|

सिर्जना अधिकारी

लमजुङ : लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। सिभिल संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले आगामी वैशाखबाट विद्युत् उत्पादन गर्ने तयारी गरेको हो।

अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी र त्यसपछि विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै जारी लकडाउनको प्रभावका कारण एकवर्ष बढी समय लगाएर आयोजना निर्माण सम्पन्न हुन लागेको हो। 

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवर्द्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन सो आयोजनामा हेडबक्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकललगायत अन्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ। निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा अव एक महिना भित्रै परिक्षण उत्पादन गर्ने तयारी भएको आयोजना प्रवद्र्धक राजेन्द्र बस्तीले बताए।

२०७१ असोजबाट निर्माण थालिएको सो आयोजना गत चैत मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माण कार्य प्रभावित हुँदै आएको छ। अघिल्लो वर्षको वैशाखमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सो आयोजना अन्तिम चरणमा पुगेसँगै कोभिड–१९ को जोखिम र तत्कालीन समयमा भएको लकडाउनले थप प्रभावित भएको थियो।

उत्पादित विद्युत् दोर्दी कोरिडोरमा निर्माणाधीन १३२ केभी राष्ट्रिय प्रशारण लाइनबाट मर्स्याङदी कोरोडोरको २२० केभी प्रशारण लाइनमा जोड्ने भनिएको छ। हाल १३२ केभी प्रशारण लाइन पनि निर्माणको अन्तिम चरणमा रहेको छ। यद्यपि २२० केभी प्रशारण लाइन भने अझै तोकिएको समय सीमाभित्र निर्माण सम्पन्ने हुनेमा विश्वस्त हुन नसकिएकोले उत्पादित विद्युत् खेरजाने सम्भावना रहेको प्रवर्द्धकहरुले बताएका छन्।

आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा पुर्‍याई विद्युत उत्पादनको तयारी गरिएको छ।

२०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना भूकम्प, अघोषित नाकाबन्दी र अघिल्लो वर्षको भदौमा आएको बाढीका कारण लम्बिएको थियो। यस आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.