तीर्थराज पौडेलले बताए।

उनले भने, 'अनुगमन समितिले अनुगमन गरेरै भुक्तानी भएको होला, तर लेखा शाखाले बाइखेतको ५ लाखको आयोजनाको काम सकिएर कार्तिक ७ गते ५ लाख रुपैयाँ भुक्तानी गरिएको छ।’

यसरी नगरमा आएको बजेट दुरुपयोग गर्न लाग्दा सरोकारवाला निकाय खबरदारी गर्नको साटो संरक्षण गरिहेको स्थानीयको भनाई छ। मेयर सेजुवालमार्फत निर्माण भएको बाइखेत नामको आयोजनाको उपभोक्ता समिति गठन गरिएको थियो। उपभोक्ता समितिमा बसेर घेरबार निर्माणको काम धनकृष्ण नेपालीले जिम्मा लिएको नगरपालिकाले जनाएको छ।

विकास निर्माणका लागि आएको बजेटले आफ्ना आसेपासेका जग्गा घेरबार गरेको नागरिकको गुनासो छ। अनुगमन समितिका संयोजक उपमेयर अप्सरादेवी न्यौपाने (हमतले) आफूले अनुगमन गरेको बताइन। उनले भनिन्‌ 'नगरका कुनै पनि आयोजनाहरूको रकम अनुगमन नगरेसम्म भुक्तानी नदिने भन्ने नगरपालिकामा निर्णय भएको छ।' ​बाइखेत आयोजनाको ५ लाख रुपैयाँ रकम भुक्तानी गरेबारे भने आफूलाई जानकारी नभएको उनले बताइन्‌। 

यता, मेयर सेजुवालका भाइ वीरेन्द्र मल्लले घेरबार गरेको जग्गा आफ्नो नभएर नगरको भएको बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.