|

धनकुटा : बिहीबार साँझ वर्षासँगै पूर्वी पहाडी जिल्लाका उच्च स्थानमा हिमपात भएको छ। 

बाक्लो हिमपात भएपछि ती ठाउँको जनजीवन प्रभावित भएको छ। हिमपात विशेषगरी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले क्षेत्रमा भारी मात्रामा भएको छ। तीनजुरे, पटेकडाँडा, मार्गा, गुफा बजार, मेन्छ्यायाम डाँडा, लसुने, जिरिखिम्ती, हरीसे, गुफापोखरीलगायतका लेकाली क्षेत्रमा भारी मात्रामा हिमपात भएपछि हिउँले सेत्याम्य भएका छन्।

ती क्षेत्रमा बाक्लो मात्रामा हिउँ परेपछि सिसाजस्तै हिउँ जमेको छ। हिमपात भएपछि चिसो बढेकाले जनजीवन प्रभावित भएको स्थानीय छिरिङ लामाले बताए। हिमपात भएपछि बिहीबार बेलुका घरबाहिर निस्कन नसक्ने अवस्था आएको उनले बताए।  हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको लामाले बताए।  

एक्कासी हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा गेलु शेर्पाले बताए। यसैबीच वर्षा संगै जिल्लामा हिमपात भएपछि बानीनाली सप्रने भन्दै किसान उत्साहित भएका छन। करिब दश महिनापछि वर्षात् भएको र त्योसँगै हिमपात पनि भएकाले लेकाली क्षेत्रमा हुने तरकारी बालीलाई फाइदा पुग्ने किसानको भनाइ छ।

पर्यटकीय गतिबिधि बढ्ने

यसैबीच हिमपात यो वर्ष पहिलोपटक भएकाले पर्यटकीय गतिबिधि बढ्ने भन्दै स्थानीय खुसी भएका छन्। तिनजुरे मिल्के जलजले क्षेत्रमा विशेषगरि गुराँस हेर्न र हिउँ खेल्न आन्तरिक पर्यटक आउने गरेका छन। बिहीबार साँझ हिउँ परेपछि शुक्रबार बिहानैदेखि पर्यटक आउन थालेको स्थानीय दिनेश कार्कीले जानकारी दिए।

उनले यो वर्ष गएका वर्षहरू भन्दा केही ढिलो र कम मात्रामा हिउँ परेको जानकारी दिए। ‘गएका वर्षहरुमा माघ महिना लागेदेखि नै एक दुइ फिट बाक्लो मात्रामा हिउँ पथ्र्यो।’ कार्कीले भने ‘यस वर्ष फागुन लागेपछि मात्रै त्यो पनि आधा फिट बाक्लो मात्रै हिउँ परेको छ।’ 

सडक अवरुद्ध

यस्तै हिमपात भएपछि कोशी राजमार्गमा सवारीसाधन सञ्चालनमा अवरोध पुगेको छ। हिमपातमा सवारीसाधन सञ्चालन गराउँदा दुर्घटनाको जोखिम बढेकोले   आवातआवत गर्ने सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ। सडकमै हिमपात भएका कारण सवारी चिप्लिएर दुर्घटना हुनसक्ने जोखिम रहेकाले सतकर्ता अपनाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.